सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

एसीसीका अध्यक्ष शाहले दिए एसिया कप हुने संकेत

काठमाडौँ- एसियन क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष जय शाहले एसिया कप आयोजना हुने संकेत गरेका छन् । पाकिस्तानले आगामी सेप्टेम्बरमा आयोजना गर्ने एसिया कपका लागि नेपाल छनोट भएपछि शाहले एसिया कप स्थगित नहुने संकेत गरेका हुन् ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एसीसी प्रिमियर कपको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई ७ विकेटले पराजित गर्दै नेपालले एसिया कपमा स्थान सुरक्षित गरेको हो ।

नेपालले एसिया कपमा स्थान बनाएपछि बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) का सचिव समेत रहेको एसीसीका अध्यक्ष शाहले नेपाली टिमलाई बधाई दिए ।

उनले नेपाली टिमलाई बधाई दिदै नेपाल एसिया कपमा छनोट भएको तस्बिर समेत सामाजिक सञ्जाल ट्विटरमा राखेका थिए ।

पछिल्लो समय भारतले पाकिस्तानमा आयोजना हुने एसिया कप नखेल्ने तथा पाकिस्तानले दिएको विकल्पलाई समेत अस्विकार गरेको भन्ने समाचारहरु बाहिरिएका थिए ।

एसिया कपमा पाकिस्तान, भारत, अफगानिस्तान, बंगलादेश, श्रीलंका र नेपालको सहभागिता रहनेछ ।