सगरमाथा आरोहणमा इतिहासकै बढी आरोही
नेपालसहित ६५ देशका आरोही
काठमाडौँ- हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । हिमाल आरोहण आफैँमा साहसिक कार्य भए पनि मौसमका दृष्टिले यो तुलनात्मक रूपमा अनुकूल मानिन्छ । त्यसैले हिमाल आरोहण गर्न चाहने आरोहीहरूको सङ्ख्या वसन्त ऋतुमा बढी हुने गरेको छ ।
आरोहणका लागि यतिखेर उल्लेख्य सङ्ख्याका आरोहीहरू सगरमाथा क्षेत्रमा पुगिसकेका छन् । पर्यटन विभागबाट आरोहण अनुमति लिएका उनीहरू यतिबेला सगरमाथाको पहिलो, दोस्रो र तेस्रो आधार शिविरमा अनुकूल मौसमको प्रतीक्षामा छन् ।
सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको साउथ कोल (चौथो शिविर)सम्म बाटो बनाइसकेका छन् । सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) गरेपछि आरोहण सुरु हुन्छ ।
वसन्त ऋतुको यो यामको सगरमाथा आरोहणका लागि हालसम्मकै सबैभन्दा बढीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यसपालिको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि हालसम्म ४३ आरोही समूहका चार सय ६६ आरोहीले अनुमति लिएका छन् । उनीहरूमध्ये ९८ महिला र तीन सय ६८ पुरुष छन् । जुन सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो । सगरमाथा आरोहणका लागि सन् २०२२ मा ४४ समूहका ३२३ र सन् २०२१ मा ४२ समूहका ४०९ जनाले अनुमति लिएको पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले बताए ।
नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार नेपालतर्फबाट सगरमाथा आरोहण गर्ने हालसम्मकै बढी आरोहीले अनुमति लिएका हुन् । सगरमाथाको उत्तरी मोहोडाबाट पनि चुचुरोमा पुग्न सकिन्छ । कोरोना महामारीपछि तिब्बतबाट आरोहण रोकिएकाले अहिले नेपालमा आरोहीको सङ्ख्या बढेको हुनसक्ने अध्यक्ष शेर्पाको भनाइ छ ।
सन् २००७ देखि पर्यटन विभागको सम्पर्क अधिकृत भएर काम गरेका ज्ञानेन्द्र श्रेष्ठले आरोहणमा गएका आरोही र उनीहरूका सहयोगीको सगरमाथा आधार शिविरमा ओइरो लागेको बताए ।
इमाजिन नेपाल ट्रेक एन्ड एक्सिपिडिसन कम्पनीले सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको छ । सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)ले बाटो बनाएको थियो । दोस्रो शिविदेखि सगरमाथाको चुचुरोसम्म पर्वतारोहण सञ्चालक सङ्घले बाटो बनाउँदै आएको छ ।
इमाजिन नेपालका कार्यकारी निर्देशक दावा ग्याल्जेन शेर्पाका अनुसार अहिले सगरमाथाको चौथो शिविरसम्म बाटो बनिसकेको छ । पछिल्लो तीन दिनदेखि सगरमाथा क्षेत्रमा मौसम खराबीले बाक्लो हिउँ परिरहेकाले आरोहण अघि बढ्न सकेको छैन । आइसफल डाक्टर सगरमाथाको दोस्रो शिविरमा आराम गरिरहेका छन् । मौसम अनुकूल हुने वित्तिकै चुरोसम्म डोरी टाँग्ने काम सुरु हुने निर्देशक शेर्पाले बताए । साउथ कोलबाट चुचुरोसम्म बाटो खुलाउन झण्डै एक दिनको समय लाग्ने उनको भनाइ छ ।
सगरमाथा क्षेत्रको मौसम बिग्रियो
आधार शिविरमा रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका शाखा अधिकृत तथा सम्पर्क अधिकृत सुरज अर्यालले सगरमाथा क्षेत्रको मौसम पूरै बिग्रिएको जानकारी दिए । दुई/तीन दिनदेखि निरन्तर मौसम बिग्रिएकाले तेस्रो शिविरबाट आरोहीहरू फर्कन थालेका छन् । आरोहण अनुमति लिएका अधिकांश आरोही यतिबेला सगरमाथाको आधार शिविर आसपास पाल टाँगेर बसेका छन् ।
नेपालसहित ६५ देशका आरोही
पर्यटन विभागको विवरणमा हालसम्म सगरमाथा आरोहणमा नेपालसहित ६५ देशका नागरिकले अनुमति लिएका छन् । सबैभन्दा बढी चीनबाट ९६, अमेरिकाबाट ८९, भारतबाट ४०,३, हङ्गेरीबाट ३३, क्यानडाका २१, रुसका १८, बेलायतका १५ र नेपालका १५ आरोहीले अनुमति लिएका छन् । सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमन्ड हिलारी सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो । सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगेको छ । सगरमाथा आरोहणको इतिहासमा हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले आरोहण गरेका छन् । तथ्याङ्कअनुसार हालसम्म तीन सयभन्दा बढी आरोहीले सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका छन् । आरोहणलाई व्यवस्थित गर्न पर्यटन विभागले सगरमाथाको आधारशिविरमा सम्पर्क कार्यालय खोलेर आवश्यक कर्मचारी खटाएको छ । रासस

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया