तीन महिनादेखि सहकारी र डिपार्टमेन्ट स्टोर नखुल्दा बचतकर्ताहरू मारमा

सुर्खेत । तीन महिनाअघि आर्थिक मन्दी र सुरक्षाको कारण देखाई बन्द भएको शिव शिखर सहकारी संस्था अझै खुलेको छैन । वि.सं. २०७९ फागुन १५ गते सूचना जारी गर्दै बन्द भएको सहकारीको कार्यालय र डिपार्टमेन्ट स्टोर सञ्चालनमा नआउँदा बचतकर्ताहरू मारमा परेका छन् ।
देशमा चलिरहेको आर्थिक मन्दीको प्रत्यक्ष मार खेप्नु परेको कारण सहकारीको सुर्खेत शाखा पनि बन्द गर्नुपर्ने अवस्था आएको सहकारीद्वारा जारी सूचनामा जनाइएको थियो । आर्थिक तरलताका कारण बचतकर्ताहरू एकैपटक बचत फिर्ता लिन आउनाले सेवा प्रवाहमा कठिनाई उत्पन्न हुँदा पूँजी व्यवस्थापन नभएसम्मका लागि सहकारी बन्द गरिएको सूचनामा उल्लेख थियो । यसरी सूचना टाँस गरी सम्पर्कविहीन भएका सञ्चालकहरू हालसम्म पनि सम्पर्कमा आएका छैनन् ।
सहकारी बन्द भएयता बचत फिर्ताको चेक बोकेर बचतकर्ताहरू दिनहुँ कार्यालय धाउने गरेका छन् । तर, सहकारीले अनेक बहाना देखाएर बचतकर्ताको रकम फिर्तामा आलटाल गर्दै आएको थियो । केही वर्षअघि स्थापना भएको सहकारीले बचत रकम विभिन्न उद्योग, कृषि, घर–जग्गा कारोबार, मार्ट लगायतका क्षेत्रहरूमा लगानी गर्दै आएको छ ।
शिवशिखरले अचल सम्पत्ति खरिद, पूर्वाधार निर्माण, कारोबारमा लगानी, फर्म वा कम्पनी वा कुनै बैंकको शेयर खरीद वा अन्य कुनै प्रयोजनमा उपयोग गर्न नमिल्ने भएतापनि लगानी गर्दै आएको थियो ।
सहकारीले विभिन्न उद्योग, कृषि, घर–जग्गा कारोबार, मार्ट पसल लगायतका क्षेत्रहरूमा कानून विपरीत लगानी गर्दै आएको थियो । सुर्खेतमा करिब चारदेखि पाँच करोड रुपैँया ऋण लगानी गरेको दावी गर्ने शिव शिखरको बुटवल, धनगढी र कोहलपुर शाखामा बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि देशभर सहकारीका शाखा बन्द भएका हुन् ।
सबै बचतकर्ताले एकमुष्ठ रकम फिर्ता माग्नु र बचत रकमको चक्र नमिल्नुले समस्या उत्पन्न भएको सहकारीले जनाउँदै आएको थियो । बचतकर्ताको रकम फिर्ता मात्र होइन कर्मचारीहरूले पाँच महिनादेखि तलवसमेत खाना पाएका छैनन्, भने घर भाडासमेत तिर्न बाँकी छ । उतिबेला एकै पटक बचत फिर्ताको माग आउँदा समस्या परेको भन्दै केही समयमा यो समस्या समाधान हुने बताउँदै आएका सुर्खेत शाखाका प्रबन्धक चन्दन थापा हाल मोवाइल स्वीचअफ गरेर बसेका छन् ।
सहकारीको सुर्खेत शाखामा विभिन्न सात किसिमका बचत खातामा कारोबार हुने गरेका थिए । त्यसमा करिब साढे ६ हजार बढी बचतकर्ताले रकम जम्मा गरेका थिए । दैनिक ५० लाख देखि एक करोडसम्मको कारोबार गर्ने सहकारीका सञ्चालकहरू एकाएक कार्यालयमा ताला ठोकेर सम्पर्कविहीन भएपछि बचत सदस्यहरू पैसा डुब्ने चिन्तामा छन् ।

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया