टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण

कैलाली- सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ । महालेखापरिक्षकको प्रतिवेदन अनुसार सुदूरपश्चिम विश्वविद्यालय अर्न्तगतको टीकापुर बहुमुखी क्याम्पसको ३८० बिघा जग्गा रहेकोमा ३०० बिघा जग्गा अतिक्रमणमा परेको हो ।
२०६२ मा तत्कालीन टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन सय ८० बिघा जग्गा क्याम्पसलाई दिएको भएपनि क्याम्पसले हालसम्म ८० बिघा मात्रै भोगचलन गरिरहेको छ । अन्य तीन सय बिघा जमिन राजनीति आडमा मुक्त कमैया तथा सुकुम्बासीको नाममा अतिक्रमण भएको छ ।
२०६२/०६३ सालको आन्दोलनका बेला क्याम्पसको जमिन अतिक्रमण हुन सुरु भएको क्याम्पस प्रमुख केशरबहादुर कुँवरले जानकारी दिए । उनले उक्त जग्गामा अहिले करिब एक हजार पाँच सय घर–परिवारले टहरा बनाएर क्याम्पसको जमिन हडपेको बताए ।
क्याम्पस प्रमुख कुँवरले कृषि एजी कार्यक्रम सञ्चालन गरेको बताउदै उक्त विषय अध्ययनरत विद्यार्थीहरूलाई प्रयोगात्मक अध्ययन गर्नसमेत स्थान अभाव भएको बताए । उनले जग्गा अभावमा विद्यार्थीहरूको अध्ययनका लागि भौतिक संरचना र प्रयोगशाला भवन समेत निर्माण गर्न नसकिएको बताए । क्याम्पसको जग्गा अतिक्रमण हटाई दिन नगरपालिकालाई पटक-पटक पत्राचार गरेको बताए ।
अतिक्रमण हटाउन स्थानीय सरकार, प्रदेश सरकार र सर्वपक्षीय बैठकबाट विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारको सहभागितामा पटक–पटक छलफल भए पनि अतिक्रमण हटाउन नसकिएको क्याम्पस प्रमुख कुँवरले बताए ।
सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले विश्वविद्यालयले छलफल गरेर अतिक्रमण हटाउने प्रयास गरिरहेको बताए । उनले क्याम्पसको जग्गामा पक्की संरचनाहरू समेत निर्माण भएको बताउदै उक्त संरचना हटाउन सबै राजनीतिक दलहरू सहमत भए मात्रै सम्भव हुने बताए ।
टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले उक्त जग्गामा वर्षौंदेखि बसोबास रहेकाले अतिक्रमण हटाउन समस्या भएको बताए । उनले क्याम्पसले अतिक्रमण हटाइदिन भनेर नगरपालिकालाई पत्र पठाएको बताउँदै समस्या समाधान गर्न सबै राजनीतिक दलहरू एकमत भएमात्रै सम्भव हुने बताए ।
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

प्रतिक्रिया