सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

राष्ट्रिय ट्रमा सेन्टर पनि कोभिड-१९ डेडिकेटेड अस्पताल

काठमाडौँ : राष्ट्रिय ट्रमा सेन्टर कोभिड-१९ डेडिकेटेड अस्पतालका रूपमा सञ्‍चालन भएको छ । सरकारको निर्णयानुसार कोभिड-१९ सङ्क्रमितको उपचारका लागि सेन्टर डेडिकेटेड अस्पतालका रूपमा सञ्‍चालन भएको हो । 

सेन्टरका निर्देशक डा सन्तोष पौडेलले सङ्क्रमितको उपचारका लागि अस्पताललाई कोभिड-१९ अस्पतालका रुपमा सञ्चालन गरिएको बताए । यसअघि गत वर्ष पनि सङ्क्रमणको महामारी चलेका बेला सेन्टरले कोभिड-१९ का बिरामीलाई मात्र उपचार गरेको थियो । 

अहिले ५० शय्यामा सङ्क्रमितको उपचार गरिएको  सेन्टर बुधबारसम्ममा पूर्ण रुपमा सञ्चालन हुने छ ।  उहाँले सेन्टरमा रहेका घाइते र बिरामीलाई अन्यन्त्र सारेर पूर्ण रुपमा कोभिड-१९ अस्पताल बनाइने जानकारी दिए । 
 
सेन्टरमा १० सघन उपचार कक्ष र २०० शय्या छन् । उहाँले थप आइसियु र भेन्टिलेटर थपेर अस्पताललाई व्यवस्थित बनाइने बताए । अहिले सेन्टरमा ७०  सङ्क्रमितको उपचार भइरहेको छ । (रासस)