आगलागीका घटना बढ्यो, एक सातामा ७ जनाको ज्यान गयो

विराटनगर- चर्को गर्मी र सुख्खा मौसमका कारण देशभर आगलागीका घटना ह्वात्तै बढेका छन् । एक सातामा सात जनाको आगलागीमा परी ज्यान गएको छ । तेह्रथुम र दैलेखमा भएका आगलागीका अलग घटनामा बिहीबार मात्रै तीन जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।
तेह्रथुमको छथर गाउँपालिका–३ पञ्चकन्यामा जंगलमा फैलिएको डढेलो निभाउन गएका आमाछोराको जलेर मृत्यु भएको छ । गढी सल्लेरी सामुदायिक वनको आगो निभाउने क्रममा ५५ वर्षीया दिलकुमारी भुजेल र उनका १६ वर्षीय छोरा कुमार भुजेलको आगलागीमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
वनमा फैलिएको आगो गाउँ पस्ने भयले निभाउन गएका उनीहरूको आगलागीमा परेर मृत्यु भएको जनाइएको छ । सामुदायिक वनबाट फैलिएको आगोले चार वटा घरसमेत जलेको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा अन्य ४ जना घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको जनाइएको छ ।
बिहीबार नै उदयपुरको उदयपुरगढी गाउँपालिका–७ हाडेबासका चोक बहादुर मगर र चित्र बहादुर मगरको घर गोठ, कृषि फर्मलगायत आगलागी हुँदा करिब २६ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी मोहन थापाले बताए । आगलागीबाट उनीहरूको घरसहित धनमाल पूर्णरुपमा जलेको जनाइएको छ ।
त्यसैगरी रौतामाई गाउँपालिका–२ को आहाले सामुदायिक वनबाट सल्किएको आगो गाउँ पस्दा स्थानीय ओम बहादुर तामाङको घर, गाईगोठ, मिल लगायत जलेको छ । उनको करिब १४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । उदयपुरकै ताप्ली गाउँपालिका–५ कटहरेस्थित जंगलमा लागेको आगो घरमा सल्किँदा स्थानीय तुलबहादुर जिउ मगर र प्रल्हाद सिंहको घर गोठ जलेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
बुधबार मात्रै दैलेखको आठबिस नगरपालिका–८ खिड्कीज्यूलाको भाता सामुदायिक वनमा आगलागीका क्रममा एक जनाको मृत्यु भएको थियो । उक्त दिन देशभरका ३० स्थानमा आगलागी र ११ स्थानका वनमा डढेलो लागेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ ।
मंगलबार अर्धखाँची जिल्लाको भुमिस्थान नगरपालिका–२ ज्वाईथुममा आगो निभाउने क्रममा चारजना पुरुषको मृत्यु भएको थियो । उक्त घटनामा अरु ६ जना जना घाइते भएका थिए । उक्त दिन देशभरका २८ स्थानमा आगलागी भएको प्राधिकरणले जनाएको छ ।
सोमबार देशका १९ स्थानमा आगलागी हुँदा चार जना घाइते भएका भए । २० स्थानमा आगलागी हुँदा ६ जना घाइते भएका थिए । आइतबार गुल्मीमा आगलागीमा परेर एक जनाको मृत्यु भएको थियो । उक्त दिन देशभर १८ स्थानमा आगलागी र एक स्थानमा डढेलो लागेको प्राधिकरणले जनाएको छ ।

विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’

बाढीले बेलिब्रिज बगायो

झापाको बिजनेस टावरमा सर्वसाधरणको आकर्षण

एक वर्षमा एक हजार ७९ घरेलु तथा साना उद्योग थपिए

पुस्तक बिक्रीबाट संकलित रु १२ करोड आविष्कार केन्द्रलाई

करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

हल्दिबारीका चिया बगानमा ‘लुपर’को प्रकोप

प्रतिक्रिया