शिक्षण सहजकर्ता नियुक्तिबारे प्रभावकारिता अध्ययन गर्दै कामपा

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले यस वर्षका लागि शिक्षण सहजकर्ता नियुक्त गर्दा अघिल्लो वर्षको प्रभावकारिता अध्ययन गरेर मात्र अघि बढ्ने जनाएको छ । कामपाले गत वर्ष एसईई नतिजा सुधार गर्न भन्दै अनिवार्य पाँच विषयका लागि दुई महिनाका लागि शिक्षण सहजकर्ता नियुक्त गरेको थियो ।
यस वर्ष भने अघिल्लो वर्षको प्रभावकारिता अध्ययन गरी शैली परिवर्तन गरेर मात्रै उक्त कार्यक्रमलाई निरन्तरता दिने कामपा शिक्षा विभागका प्रमुख सिताराम कोइरालाले जानकारी दिए । उनले भने, 'दुई महिना थोरै भयो यसलाई बढाउनुपर्छ सोहीअनुसार तयारी भइरहेको छ ।'
यस वर्ष कामपाले सम्बन्धित विद्यालयका शिक्षकलाई नै जिम्मेवार बनाएर अघि बढ्ने प्रमुख कोइरालाले तयारी भएको जानकारी दिए । गत वर्ष उक्त कार्यक्रमका लागि बाहिरबाट दुई महिनाका लागि शिक्षक ल्याइएको थियो ।
आफ्ना विद्यार्थी कुन अवस्थाका छन् र तीनलाई कसरी राम्रो बनाउन सकिन्छ भन्नेबारे कार्यरत शिक्षकलाई नै थाहा हुने भएकाले विद्यालयका विषयगत शिक्षकलाई नै जिम्मेवार बनाएर कार्यक्रमलाई निरन्तरता दिने तयारी कामपाको रहेको छ ।
कामपाले गत वर्षको एसईईमा सहभागी विद्यार्थीको सिकाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले माध्यमिक तहका विद्यालयमा अनिवार्य पाँच विषयका लागि अनुभवी विज्ञ सहजकर्ता र शिक्षण सहयोगी परिचालन गरेको थियो ।
शिक्षण सहजकर्ताका लागि विश्वविद्यालयका प्राध्यापक, मावि शिक्षक वा अधिकृत स्तरबाट अनिवार्य अवकाश भएका सम्बन्धित विषयका विज्ञ वा विभिन्न सङ्घसंस्थामा काम गरेको कम्तीमा १० वर्षको अनुभव भएको हुनुपर्ने मापदण्ड बनाइएको थियो ।
अनिवार्य विषय गणित, विज्ञान, अङ्ग्रेजी, सामाजिक र नेपाली विषय अध्यापन गराउन प्रत्येक विषयका लागि पाँच/पाँच जना सहजकर्ता नियुक्त गरेको हो । हाल कामपामा ८९ सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय रहेका छन् । ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन् । पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन् ।
केही सामुदायिक विद्यालयको एसईई नतिजा राम्रो नरहेको भन्दै कामपाले उक्त कार्यक्रम ल्याएको हो । गत वर्ष मागभन्दा कम सहजकर्ता र सहयोगी गरी ४३ जना मात्र नियुक्त गरिएको थियो ।

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

प्रतिक्रिया