प्रवीण हत्या प्रकरण: राजुलाई जन्मकैद, गोविन्दलाई तीन वर्ष र प्रकाशलाई डेढ महिना कैद फैसला

तनहुँ - भानु नगरपालिका–१ बस्ने २१ वर्षीय प्रवीण गुरुङको हत्या अभियोगमा अभियुक्त राजु अछामीलाई जन्मकैदको फैसला भएको छ । तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको आजको इजलासले अभियुक्त भानु नगरपालिका–६ का अछामीलाई जन्मकैदको फैसला सुनाएको हो ।
साथै अभियुक्तबाट पीडितका परिवारलाई रु ५० हजार क्षतिपूर्ति भराउने फैसला भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । अभियुक्त अछामी विसं २०७७ जेठ ८ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।
अभियुक्त भानु नगरपालिका–६ का गोविन्दबहादुर मगरलाई तीन वर्ष कैद र रु ३० हजार क्षतिपूर्तिको फैसला भएको छ । सोही प्रकरणका अभियुक्त भानु नगरपालिका–५ का टाइसन भन्ने प्रकाश मल्ललाई डेढ महिना कैद र रु सात हजार पाँच सय जरिवानाको फैसला भएको स्रेस्तेदार कुँवरले बताए ।
बन्दीपुर गाउँपालिका–३ का धनबहादुर घर्ती, भानु नगरपालिका–१ का दीपक भण्डारी र भानु नगरपालिका–१ का अंकित अधिकारीलाई भने अदालतले सफाइ दिएको छ । विसं २०७७ जेठ ८ गतेको आदेशअनुसार टाइसन भन्ने प्रकाश मल्ल रु ५० हजार र भानु नगरपालिका–६ का गोविन्दबहादुर मगर रु एक लाख धरौटी लिएर तारेखमा रिहा भएका थिए ।
भानु नगरपालिका–१ का प्रवीण गुरुङ विसं २०७७ वैशाख ९ गते रातिदेखि हराएका थिए । उनको शव वैशाख १० गते साँझ भानु नगरपालिका–५ नावरुङस्थित खोल्सामा फेला परेको थियो । गुरुङको हत्या अभियोगमा मृतकका बुबा बुद्धिराज गुरुङले अभियुक्त विरुद्ध किटानी जाहेरी दिएका थिए ।
तत्कालीन वडाध्यक्ष प्रकाश मल्लले फार्ममा काम गर्दै आएका भन्सारका धनबहादुर घर्तीलाई कामबाट निकालेपछि घर्तीले वैशाख ९ गते भान्जा पवन घर्तीलाई सामान लिनका लागि बोलाएका थिए । सामान लिन पवनसँगै उनका साथीहरू दीपक भण्डारी, अंकित अधिकारी र प्रवीण गुरुङ पनि नावरुङ पुगेका थिए । नावरुङमा स्थानीयवासी गोविन्द थापामगरले सञ्चालन गरेको होटलमा खाजा खाने क्रममा चर्को स्वरमा बोल्न थालेपछि स्थानीय युवा र प्रवीण गुरुङसहितको टोलीबीच झगडा परेको थियो । सोही रातदेखि प्रवीण बेपत्ता हुनुभएको पीडित परिवारको भनाइ छ ।
रासस

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया