कोशी प्रदेशमा पछिल्लाे तीन वर्षमा हराएका ९२४० मध्ये २२८४ जना अझै भेटिएनन्

विराटनगर । कोशी प्रदेशमा मात्रै तीन वर्षयता ९ हजार बढी मानिस हराएका छन् । हराएका मध्ये २४ प्रतिशत बढी मानिस भने अझै भेटिएका छैनन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष २०७७–७८ देखि चालु आर्थिक वर्ष २०७९–८० को चैत महिनासम्म ९ हजार २४० जना व्यक्ति हराएका छन् । २ हजार २८४ जना अझै पनि नभेटिएको जनाइएको छ । अहिलेसम्म ६ हजार ९५६ जना व्यक्तिहरू भने फेला परेका छन् ।
चालु आर्थिक वर्षको ९ महिनामा मात्रै कोशी प्रदेशमा २ हजार ६५८ जना व्यक्ति हराए । हराएका मध्ये १ हजार ९५१ व्यक्ति मात्रै फेला परेको कोशी प्रदेश प्रहरीको तथ्यांकमा उल्लेख छ ।
आर्थिक वर्ष २०७८–७९ मा ३ हजार ७८५ जना व्यक्ति हराएकोमा २ हजार ८८७ जना फेला परेका छन् । त्यस्तै ०७७–७८ मा २ हजार ७९७ जना हराएकोमा २ हजार ११० जना भेटिएको कोशी प्रदेश प्रहरी कार्यालयका सह–प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल दाहालले जानकारी दिए ।
प्रदेशको शान्ति सुरक्षा लगायतका विभिन्न विषयमा त्रिवर्षीय तुलनात्मक कार्य विवरण प्रस्तुत गर्दै उनले गत आर्थिक वर्षको अनुपातमा ट्राफिक दुर्घटनामा भने ८ दशमलव ६४ प्रतिशतले कमी आएको पनि जानकारी दिए । आर्थिक वर्ष २०७८–७९ को चैतसम्ममा दुई हजार ८३५ वटा दुर्घटना भएकोमा चालु आर्थिक वर्ष ०७९–८० को यही अवधिमा दुई हजार ५९० वटा मात्रै दुर्घटना भएका छन् । दुर्घटनामा कमी आएका कारण मृत्युको संख्या पनि घटेको छ । चैत महिनासम्मको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा २५ दशमलव ४२ प्रतिशतले दुर्घटनामा कमी आएको जनाइएको छ । २०७८–७९ मा ४०९ वटा सवारी दुर्घटना भएकोमा चालु आवको चैतसम्म कुल ३०५ वटा मात्रै दुर्घटना भएको जनाइएको छ ।
आर्थिक वर्ष २०७७–७८ यता तीन बर्षमा ५७ हजार २०४ वटा ट्राफिक सचेतनाका कार्यक्रम सञ्चालन गरिएको प्रहरीको दाबी छ । जसबाट कोशी प्रदेश भरीमा १८ लाख ८० हजार ४५० जनाले ट्राफिक सचेतना प्राप्त गरी लाभान्वित भएको जनाइएको छ । कोशी प्रदेशमा तीन वर्षयता ७ लाख ३१ हजार ३५१ वटा सवारी साधनमाथि ट्राफिक प्रहरीले कारवाही गरेको छ । जसबाट ३५ करोड ७० लाख ६९ हजार ५०० रुपैयाँ जरिवाना असुल भएको प्रहरीको भनाइ छ ।
यसैबीच कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजेशनाथ बास्तोलाले प्रदेशको शान्ति सुरक्षा लगायत आफ्नो जिम्मेवारीमा रहेका सवै काम इमान्दारितापूर्वक गर्ने बताएका छन् ।
पत्रकारहरूसँगको कुराकानीमा उनले समग्र शान्ति सुरक्षा र जनताको जिउधनको सुरक्षाका लागि जनचेतनामूलक कार्यक्रमलाई तीब्रता दिने, अपराध नियन्त्रणका कार्यक्रम सञ्चालन गर्ने, फरार अभियुक्तहरूको खोजी र पक्राउ अभियानलाई तीब्रता दिने र भन्सार छलीबाट हुने चोरी निकासी निस्तेज तथा लागूऔषध ओसारपसार नियन्त्रणमा कडाइ गरिने प्रतिवद्धता जनाए ।
डिआइजी बास्तोलाले प्रहरी संगठन भित्रको आन्तरिक सुद्धिकरण र व्यवस्थित परिचालनलाई आफूले ध्यान दिने बताए । तोकिएको दरबन्दीमै प्रहरी कर्मचारीले काम गर्ने वातावरण बनाउने दाबी गरे । कोशी प्रदेशमा हाल करिब १० हजार प्रहरी कार्यरत रहे पनि २ हजार ५०० प्रहरी काजमा काम गर्दै आएको उनले बताए ।
समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत समाजमा हुने कानुन उल्लंघन र अपराधका घटनालाई न्यूनीकरण समेत आफूले मातहतका जिल्लाका प्रहरी कार्यालयहरूलाई निर्देशन गरिसकेको बताए । समुदायसँग मिलेर गरिने कामलाई प्रहरीले प्राथमिकतामा राखेको बताए ।

विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’

बाढीले बेलिब्रिज बगायो

झापाको बिजनेस टावरमा सर्वसाधरणको आकर्षण

एक वर्षमा एक हजार ७९ घरेलु तथा साना उद्योग थपिए

पुस्तक बिक्रीबाट संकलित रु १२ करोड आविष्कार केन्द्रलाई

करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

हल्दिबारीका चिया बगानमा ‘लुपर’को प्रकोप

प्रतिक्रिया