जटिल मृगौला प्रत्यारोपणमा नर्भिक सफल, अब फरक ब्लड ग्रुप हुँदा पनि फरक नपर्ने

काठमाडौं– थापाथली स्थित नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकहरूले जटिल र दुर्लभ मानिएको मृगौला प्रत्यारोपण अर्थात् ‘एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्ट’मा सफलता प्राप्त गरेका छन् ।
फरक ब्लडग्रुपको व्यक्तिलाई फरक ब्लड ग्रुपको व्यक्तिबाट प्राप्त मृगौला ट्रान्सप्लान्ट गर्ने जटिल विधि नै एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्ट हो ।
सामान्यतया मृगौला प्रत्यारोपणमा मृगौला फेल भएको व्यक्तिलाई उसैको ब्लड ग्रुपसँग मिल्ने व्यक्तिले मात्र मृगौला दिन सक्ने र त्यस्ता मृगौला मात्र प्रत्यारोपण हुँदै आएकोमा नर्भिकमा हालै फरक ब्लड ग्रुपबाट प्राप्त मृगौलाको जटिल मानिने प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको हो ।
वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. आरके अग्रवाल तथा अर्का वरिष्ठ मृगौला रोग तथा मृगौला प्रत्यारोपण विशेषज्ञ डा. सुमित आचार्य नेतृत्वको टिमले निकै दुर्लभ र जटिल मानिएको मृगौला प्रत्यारोपण गरेका हुन् ।
डा. आचार्यका अनुसार बिरामीको मृगौला प्रत्यारोपण अघि र पछि उसको रगतमा ‘एन्टिबडी’को स्तर कम गर्न र दाताको मृगौलालाई अस्वीकार गर्ने ‘एन्टिबडी’हरूको जोखिम कम गर्नका लागि विशेष चिकित्सा उपचार विधि अपनाइएको थियो । यस उपचारमा रगतबाट एन्टिबडीहरू हटाउने (प्लाज्माफेरेसिस) गरिन्छ । सामान्य खालको मृगौला प्रत्यारोपणको तुलनामा यो जटिल विधि रहेकोले यसको शुल्क भने केही महङ्गो पर्ने बताइएको छ ।
मृगौला फेल भई नर्भिकमा उपचाररत एक ७२ वर्षीय पुरुष बिरामीलाई ६५ वर्षीया महिला दाताबाट प्राप्त मृगौला प्रत्यारोपण गरिएको हो । मृगौला प्राप्त गर्ने बिरामीको ब्लड ग्रुप ‘ओ’ थियो भने दाताको ‘ए’ थियो ।
‘नर्भिकको टिमले जोखिमपूर्ण मानिने यो काममा सफलता प्राप्त गरेको छ ।’ डा. आचार्यले भने–‘जटिल विधिबाट उपचार गरी मृगौला प्रत्यारोपण गरिएका व्यक्तिलाई हामीले ६ दिनमै डिस्चार्ज गरेका थियौं । उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।’
उनका अनुसार हालसम्म नर्भिकमा मृगौला प्रत्यारोपण गरिएका अन्य बिरामीहरूको अवस्था पनि सामान्य रहेको छ । ‘हामी सतप्रतिशत सक्सेस रेटसहित मृगौला प्रत्यारोपणमा नयाँ नयाँ आयाम थप्दै अगाडि बढेका छौँ ।’ उनले थपे, ‘यस्ता हाइ रिस्क ट्रान्सप्लान्टका लागि विदेश नै जानुपर्ने वाध्यताको अब अन्त्य भएको छ । यो सबै नेपालीका लागि समेत खुशीको कुरा हो ।’

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

प्रतिक्रिया