‘सरकार मिटरब्याज पीडित किसान-मजदुरलाई देशद्रोही र आतंककारी बनाइरहेछ’

वैशाख ४ गते शान्तिवाटिकामा मिटरब्याज पीडित किसान तथा मजदुरमाथि प्रहरीले आक्रमण गर्यो । महिलाहरूलाई लछारपछार गरियो । छानीछानी मान्छेको टाउकामा हिर्काइयो । यो मानव अधिकारको हनन होइन भने के हो ? यो प्रश्न सोध्ने बेला भएको छ ।
सरकारले कस्तो भाष्य निर्माण गरिरहेको छ भने पीडित किसानहरू आतंकवादी हुन् । उनीहरू ठूला तस्कर हुन् । तर, यहाँ आउनुभएका दिदीबहिनी तथा दाजुभाइहरूको अनुहार हेर्नुस् त । पछाडि एउटा बूढो दाइ हुनुहुन्छ, प्रेमप्रसाद कोइरी, उहाँलाई हेर्नुस् त । तपाईंलाई के लाग्छ– उहाँहरू आतंकवादी हो देशद्रोही हो ? तर, यो सरकारले उहाँहरूलाई देशद्रोही भनिरहेको छ ।
पीडितहरूसँग झन्डा छ । झन्डामा लाठी हुन्छ । तर, सरकार त्यसलाई हतियार बताइरहेको छ । शान्तिवाटिकामा पहिल्यैदेखि ढुंगाहरू थिए । सरकार ती ढुंगा प्रहरीमाथि आक्रमण गर्न ल्याइएको भनिरहेको छ । पीडित किसान मजदुरलाई देशद्रोही र आतंककारी बनाउन खोजिरहेको छ ।
घटनाको अर्को दिन म वाटिका पुगेको थिएँ । त्यहाँ असईसाहेब आउनुभएको थियो । हाम्रा साथीहरूको उहाँसँग वादविवाद भइरहेको थियो । साथीहरूले भनिरहनुभएको थियो, ‘हामीलाई कुटियो, पिटियो, पानी हानियो त्यो एउटा कुरा हो । तर, प्रहरीले त हाम्रो चामलको बोरासमेत खोसेर हिँड्यो । पीडितहरूले बडो दुःख गरेर जुटाएको चामल पनि सरकारले खोसिदियो । यो कुन स्तरसम्मको अमानवीय कार्य हो ?’ साथीहरूको प्रश्नमा प्रहरीले उल्टै सोध्दै थिए– प्रमाण के छ ?
सरकार प्रमाणको कुरा गर्छ । उसलाई कस्तो प्रमाण चाहिने हो ? हामी भन्छौँ, संसार गोलो छ । तर, सरकार च्याप्टो छ भन्छ । हामीसँग गोलो हुनुको प्रमाण छ । तर सरकार भन्छ– पृथ्वी च्याप्टो नै छ किन भने हामीसँग पाँच सय प्रहरी छन् । पाँच सय लाठी छन् । यो च्याप्टो संसारमा जे गरे पनि हुँदो रहेछ ।
एकातिर लोकतन्त्रको कुरा चलिरहेको छ, अर्कातिर माथिको आदेशको कुरा चलिरहेको छ । एकातिर सामाजिक न्यायको कुरा चलिरहेको छ, अर्कातिर जाली तमसुकको कुरा चलिरहेको छ । यो मानव अधिकारको हनन नभएर के हो त ?
मानव अधिकार, सामाजिक न्याय र लोकतन्त्र छुट्टाछुट्टै विषय होइनन् । यी त एकअर्कासँग जोडिएका कुरा हुन् । यदि कुनै समाजमा सामाजिक न्याय छैन भने त्यहाँ लोकतन्त्र हुँदैन । त्यो लोकतन्त्र केही व्यक्तिका लागि मात्र हुन्छ । समाजमा लोकतन्त्र छैन भने त्यहाँ मानव अधिकार हुँदैन । अधिनायकवादमा मानव अधिकार हुँदैन । र, मानव अधिकार छैन भने सामाजिक न्याय र लोकतन्त्र दुवै हुँदैनन् । त्यसैले, यी एक आपसमा जोडिने कुरा हुन् । यसले प्रस्ट पार्छ कि यो देशमा मानव अधिकार छैन ।
मिटरब्याज पीडितहरू पहिलोपटक काठमाडौंँ आउनुभएको होइन । बारम्बार आइरहनुभएको छ । सरकारले पनि बारम्बार सम्झौता गरिरहेको छ । तर, समस्या जस्ताको त्यस्तै छ । उहाँहरू कुटिनु भएको पनि यो पहिलो पटक होइन, यसअघि पनि पिटिनुभएको छ । तर, यसमा सरकारको जवाफदेहिता छैन । यहाँका आयोगहरूमा पनि जवाफदेहिता छैन । यस्तो भएपछि कसरी लोकतन्त्र हुन्छ ?
त्यसो त सरकार जवाफ दिएको जस्तो गर्छ । तर, सरकार बडो चलाख र छट्टु छ । चटके छ । मस्यौदा बनाएर कानुन मन्त्रालयमा पठाए जस्तो गर्छ । तर, त्यो मस्यौदामा के हुन्छ ? कसैलाई थाहा हुँदैन । लोकतन्त्रमा पारदर्शी हुनुपर्दैन ?
मैले अघि नै भनिसकेँ लोकतन्त्र, मानव अधिकार र सामाजिक न्याय भिन्दाभिन्दै कुरा होइनन् । एकआपसमा जोडिने विषय हुन् । तर, के यो देशमा वास्तवमै न्याय छ त ? दुई लाख ऋण लियो, १२ लाखको तमसुक बनाइन्छ । किसानले २ लाखको ऋणमा १२ लाखको तमसुक कसरी बनाउन मिल्छ भनेर सोध्दा उसलाई भनिन्छ, ‘परापूर्व कालदेखि यस्तै चल्दै आएको छ । तपाईंको बाबुबराजुकै पालमा पनि २ लाख ऋणको १२ लाख बनाइन्थ्यो ।’
यहाँ जे पनि हुन्छ, किनकि सरकारको पृथ्वी च्याप्टो छ । अहिले त के लाग्छ भने सरकारसँग विवेक पनि छैन । उसको विवेक दृष्टिबन्धक भए जस्तो लाग्छ ।
सरकारले आयोग वा समिति बनाएर मात्र हुँदैन । आयोग र समिति त यसअघि पनि थुप्रै बनिसकेका छन् । तिनले आलटालबाहेक केही गरेनन् । त्यसैले, आयोग वा टोलीमात्र बनाएर हामीलाई कतै पुर्याउँदैन । कोही मान्छेको घरमा दनदनी आगो लागिरहेको छ भने सुरुमा आगो निभाउने कि आयोग बनाउने ? आगो निभेपछि आयोग बनाए पनि भयो, कार्यपत्र लेखे पनि भयो । तर, अहिलेलाई आगो त बुझाऊँ हामी ।
अहिले लागेको आगो के हो भने मिटरब्याज पीडितहरू घर र जमिन लिलाम भएर भूमिहीन हुन लाग्नुभएको छ । यसलाई तुरुन्तै रोकौँ । मिटरब्याजीसँग सम्बन्धित सबै कागजपत्र तमसुक, झिनुवापास, दृष्टिबन्धक वा चेक जे पनि हुनसक्छ । ती सबलाई अवैध करार गर्नुपर्यो । यदि चेक अवैध छ भने त्योसँग जोडिएका सबै लिलामीहरू बन्द हुनुपर्छ । बन्दी बनाइएका पीडितहरूलाई मुक्त गर्नुपर्छ । साहुकारको सबै सम्पत्ति छानबिन हुनुपर्यो । सरकारले यति गरेपछि मात्र पीडितहरूले न्याय पाउनेछन् ।
(लेखक तथा नागरिक अभियन्ता डा. सञ्जीव उप्रेतीले बुधबार ‘मानव अधिकार मार्च’का क्रममा बानेश्वरमा दिएको मन्तव्यमा आधारित )

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया