बागमतीमा मन्त्रालय संख्या बढाउन कांग्रेसको दबाब, फुटाएरै भएपनि ६ मन्त्रालय चाहिने अडान

काठमाडौँ- बागमती प्रदेश मन्त्रालयको संख्या बढाउन सत्तारुढ नेपाली कांग्रेसले दवाब दिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँग भेटेर मन्त्रालय संख्या बढाएर भएपनि कांग्रेसलाई ६ वटा मन्त्रालय दिन दवाब दिएको हो ।
आइतबार बिहान मुख्यमन्त्री जम्कट्टेलसँग भेटेर मन्त्रालय फुटाएर पनि कांग्रेसलाई ६ वटा मन्त्रालय दिन दवाब दिएको बैठकमा सहभागी एक नेताले बताए । तर बागमतीको नेतृत्व सम्हालेका माओवादीले मन्त्रालय संख्या बढाउन नहुने अडान राखेका छन् ।
हाल बागमती प्रदेशमा ११ वटा मन्त्रालय रहेको छ । जसमध्ये एउटा मन्त्रालय फुटाएर १२ वटा मन्त्रालय बनाउन कांग्रेसले माग गरेको हो ।
सुरुमा कांग्रेसलाई ५ वटा मन्त्रालय दिने सहमति भएको बागमती प्रदेशका प्रदेशसभा सदस्यसमेत रहेका माओवादी एक नेताले इकागजलाई बताए । उनकाअनुसार यो आर्थिक मन्दी भएको बेलामा मन्त्रालय संख्या थप्न नहुने ती नेताले बताए । 'एकातिर मन्दी छ भने अर्कोतिर सरकार सुशासनमा केन्द्रीत हुनुपर्ने बेलामा कांग्रेसले मन्त्रालय संख्या थप गर्न दवाब दिन हुँदैन्' उनले भने ।
गत बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशका नेताहरूलाई बोलाएर छलफल गरेका थिए । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा र नेकपा एकीकृत समाजवादीका नेता तथा निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनाललाई राखेर प्रधानमन्त्री प्रचण्डले छलफल गरेका थिए ।
अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सरकारका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको बालुवाटार बैठकमा प्रचण्डले लामा र खनाललाई मिलेर जान सुझाएका थिए ।
प्रधानमन्त्री प्रचण्डसँगको छलफलपछि इकागजसँग कुरा गर्दै कानुनमन्त्री खनालले एकीकृत समाजवादीले २ र काँग्रेसले थप ३ वटा मन्त्रालय पाउने पक्का भएको बताएका थिए । तर अहिले कांग्रेसले मन्त्रालय फुटाएरै भएपनि ६ वटा मन्त्रालय चाहिने दवाबपछि आज सरकार विस्तार गर्ने भनिए पनि आन्तरिक छलफलमै मुख्यमन्त्री जम्कट्टेल रहेका छन् ।
यसअघि नेपाली कांग्रेसले ६ वटा र एकीकृत समाजवादीले दुई वटा मन्त्रालय नलिई नछोड्ने अडानका कारण करिब दुई महिनादेखि सरकार पूर्ण हुन सकेको थिएन । मुख्यमन्त्री जम्मकट्टेलले मंगलबार कांग्रेसलाई पाँच वटा र एकीकृत समाजवादीलाई दुई वटा मन्त्रालय भागमा पर्ने गरी भागबण्डा लगाइदिएपछि विवाद आपसी तिक्तता अझै बढेको थियो । मुख्यमन्त्री जम्मकट्टेलले लगाएको भागबण्डाले चित्त नबुझेपछि एकीकृत समाजवादीले सरकार छोड्नेसम्मको चेतावनी दिएको थियो ।
बागमती प्रदेशसभामा नेपाली कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सांसद छन् ।

छोरी भेट्न गएका प्रजा मृत भेटिए

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

प्रतिक्रिया