आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

लामिछानेलाई लक्षित गर्दै महासेठले भने– आफू बच्नलाई कसरी बालुवाटारमा गएर म्याउँ म्याउँ गर्नुभएको छ, त्यो पनि बुझेका छौँ

काठमाडौँ– एमाले सांसद रघुविर महासेठले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई लक्षित गर्दै अरुलाई आलोचना गरेर आफू स्थापित हुने सोच नराख्न बताए । बिहीबार प्रतिनिधि सभाको नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै महासेठले यस्तो बताएका हुन् । 

‘तीन पार्टीलाई दोष देखाएर कोही पनि निर्दाेष हुँदैन,’ उनले भने, ‘अरुलाई आलोचना गरेर आफू स्थापित हुने सोच नराख्दा हुन्छ ।’

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन पार्टीले बालुवाटारमा  मिलाउने गरी छलफल गरेको भन्ने आरोप लगाएको भन्दै आक्रोशसमेत व्यक्त गरे ।

‘भुटानी शरणार्थीको जुन अहिले छानबिन भइरहेको छ त्यसमा तीन पार्टीले बालुवाटारमा बसेर मिलाउने गरी छलफल गर्दै छ भनेको मैले सुने,’ उनले भने, ‘कुन तीन पार्टी हो ? उहाँले बोल्नु त भएन । तर, म भन्न चाहन्छु, तीन पार्टी होइन, रातीको समयमा तपाईंहरू आफू बच्नलाई कसरी बालुवाटारमा गएर म्याउँ म्याउँ गर्नुभएको छ त्यो पनि हामीले बुझेका छौँ ।’

उनले साधु सन्तहरूले धेरै खरानी घस्ने गरेको भन्दै त्यसले केही फाइदा नहुने बताए ।