गण्डकीका नवनियुक्त मुख्यमन्त्रीको यस्तो छ राजनीतिक यात्रा

पोखरा- नेकपा एमालेका नेता खगराज अधिकारी नेतृत्वको गण्डकी सरकारले वैशाख ९ गते विश्वासकाे मत गुमाएपछि नयाँ सरकार गठन हुन निकै समय लाग्यो । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । प्रदेश प्रमुख गुरुङले दिएको ३ दिनको समयसीमा सकिनै लाग्दा गण्डकीले नयाँ मुख्यमन्त्री पाएको छ ।
बिहीबार दिउँसो ४ बजेसम्मका लागि गुरुङले दलहरूलाई संविधानको धारा १६८ उपधारा २ अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न समय दिएका थिए । ४ बजेभन्दा अघि नै नेकपा माओवादी केन्द्र र एक जना स्वतन्त्र सांसदको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री नियुक्त भएका छन् ।
गोरखा जिल्लामा २०२१ भदौ ९ गते जन्मिएका नवनियुक्त मुख्यमन्त्री पाण्डे विद्यार्थी हुँदादेखि नै राजनीतिमा सक्रिय व्यक्ति हुन् । उनी २०३६ सालदेखि नै नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघको सदस्यता लिएर विद्यार्थी आन्दोलनमा प्रवेश गरेका हुन् ।
२०३७ सालमा अमरज्योती जनता मावि गोरखाबाट एसएलसी उत्तीर्ण गरेका पाण्डेले त्रिभुवन विश्वविद्यालबाट स्नातक गरेका छन् । उनी २०३९ सालमा नेविसंघ अस्कल इकाइ सचिव हुँदै २०४५ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति निर्वाचित भए । २०४९ मा नेविसंघको केन्द्रीय सदस्य समेत भए ।
त्यसपछि उनको राजनैतिक यात्रा तरुण दलसँग जोडियो । पाण्डे २०५९ मा नेपाल तरुण दलको महासचिव बने । राजनीतिक संघर्षका क्रममा २०४५ साल, शाही शासन २०६१ सालमा गरी झण्डै ८ महिनाभन्दा बढी समय जेल जीवन बिताएका छन् । उनी तीन पटकसम्म नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका थिए । उनी अहिले पनि केन्द्रीय सदस्य नै हुन् ।
उनीसँग २०७४ सालमा राष्ट्रिय सभामा सांसद रही नेपाली कांग्रेसको तर्फबाट प्रमुख प्रतिपक्ष दलको नेता बनेर काम गरेको अनुभव छ । २०७९ मंसिर ४ गतेको निर्वाचनबाट उनी गोरखा २ (ख) मा गठबन्धनको उम्मेदवार बनेर जितेका हुन् । उनी गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसको तर्फबाट प्रमुख प्रतिपक्ष दलको नेता हुन् ।

मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’

आन्तरिक पर्यटकहरूका लागि आकर्षक गन्तव्यस्थल बन्दै गुर्जा

पर्वतका छ स्थानीय तहले निर्माण गरे आफ्नै भवन

जैमिनीमा बढ्दो बसाइँसराइ : दुई वर्षमा १७०९ जनाले गाउँ छाडे

घाँस काट्ने क्रममा लडेर दुई जनाको मृत्यु

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

माझफाँट–लेकफाँट सडक कालोपत्र

प्रतिक्रिया