देशका सामुदायिक विद्यालयमा अझै ५३ हजार बढी शिक्षक अपुग
विराटनगर- परीक्षाको नजितालाई हेरेर शिक्षक शिक्षिकाहरूको कार्यक्षमता र योग्यतामाथि प्रश्न उठ्ने गरेको परिप्रेक्ष्यमा मुलुकको सामुदायिक शैक्षिक क्षेत्रमा अझै पनि ठूलो संख्यामा शिक्षकहरूको अभाव रहेको पाइएको छ ।
विद्यार्थी अनुपातमा अहिले पनि ५३ हजार १५८ जना शिक्षकको अपुग रहेको शिक्षा मन्त्रालय अन्तरगत शिक्षा तथा मानव स्रोत विकास केन्द्रकै तथ्यांक छ । सामुदायिक विद्यालयमा कायम रहेको विद्यार्थी अनुपातमा यति धेरै संख्यामा शिक्षक आवश्यक रहे पनि नयाँ शिक्षक नियुक्ति र भएका शिक्षकहरूको क्षमता विकासतर्फ पनि खासै योजना र कार्यक्रम बनेको पाइएको छैन ।
शिक्षक सेवा आयोगले बर्सेनि केही हजार शिक्षक नियुक्तिका लागि आवेदन माग गर्दै आएको छ । तर, विद्यार्थीको अनुपातमा शिक्षकको अभाव ठूलो रहेको छ । शिक्षक अभावले सामुदायिक शिक्षामा प्रत्यक्ष असर पुर्याएको छ भने शैक्षिक वातावरण पनि भित्रभित्रै जर्जर बन्दै गएको शिक्षा क्षेत्रका सरोकारवालाहरूको भनाइ छ ।
मुलुकभर माध्यमिक तहमा २४ हजार ८३५, निम्न माध्यमिक तहमा २४ हजार ४०१ र प्राथमिक तहमा ३ हजार ९२२ जना शिक्षक अभाव रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक रुद्रप्रसाद अधिकारीले जानकारी दिए ।
संविधान अनुसार शिक्षालाई स्थानीय तह मातहतमा राखिए पनि अपुग भएकाे शिक्षक दरबन्दी व्यवस्थापनमा स्थानीय तहहरू तयार हुन नसक्दा शिक्षा क्षेत्र प्रभावित बन्दै गएको जनाइएको छ । अधिकारीका अनुसार नेपालको समग्र शिक्षा क्षेत्रको बजेटमै प्रत्येक आर्थिक वर्षमा कुनै न कुनै रूपमा संकुचन आइरहेको छ ।
नेपालमा हाल शिक्षा क्षेत्रको बजेटमा ८६ प्रतिशतमात्रै नेपाल सरकारको योगदान रहेको छ भने बाँकी बजेट विभिन्न वैदेशिक संघ संस्था तथा दातृ निकायहरूबाट प्राप्त अनुदान र ऋणबाट धानिँदै आएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक सुरेशकुमार जोशीले बताए ।
१० आर्थिक वर्षको बजेट तुलना अनुसार मुलुकको समग्र सामुदायिक शिक्षा क्षेत्रमा बजेट घट्दै गएको जनाइएको छ । यद्यपि सरकारले प्राविधिक धारका विद्यालयको विकासका लागि भने हरेक वर्ष सहयोग बढाउँदै लगेको जोशीले जानकारी दिए ।
नेपालमा हाल ५४६ वटा प्राविधिक धारका विद्यालय रहेकोमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा यस्तो विद्यालयको विकास गर्ने लक्ष्य अझै पूरा नभएको जनाइएको छ । अझै पनि ९८ वटा स्थानीय तहमा प्राविधिक धारको अध्ययन अध्यापन हुन नसकेको उनले बताए ।
त्यसैगरी ४२२ वटा नमूना विद्यालय, ३४ वटा विशेष विद्यालय, ३८० वटा विशेष शिक्षा स्रोत केन्द्र, एक हजार २९४ वटा परम्परागत धार्मिक विद्यालय, आधारभूत र माध्यमिक गरी कुल १२१ वटा खुल्ला विद्यालय रहेका छन् । तर, खुल्ला विद्यालयको शैक्षिक प्रगति मापन पनि नाजुक रहेको छ ।
मोरङमा खुल्ला विद्यालय कार्यक्रम अन्तरगत नै यस वर्षको एसईई परीक्षामा सयौंको संख्यामा नक्कली परीक्षार्थी पक्राउ परेका थिए । उनीहरू मध्ये १६७ जना नक्कली परीक्षार्थीहरूलाई भने जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी मुद्दा नै चलाउनु परेको छ । पक्राउ परेका सबै नक्कली विद्यार्थी जिल्ला अदालत मोरङको आदेशमा जनही ४० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

प्रतिक्रिया