आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

सांसद  श्रेष्ठले अर्थमन्त्रीलाई भनिन्–तपाईंले त अर्को वर्ष सासमा पनि कर लगाउनुहुन्छ

काठमाडौँ–राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारले दैनिक उपभोग्य वस्तुमा कर लगाएको भन्दै अब आम मानिसले फेर्ने सासमा पनि कर लगाउने भन्दै व्यंग्य गरेकी छिन् । 
बुधबार प्रतिनिधिसभामा सरकार आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि भइरहेको छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन् ।

‘यो विधेयक पास भएपछि ठूलो ठूलो मार्टमा र बाहिर हामीले हरेक दिन खाने आलु प्याजको पैसा १३ प्रतिशतले वृद्धि हुनेवाल छ,’ उनले भनिन्, ‘यो देशमा त बाँच्नलाई पनि कर तिर्नुपर्ने ! तपाईँले अर्को वर्ष सासमा पनि कर लगाउनुहुन्छ ।’

सांसद श्रेष्ठले गरिबहरूलाई झन गरिब बनाउने कर आफूहरूलाई  स्वीकार्य नभएको पनि बताइन् ।

दैनिक उपभोग्य वस्तुमा लगाएको कर मार्टहरुलाई कन्ट्रोल गर्न ल्याएको भन्नु कुर्तक हुने पनि उनको भनाइ छ ।  ‘अर्थमन्त्रीले होइन, यो त ठूलो मार्टहरूलाई कन्ट्रोल गर्न ल्याएको भन्नुहोला,’ उनले भनिन्, ‘तर म यही रोष्टमबाट भन्न चाहन्छु –त्यो कुतर्क हुनेछ ।’