ठाकुर अध्यक्ष त हुन् तर संसदीय दलको नेता होइनन् : यादव
काठमाडाैँ : केपी शर्मा ओलीलाई सत्तामा नै राख्ने कि नयाँ गठबन्धनमा जाने भन्ने अन्यौलतासँगै नेतृत्वबीच मत बाझिदा जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ । अध्यक्ष महन्थ ठाकुर समूह ओलीलाई नै सत्तामा राख्न चाहन्छ भने अर्का अध्यक्ष उपेन्द्र यादव समूह ओलीको विकल्प खोज्न लागि परेको छ । यही विवादले चर्को रूप लिएपछि जसपा फुटको संघारमा पुगेको हो ।
यादव समूहले सोमबार विपक्षी गठबन्धन नेपाली कांग्रेस र माओवादीसँगै प्रधानमन्त्रीको विपक्षमा मतदान गर्यो भने ठाकुर समूहका १५ सांसद तटस्थ बसेका थिए । आफ्नै दलका नेताले ह्विप उल्लंघन गरेपछि प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत गुमाइसकेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा,माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवको माग बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न बैशाख ३० गते राति ९ बजेसम्मको समय सोमबार दिएकी छन् ।
उनले दिएको समयमा विपक्षीले बहुमत पुर्याउन नसकेमा धारा ७६ को उपधारा ३ अनुसार अोलीलाई पुनः प्रधानमन्त्री नियुक्त गर्ने तयारी छ । नयाँ बन्ने प्रधानमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिन पर्ने संवैधानिक व्यवस्था छ । त्यसो हुन नसके मुलुकलाई निर्वाचनमा लैजान पर्छ । त्यो बीचमा उनले संकटकाल देखाएर निर्वाचन अवधि लम्ब्याउन भने सक्छन् ।
राष्ट्रपतिको समयसीमा लगत्तै जसपाभित्र विवाद सुरु भएको हो । जसपाका अध्यक्ष ठाकुरले सोमबार राति नै विज्ञप्ती जारी गरेर जसपा र ओली नेतृत्वको सरकारबीच वार्ता सकरात्मक ढंगले अघि बढेको भन्दै मुद्दा सम्बोधनलाई नै ध्यानमा राखेकाे स्पष्ट पारेका छन् । 'कुनै पनि किसिमको वैकल्पिक सरकारको गठनमा हामी संलग्न हुने छैनौँ ,' ठाकुरले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
ठाकुरले राष्ट्रपति कार्यालयलाई आफू नै प्रथम अध्यक्ष भएको र यादवको निर्णय आधिकारीक नभएको जानकारी गराइसकेका छन् । यद्यपि यादव समुहले भने दल र पार्टीको कार्यकारिणीमा आफ्नो बहुमत भएको दाबी गर्दै आएको छ । 'उहाँ एक्लैले गरेर केही हुँदैन । उहाँ अध्यक्ष हो तर संसदीय दलको नेता होइन । हाम्रो संसदीय दलको नेता चयन भएपछि आधिकारीक निर्णय राष्ट्रपतिकोमा जानेछ,' यादवले इकागजसँग भने ।
ठाकुरले गरेको कार्य विधिसम्वत नभएको यादवले बताए । किन यस्तो भइरहेको हो, भन्नेबारेमा छलफल भइरहेको र आवश्यक परे पार्टीले कारबाहीसम्मको नीति अख्तियार गर्ने यादवले बताए ।
जसपा वरिष्ठ नेता राजेन्द्र महतोले पनि अध्यक्ष यादव सत्ताको खेलमा लागेको आरोप लगाउँदै आएका छन् । ठाकुर र महतो ओली सरकारको पक्षमा देखिएका छन् । ओली नेतृत्वको सरकारले नै मधेसको मुद्दा सम्बोधन गरिरहेको बेला कांग्रेस र माओवादीले सुरु गरेको सत्ताको खेलमा पार्टी लाग्न नहुने महतोको धारणा छ ।
जसपाका तर्फबाट कसैले सरकार बनाउने दाबीसहित राष्ट्रपतिलाई पत्र पठाएमा आफ्नो तर्फबाट पनि पत्र आउने जानकारी राष्ट्रपति कार्यालयलाई दिएको ठाकुरले जनकारी दिएका छन् । जसपाभित्र यादव र संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराई प्रधानमन्त्री ओली प्रतिगमनको नाइके भएको भन्दै उनलाई साथ दिन नहुने बताउदै आएका छन् ।

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

संविधानको महत्त्वपूर्ण कुरा उल्टाउने प्रयास हुँदैछः अध्यक्ष प्रचाण्ड

नेकपा एसले रामकुमारी झाक्रीलाई सोध्यो स्पष्टीकरण

राप्रपाले रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन दियो निर्दे…

प्रतिक्रिया