बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

गाँजाकाे 'लास्ट पप' कसले तान्ने भन्नेमा विवाद हुँदा आफ्नै साथीको हत्या

सुरूमा घरकाे छतबाट लडेर एक जना घाइते भएकाे भन्ने खबर आएकाे थियाे प्रहरीमा

जनकपुरधाम । गाँजा तान्ने विषयलाई लिएर भएको विवादमा आफ्नै साथीको हत्या गरेको आरोपमा धनुषा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरु मध्ये दुई जनालाई बिहीबार पत्रकार सम्मेलन गरी धनुषा प्रहरीले सार्वजनिक गरेको छ भने अन्य दुई जना अनुसन्धानमा रहेको प्रहरीले जनाएको छ । 

प्रहरी नियन्त्रणमा रहेकाहरुमा जनकपुरधाम ७ जानकीनगरका २० वर्षीय अनुज तिवारी, २५ वर्षीय जियाउल राईन, वडा नं. ८ बस्ने ३१ वर्षीय राजकुमार साह र नगराईन नगरपालिका २ बस्ने २१ वर्षीय जितेन्द्र कुमार मण्डल रहेका छन् । 

धनुषाका प्रहरी उपरीक्षक विश्वराज खडकाले मृतक जनकपुरधाम उपमहानगरपालिका ७ बस्ने २४ वर्षीय मो. गुलाम मंसुर भन्ने रवानी मंसुर र पक्राउ परेका युवाहरुबीच गाँजा तान्ने विषयमा विवाद भएको थियो । विवादकै क्रममा एक अर्कालाई धक्का दिने क्रममा रवानी मंसूरको छतबाट लडेर मृत्यु भएको जानकारी दिए । 
उनले भने 'ती पाँचै जना साथी सीमापारी जटहीबाट लागूऔषध सेवन गरेर आएको थियो । राति करिब एक बजेतिर जनकपुरधाम २३ लादो बेलास्थित एक निर्माणाधीन घरमा गाँजा तान्ने बसे । गाँजा तान्दातान्दै अन्तिम कसले तान्ने विषयमा विवाद भयो र एकआपसमा धक्कामुक्की हुँदा रवानी छतबाट लडेर घाइते भएको थियो । उपचारकै क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा उनको मृत्यु हुन गयो ।'

घटनाबारे एसपी खड्काले भने प्रहरीलाई अबेर राति आफ्नै घरको छतबाट लडेर एकजना घाइते भएकाे भन्दै प्रहरी कन्ट्रोललाई फोन आएकाे थियाे । तर घटनाको अनुसन्धान गर्दै जाँदा गाँजाको अन्तिम कस कसले तान्ने विषयलाई विवाद हुँदा घटना घटेको खुल्न आएको प्रहरीले जनाएकाे छ।