एक दशकमा पनि बनेन टेकुको पुल

काठमाडौँ- एउटा पुल बन्न कति समय लाग्छ ? साना र सामान्य ढाँचाका भए एक वा दुई वर्ष लाग्छ । नेपालमा हाल निर्माण भइरहेका पुल हेर्दा लामो पुल र आधुनिक प्रविधिको पुल भए तीन चार वर्षसम्म लाग्ने देखिएको छ ।
तर, काठमाडौँमा एउटा यस्तो पुल छ, जसको निर्माण सुरु भएको एक दशकभन्दा बढी समय भइसक्यो तर निर्माण सकिएको छैन । टेकुको विष्णुमति नदीमा निर्माणाधीन पुल आर्थिक वर्ष २०५९/६० मा सुरु भए पनि हालसम्म समपन्न भएको छैन ।
पुल निर्माणमा त्रुटी रहेकाले त्यसलाई भत्काएर पुनःनिर्माण गर्नुपर्ने डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । कम गुणस्तरको पुल भएकाले अहिले त्यहाँ यातायात आवागमन रोकिएको डिभिजनका सूचना अधिकारी सुनिता केसीले बताइन् ।
पुल निर्माण अघि बढिरहँदा नै डिभिजन र निर्माण कम्पनीबीच विवाद भएको थियो । डिभिजनले कम गुणस्तरको भएकाले निर्माण अघि नबढाउन भनेको भए पनि कम्पनीले त्यो नमानेको सूचना अधिकारी केसीले बताइन् । उनले भनिन्, 'डिभिजनले रोक्न भन्दाभन्दै कम्पनी काम सकाउन लागेको थियो ।'
कम गुणस्तरको निर्माण भएको र पहिले डिजाइनमा उल्लेख भएअनुसार (स्पेसिफिकेसन) अनुसार नभएकाले तीन वर्ष पहिले निर्माण कम्पनीसँगको ठेक्का तोडिएको डिभिजनले जनाएको छ ।
डिभिजन कार्यालयले ठेक्का तोडेर कम्पनीलाई कालोसूचीमा पठाएपछि कम्पनी अदालतमा गएको थियो । मुद्दा विचाराधीन हुँदा थप कारबाही गर्न नसकिएकाले अहिले पुल बन्द गरी राख्नुपरेको सूचना अधिकारी केसीको भनाइ छ । उनले भनिन्, 'पुलसम्बन्धी मुद्दाको निर्णय आएपछि त्यहीअनुसार अघि बढाइनेछ ।'
कम्पनीले आफ्नोतर्फबाट निर्माण सकेपछि यातायात सञ्चालन गर्न चाहेको भए पनि कम गुणस्तरको बनेकाले नदिइएको डिभिजनले जनाएको छ । अहिले मुद्दा विचाराधीन भएकाले खोल्न नमिल्ने उनले बताइन् । पुलको माथिको बीचको भाग भत्काउनुपर्ने कार्यालयको भनाइ छ । पहिले निर्माण कम्पनीले रोक्नभन्दा नमानेर बनाएको संरचना स्वीकार गर्ने किसिमको नभएको उनले बताइन् ।
पुल पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको हो । उक्त कम्पनीले टेकु र तीनकुनेमा रहेका दुई वटै पुल निर्माणको जिम्मा पाएको थियो । दुई वटै पुलमा गुणस्तरीय काम नगरेको भन्दै ठेक्का तोडिएको थियो । तीनकुनेमा रहेको पुल नयाँ ठेक्कामार्फत निर्माण अघि बढाउन लागिएको भए पनि यो पुलको मुद्दा अदालतमा रहेकाले लामो समयसम्म पुल अलपत्र अवस्थामा छ । रासस

लहानको मुख्य बजार क्षेत्रमा तत्काल सडक निर्माण गर्न माग

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

प्रतिक्रिया