सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

जनयुद्ध र जनआन्दोलनका घाइते तथा अपांगता भएका व्यक्तिहरूको पुनःस्थापना गरिनेछ : प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्ध र जनआन्दोलनका घाइते र अपांगता भएका व्यक्तिहरूको पुनःस्थापना र परिपूरणको कार्यलाई प्राथमिकता दिइने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य पूर्णबहादुर घर्तीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरू पूरा गर्न सरकार प्रयत्नशील रहेको बताए । उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको सिफारिसका आधारमा जनयुद्ध र जनआन्दोलनका घाइते र अपांगता भएका व्यक्तिको पुनःस्थापना र परिपूरणको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने जानकारी गराए ।

दाहालले यस विषयमा वृहत् राजनीतिक सहमतिको निम्ति प्रयास गरिरहेको पनि उल्लेख गरे । उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरूलाई सहमतिमा टुंग्याउन मुख्य राजनीतिक दलहरूका बीचमा समझदारी भएको पनि बताए ।