सोमबार १९ जेठ, २०८२
Monday, June 02, 2025

रजिष्ट्रार, स्रस्तेदार र तहसिलदार सम्मेलन हुने

काठमाडौं : अदालती फैसला कार्यान्वयनमा देखिएका समस्या र समधान पहिल्याउन ‘रजिष्ट्रार, स्रस्तेदार र तहसिलदार सम्मेलन’ हुने भएको छ । अदालती फैसला कार्यान्वयनमा उच्च अदालतका रजिष्ट्रार तथा जिल्ला अदालतका तहसिलदारको भूमिका रहन्छ ।

‘सुदृढ अदालत व्यवस्थापन र न्यायिक सुशासन : हाम्रो प्रतिबध्दता’ मूल नाराका साथ सम्मेलन हुनेछ । यो पहिलो राष्ट्रिय सम्मेलन हो । सम्मेलन मंसिर ८ र ९ मा भर्चुवल प्रविधिमा आधारित हुनेछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबाट उद्घाटन हुनेछ । दुई दिनसम्म चल्ने सम्मेलनमा न्यायपालिकाका पाँच व्यवस्थापकीय आयाममा कार्यपत्र प्रस्तुत गरी छलफल हुने कार्यक्रम तय भएको छ ।

सर्वोच्च अदालतबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘अदालतबाट फैसला भएर मात्रै न्यायको अनुभूति हुन सक्दैन । आम न्यायका सेवाग्राहीलाई वास्तबिक न्याय प्रदान गर्न र न्यायमा पहुँच अभिवृध्दिका लागि न्यायपालिकाबाट भएका फैसलाहरूको कार्यान्वयन उत्तिकै महत्वपूर्ण बिषय हो ।’    

न्यायपालिका सुधार प्रयास संस्थागत गर्न गत साउन १ देखि जिल्ला अदालतमा र भदौ १ देखि उच्च अदालतमा लागू भएको फरक मुद्दा ब्यवस्थापन पध्दति कार्यान्वयनमा आइसकेको छ ।