प्लटिङले लखेटिरहन्छ दिलबहादुरलाई

काठमाडौँ– बारीमा बन्दा काटिरहँदा होस् वा फर्सी टिपिरहँदा दिलबहादुर बेकोजूका आँखा घरिघरि वरपर डुलिरहन्छन् । जहाँ जग्गा प्लटिङ गर्नका लागि डोजरले डाँडाकाँडा र खोलानाला कोतरिरहेका हुन्छन् ।
ढिलोचाँडो त्यो डोजर आफ्नो बारीसम्म आइपुग्ने कुराले दिलबहादुरलाई सताइरहेको हुन्छ। किनभने, उनले कृषि कर्म गर्न जग्गा भाडामा लिँदै बसाइँ सरेको यो तेस्रो पटक हो ।
भक्तपुर, लिवालीका दिलबहादुर कृषक परिवारमा जन्मिए । कुटो, कोदालो र माटोसँगै हुर्किए । जग्गा धेरै भएकाले खेतबारीमा काम गर्दागर्दै स्कुल जाने फुर्सद भएन । बुबा शिलबहादुरसँगै उनी खेतीकिसानीमा रमाए । उनी हुर्किदै गए, बस्ती बाक्लिँदै गयो । कृषि गर्ने जमिन मासिँदै गयो । धान रोप्ने, तरकारी लगाउने खेतबारीमा ठूल्ठूला भवन ठडिए । व्यापारीले सटर पाए, जागिरेले अफिस । तर, कृषिमा गरिखाइरहेका दिलबहादुर बेरोजगार बने ।
आफू बसिरहेको ठाउँ कंक्रिटले भरिएपछि उनले अर्को जुक्ति निकाले । अनि लागे भक्तपुरको भातेढिकुरतिर । त्यही कृषि गर्ने योजना बनाए । त्यसताका भातेढिकुरमा बाक्लो बस्ती थिएन । मानिसहरू कृषिबाटै जीवन चलाइरहेका थिए । व्यवसायिक कृषि गर्ने उद्देश्यले दिलबहादुर र उनकी श्रीमती नह्छेमायाले केही रोपनी जग्गा भाडामा लिए । तीन वर्ष कडा परिश्रम गरेर तरकारी खेती गरे । बल्लतल्ल फाइदा हुन थालेको थियो। डोजरले आतंक मच्चाउन थाल्यो। कृषियोग्य जमिन कंक्रिटको जंगल बन्न थाल्यो। ‘भाडामा लिएको जग्गा साहुले छाड् भनेपछि छाड्नुपरिहाल्यो,’ दिलबहादुरले भने, ‘त्यसपछि कहाँ जाने होला भन्दै अर्को ठाउँ खोज्न थालेँ ।’
अहिले भक्तपुरको नलिन्चोकमा १० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका छन् । उनले यसरी काम गर्न थालेको सात वर्ष भयो । तर, त्यहाँ पनि बिस्तारै प्लटिङको आतंक मच्चिरहेको छ । डाँडाकाँडा कोपरिरहेको डोजर कुन दिन आफूले खेती गरिरहेको ठाउँमा आएर चल्ने हो, दिलबहादुरलाई थाहा छैन ।
दिलबहादुरका बुबा शिलबहादुर ७९ वर्ष लागे । उनी अझै कृषि नै गरिरहेका छन् । यस हिसाबले २०–३० वर्ष अझै कृषिमै बिताउने जोश दिलबहादुरमा पनि छ । तर, जोस् हुँदासम्म जग्गा बाँकी रहन्छ/रहँदैन, पत्तो छैन । ‘यो ठाउँमा पनि प्लटिङ गर्नुपर्यो भन्दै जग्गा धनी आए भने आजको भोलि नै लुरुक्क परेर छाड्नुपर्छ,’ उनले सुनाए ।
हाल दिलबहादुरले नलिन्चोकको १० रोपनी जग्गामध्ये आठ रोपनीमा सिजनअनुसार घिरौला, बन्दा र काउली रोप्ने गरेका छन् । दुई रोपनीमा भने धान लगाउँछन्।
कृषिकर्म त्यति सजिलो छैन भन्ने लाग्छ उनलाई । कृषकलाई सरकारले सहयोग गर्ने, अनुदान दिने कुरा चुनावी भाषणसम्ममात्र सीमित भएको उनको भनाइ छ। ‘चुनावपछि किसान कहाँ छन् ?, के गरिरहेका छन् ? कसैलाई मतलब हुँदैन,’ उनी गुनासो गर्छन्, ‘मैले थाहा पाउँदा ४५ किलो मलको मूल्य २ सय ९० रुपैयाँ थियो। केही समय अगाडिसम्म त्यही मल ११ सय रुपैयाँमा पाइन्थ्यो । अहिले ब्ल्याकमा बेच्नेले २५ सय रुपैयाँसम्म लिन्छन् ।’
त्यही मल लिन पनि दिलबहादुरले राति २ बजेदेखि लाइनमा बसेकाे अनुभव सुनाए। 'त्यही पनि कहिले ५–१० किलो हात पर्छ, पनि कहिले रित्तै फर्किन बाध्य हुन्छु ।' उनले भने ।
स्थानीय तहबाट दिलबहादुरलाई कहिले तरकारीको बीउ आउँछ, कहिले किरा लाग्दा औषधि छर्किने पम्प पाए। तर, ती सबै उनलाई कहिल्यै काम लागेनन् । ‘उनीहरूले बाँडेको बीउ उम्रिदै उम्रिदैन,’ उनले भने, ‘हामीले नौ सय रुपैयाँ प्याकेटको बीउ रोप्छौँ । उनीहरू सय रुपैयाँमा आउने बीउ वितरण गर्छन् । ती उम्रिए पनि फल्दैन, फुल्दैन । पम्प पनि दुईपटक हानेपछि बिग्रिने खालको हुन्छ । सस्तो सामानमात्रै बाँड्छन् ।’
स्थानीय स्तरमा पनि कुन कृषकलाई के सामान चाहिएको छ भनेर नबुझ्दा उनलाई दिक्क लाग्छ । ‘जो कृषक हो, उसले राम्रो सामान पाउँदैन,’ उनले सुुनाए, ‘कृषि नगर्ने आफ्ना नातागोतालाई त्यस्ता सामान बाँड्छन् । देशको यही हालत देखेर मानिसहरू कृषि गर्न छाडेर विदेश जान्छन् ।’
नेताहरूदेखि आश मारेका दिलबहादुरले यसपटक कुनै पनि निर्वाचनमा भोट खसालेनन् । त्यसको सट्टा मतदाता परिचयपत्र पोल्टोमा हालेर दिनभरि खेतमा खटिए । ‘घरमा राख्यो भने अरूले नै मेरो नामबाट भोट हालिदेला भनेर चुनावको दिन परिचयपत्र बोकेर खेतमा आएँ,’ उनले भने, ‘भोटसोट केही नहाली दिनभर खेतमा काम गरेँ।’
लिवालीमा दिलबहादुरको तीनतले घर छ । धेरैले उनलाई उपत्यकामा घर भएको मान्छेले पनि किन दिनरात खेतमा खटिएको भन्छन् । तर, यथार्थ भने फरक छ । ‘घर भनेर के गर्नु घरले खान दिने होइन,’ उनले भने, ‘भाडामा राखेको मान्छे ८० हजार भाडा उठाउनु थियो, भाग्यो । अहिले काठमाडौँतिरको सटर पनि बन्द हुँदैछ भन्ने सुनेको छु । खेतीयोग्य जग्गा प्लटिङ गर्दै बेच्यो भने सहरमा सबैको घर हुन्छ । तर, खानलाई कसको भर पर्नु ?’
अहिले उनले कृषि गरिरहेको जग्गा पनि सात वर्षअघि झन्डै इँटा भट्टाको भइसकेको थियो । सहरमा बन्ने भवनका लागि फेरि कृषियोग्य जमिन नै कोतार्न थालिएको थियो । त्यहाँको मलिलो माटो धमाधम इँटामा परिणत हुन थालिसकेको थिए । ‘एकदिन यतिराम्रो जग्गा बर्बाद नगर्नुस् भनेर जग्गाधनीलाई विश्वास दिलाएर आफैँले भाडामा लिएँ,’ उनले सम्झिन्छन्, ‘त्यो बेला मानिसहरू साैखिन भएर खेतीपाती गर्न छाडिसकेका थिए । जग्गाको भाउ बढेर जग्गा बेच्दै घर बनाएर बस्न थालेका थिए ।’
दिलबहादुरको भने कृषिमै मन बसिसकेको थियो । उनले नलिन्चोक आएर आफूले मात्रै कृषि गरेनन्, अरूलाई पनि कृषिका लागि प्रेरित गर्न थाले । ‘पहिला पनि व्यावसायिक खेती गरिसकेको हुनाले के रोप्ने ?, कसरी रोप्ने ? कुन तरकारीले फाइदा दिन्छ ? मलाई सबै थाहा थियो,’ उनले भने, ‘यहाँ जग्गा बाँझाे राख्नेहरू सबैलाई मैले धान, गहुँ, मकैको बाली नसप्रिए बन्दा, काउली, धनियाँ रोप भनेर सिकाएँ । बीउ किन्दा कन्जुस नगर पनि भने ।’
दिलबहादुरकै सिको गरेर नलिन्चोकमा अहिले धेरैले तरकारी खेती सुरु गरेका छन् । कतिपयले खाएर बढी भएको तरकारी बेच्नसमेत थालेका छन् । ‘मेरो तरकारी लिन आउने गाडीमा उनीहरूले उमारेको तरकारी पनि बेच्न पठाइदिन्छु,’ उनले भने, ‘कति जनाको त घरखर्च नै त्यसैबाट चलिरहेको छ । तरकारीकै कारणले मलाई पनि यहाँ धेरै जनाले चिनेका छन् ।’
दिलबहादुर आफैँले पनि तरकारीबाटै थुप्रै आम्दानी गरेका छन् । छोराछोरीको व्यवहार उतारेका छन् । घर बनाएर केही जग्गासमेत जोडेका छन् । कृषि गर्ने मानिसको जीवनमा महामारी आओस् वा आर्थिक संकट, केहीले पनि छुन नसक्ने उनी बताउँछन् । ‘दुई रोपनी धान रोप्यो भने पाँच जनाको परिवारलाई दुई वर्ष भात खान पुग्छ,’ उनले भने, ‘यो काम गर्यो भने जस्तोसुकै अवस्था आए नि केही फरक हुँदैन । भोकै मर्नु पर्दैन । तर, घरमात्रै थुप्रिए भने चाहिँ भोकमरी सुरु हुन्छ ।’
उनको चाहना छ– नेपालमै मल कारखाना बनून्। उब्जनी हुने जग्गामा घर नबनून्। युवाहरू कृषिमा आऊन् । कृषि गर्न खोज्नेहरू प्लटिङको नाममा नलखेटिऊन् । भन्छन्, ‘यहाँबाट पनि लखेटिनुपर्यो भने म कहाँ जाने होला ?’

आत्महत्या दुरुत्साहनमा श्रीमानसहित सासूससुरा पक्राउ

सशस्त्र प्रहरीका ७७ जना अधिकृतको बढुवा सिफारिस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

२८ लाख धरौटी बुझाएर मध्यराति दुर्गा प्रसाईं छुटे

कारागाबारबाट निस्केर प्रसाईले भनेः म मेरो लागी होइन देशकै लागी थिएँ, छु र …

सैनिक प्रवक्ता बस्नेतलाई पितृ शोक
_AHpHtro2k4_xeauxx07pbk0e8balzmi6oe3c5hl4dryvkcufknegbndhuq4uj3fflcnf9ux_2XNMcYRQYI_x23nubq0g9v0hzxancj1tff3qyxpkz4fqqeypzaflhk7vyvyaxoopatiqqdd_uRaRk54S6T_6t5armruumpwj4klyaj4xbtxkkwcl5e58djpnu46qi6urs7fcyiwe2hpwhtd.jpg)
पशुपति क्षेत्रका यज्ञले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_LzBVp1uRNc_y0gfidvev0ogaaklctwbfya2wxdxthsvcwslxpsxrrbfbrcuuwjei0f0y7sf_S23lRROGx6_rf8ps4icgym8zybnv16toukd6ofz89h6ykvgel4lxqwraxahhqigui6cnqix_kenoyA7bOi_prbmif8ymiscwtxh8i19vjw1t3nrixalo0ustydub9gsnroywsfj3ac8bq7y_hnrPxATHw6_os9u7giae4txamajgf3cufuvjhdt7mimd6rzqacr4zu5ne9j8jdhmpeargnt.jpg)
प्रतिक्रिया