बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

टिपरको ठक्करबाट नेपालगञ्जमा मोटरसाइकलमा सवार भारतीय नागरिकको मृत्यु

नेपालगञ्ज- ​नेपालगञ्जमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जना भारतीय नागरिकको मृत्यु भएको छ । टिपरको ठक्करबाट गम्भीर घाइते भएका भारत रुपइडिहा रामपुरका २५ वर्षीय सुरेश तेलीको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डीएसपी रामबहादुर घर्ती मगरका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–२२, पुरैनीमा मङ्गलबार दिउँसो १ बजेर ४५ मिनेटमा ना १ ख २२७१ नम्बरको टिपरले ठक्कर दिँदा युपी ४० जे १२१७ नम्बरको मोटरसाइकलमा रहेका तेली गम्भीर घाइते भएका हुन् ।

मोटरसाइकलमा नेपालगञ्जतर्फ आउँदै गरेका तेलीलाई नेपालगञ्जदेखि कम्दीतर्फ गइरहेको टिपरले ठक्कर दिएको थियो ।

निमित्त प्रहरी प्रमुख घर्ती मगरले दुर्घटना लगत्तै तेलीलाई उपचारका लागि भेरी अस्पतालमा पुर्याएको र उपचारकै क्रममा उनको निधन भएको जानकारी दिए ।

उनले मृतक तेलीका ससुरालाई दुर्घटनाबारे जानकारी गराइएको र शव पोस्टमार्टपछि परिवारलाई बुझाइने बताए । टिपर र चालक बर्दिया मधुवन निवासी प्रेमबहादुर डाँगीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।