वरिष्ठ लेखक, गीतकार तथा निर्देशक चेतन कार्कीको निधन

काठमाडौं : फिल्म लेखक तथा निर्देशक चेतन कार्कीको निधन भएको छ । छाउनीस्थित आर्मी अस्पतालमा उनको निधन भएको कार्की निकट संगीतकार नारायण वलीले जानकारी गराए । कार्की ८४ वर्षका थिए ।
भारतको देहरादून गएका कार्की नेपाल फर्कंदा संक्रमित भएको आंशका गरिएको छ । वलीले चैत ३१ गते कार्की घरव्यवहार मिलाउन देहरादुन गएको र १७ गते भैररहवाको बाटो हुँदै फर्किएको बताए ।
‘उहाँ यता बस्न थाले पनि उता देहरादुनमा पनि उहाँको व्यवहार थियो । वर्षको एक चोटि जानुहुन्थ्यो । फर्कंदा भैरहवाको बाटो हुँदै फर्कनु भएको थियो । ४ घन्टा लगेज बोकेर हिँड्नु पर्यो भनेर काठमाडौं आउने बित्तिकै फर्कनु भएको थियो,’वलीले भने । स्याङजाको आरुखर्क ९ मा जन्मिएका कार्की बुबाको जागिर पछ्याउँदै देहरादुन पुगेका थिए । त्यहीँ उनले हिन्दी साहित्यमा एम र बीएस्सी गरेका थिए ।
वरिष्ठ लेखक, गीतकार तथा निर्देशक चेतन कार्कीको अन्तिम रेकर्डेट गीत :
स्कुल तथा कलेज जीवनमा चेतन कार्कीको रुची फुटबलमा थियो । उनले दिएका केही अन्तर्वार्तामा उनले आफू आगरा विश्वविद्यालयको फुटबल क्याप्टेन भएको बताएका छन् । त्यसैगरी उनले सन् १९५८ मा स्टेट अफ युपीको नेसनल च्याम्पियनसमेत खेलेको बताएका थिए ।
सन् १९६० मा कार्की नेपाल फर्किएका थिए । नेपाल फर्किएपछि उनले रेडियो नेपालमा जागीर खाने प्रयत्न गरेका थिए । तर, उसबेला मन्त्री परिषद्का अध्यक्ष तुलसी गिरीका भतिजा प्रविण गिरी पनि यही दौडमा थिए । लिखित परीक्षामा अब्बल हुँदा हुँदै पनि उनले प्रवीण गिरीसँग जागीर हारेका थिए ।
यसपछि भने उनले मत्स्य विकास तथा प्रशासनको तालीम लिएर पोखराबाट मत्स्य विकास अधिकृतको जागिर खाएका थिए । २ वर्ष पोखरामा बसेर काम गरेका कार्कीले आफूभन्दा कनिष्ठको बढुवा भएपछि उसबेलाका कृषिमन्त्री राजेश्वर देवकोटालाई राजीनामा बुझाएका थिए ।
चलचित्रमा चेतन कार्कीको प्रवेश पटकथा लेखकको रुपमा भएको थियो । हिरासिंह खत्रीको निर्देशनमा बनेको ‘परिवर्तन’ चलचित्रमा पाइला हालेको पहिलो फिल्म थियो । ‘चेतना’ शीर्षकमा बनेको यो फिल्ममा कार्कीले पटकथा लेखेका थिए जुन पछि गएर ‘परिवर्तन’ नाममा रिलिज भएको थियो ।
२०२८ सालमा शाही चलचित्र संस्थानको स्थापना भएसँगै कार्कीले निर्माण अधिकृतको रुपमा जागिर सुरु गरेका थिए जहाँबाट उनले १० वर्ष काम गरेर राजीनामा दिएका थिए । यो बीचमा उनले शाही चलचित्र संस्थानले निर्माण गरेका ‘मनको बाँध’ ‘कुमारी’, ‘सिन्दुर’, ‘जीवनरेखा’ आदि फिल्ममा निर्माण अधिकृतको पनि काम गरेका थिए ।
सन् १९८६ मा बल्ल उनले निर्देशकको रुपमा पारी थालेका थिए । ‘विश्वास’ उनले निर्देशन गरेको पहिलो फिल्म थियो । त्यसपछि उनले ‘भूमरी’, ‘पहिलो प्रेम’ आदि फिल्म निर्देशन गरेका थिए । तर, पटकथा र गीत लेखकको रुपमा उनले जति सफलता प्राप्त गरेका थिए त्यति निर्देशनमा भने सफल भएनन् ।
उनले निर्देशन गरेको ‘भूमरी’ २०४६ सालको आन्दोलनको मारमा परेका थिए । यो फिल्मका हिरो अर्जुनजंग शाही थिए तर २०४६ सालको आन्दोलनमा उनले दमन गरेको कारण देखाउँदै यो फिल्म दर्शकले बहिष्कार गरेका थिए । सानो उमेरदेखि नै कलाकारितामा रुचि राख्ने कार्कीले लोकगीत र नाटकमा पनि उत्तिकै काम गरेका थिए ।
संगीतकार नारायण वलीका साथ चेतन कार्की ।
२०२३ सालमा प्रदर्शन भएको ‘आत्मा बेचेको छैन’ टिकट काटेर प्रदर्शन गरिएको पहिलो नाटक भएको कार्कीले दाबी गरेका थिए । यतिमात्र होइन झलकमान गन्धर्वलाई अमर बनाउने गीत ‘आमाले सोध्लिन् नी’ बोलको गीत सर्वप्रथम यही नाटकमा प्रयोग गरेको कार्कीले अन्तर्वार्तामा दाबी गरेका छन् ।
तर, उनले यो गीत झलकमानको नभई उनको बुबा दुर्गबहादुर मिजारको मुखबाट सुनेको उनले बताएका थिए । नाटक मञ्चन हुने दिन दुर्गबहादुर बिसन्चो भएर झलकलाई पठाएपछि सदाका लागि यो गीत झलकमानको भएको थियो । कार्कीले चलचित्रबाट मात्र काम गरेर जीवन धान्न मुस्किल भएपछि सेन्टमेरिजमा विज्ञान बढाउनेसँगै ट्याक्सी पनि चलाएका थिए ।
कार्कीका अनुसार उनले ‘परिवर्तन’बाट कमाएको सेकेन्डह्यान्ड जिप किनेको र त्यो पोखरामा चलाएको उल्लेख गरेका छन् । ‘गुरु हिरासिंह खत्री तेस्रो फिल्म बनाएर भारत नै फर्कने भएपछि फिल्ममा भविष्य छैन भन्ने लागेर ‘परिवर्तन’बाट पाएको पैसाले जिप किनेँ । त्यो जिप २०२५ सालमा काठमाडौं, रक्सौल, मुजफ्फरपुर, गोरखपुर र भैरहवा हुँदै पोखरा पुर्याएर चलाएका थिएँ,’ उनले फिल्म निर्देशक मोहन राईसँगको कुराकानी समेटिएको ‘जक्स्टापोजिसन’ पुस्तकमा भनेका छन् ।
चेतन कार्कीले निर्देशनमा उति सफल नभए पनि गीतकारको रुपमा भने निकै नै सफल छन् । ‘बहिनीको दया छ भने’ र तीजको एन्थम गीत ‘तीजको लहर आयो वरिलै’ पनि चेतन कार्कीको गीतकार व्यक्तित्वलाई पुष्टि गर्ने प्रतिनिधी गीत हुन् । गोर्खा दक्षिणबाहु, शुभराज्याभिषेक पदक, रजत महोत्सव पदकसँगै छिन्नलता पुरस्कार पाएका कार्की पछिल्लो समय भने गीत लेखनमा मात्र सक्रिय थिए । म्युजिक नेपालको लगानीमा नारायण वलीसँगको सहकार्यमा चाँडै नै एल्बम सार्वजनिक गर्नेगरी केही दिन अघि गीत रेकर्डिङ भएको हो ।
कार्कीका ‘आत्मा बेचेको छैन’ ‘हत्केलाले सधैं सूर्य छेकिँदैन’, ‘हो देश मेरो पनि’ ‘बसिबियाँलो’ ‘माया–प्रीतिको चोखो कथा’ गीत संग्रह पनि प्रकाशित गरिसकेका छन् । यसका अतिरिक्त उनका उपन्यास ‘हनिमून’, लघु उपन्यास ‘ढलेको गिलास’ पनि प्रकाशित छन् । उनले हिन्दी कविता संग्रह ‘कल्पना टुट चुकी है’ पनि प्रकाशन गरेका छन् ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया