गण्डकीमा ८ महिनामा ‘अफ्रिकन स्वाइन फिभर’ले १६ हजार बंगुर मरे

पोखरा- गण्डकी प्रदेशमा यो आर्थिक वर्षको ८ महिनामा ‘अफ्रिकन स्वाइन फिभर’ ले १६ हजार ४ सय ४२ बंगुर मरेको तथ्यांक सार्वजनिक भएको छ । फागुन मसान्तसम्मको तथ्यांकमा गण्डकीमा सो संख्यामा बंगुरका माउबच्चा मरेका हुन् । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो चौमासिक प्रगति समीक्षा गोष्ठीमा यो तथ्यांक सार्वजनिक गरिएको हो ।
यो तथ्यांक गण्डकीका कास्की, तनहुँ, म्याग्दी, नवलपुर, स्याङ्जा र लमजुङ जिल्लाको हो । जसमा कास्कीमा मात्र १५ हजार ३ सय ३३ बंगुर मरेका छन् । यस्तै तनहुँमा २०, म्याग्दीमा ७ सय २९, नवलपुरमा २१, स्याङ्जामा २ सय १ र लमजुङमा १ सय ४९ बंगुर मरेका छन् ।
‘अफ्रिकन स्वाइन फिभर’ ले बंगुरमा धेरै क्षति पुगेको निर्देशनालयका पशु चिकित्सक डा. राजेशकुमार चौधरीले जानकारी दिए । ‘यो यस्तो महामारी रोग हो कि लागेपछि सतप्रतिशत बंगुर मर्छ,’ उनले भने, ‘यो भाइरल रोग भएकाले कुनै उपचार पनि छैन । त्यही कारण पनि धेरै क्षति व्यहोर्नुपर्यो ।’ यसले बंगुरबाहेक अरुलाई असर नगर्ने भएकाले मान्छे डराउनुपर्ने अवस्था नरहेको उनले सुनाए ।
फर्मका बंगुर भकाभक मर्न थालेपछि यस क्षेत्रका किसानहरू चिन्तामा छन् । पोखरा १४ की सन्तोषी तामाङले सञ्चालन गरेको एस्थर बंगुर तथा कृषि फर्ममा अहिले चहलपहल शून्य छ । कात्तिक अन्तिमतिर उनको बंगुर फर्मका बंगुर एकाएक मरेपछि उनी चिन्तामा छिन् । बंगुर मरेको सूचना पाएपछि पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशको टिम गएर टिपोट गरेको तर, कुनै सहयोग नभएको उनको गुनासो छ । उनको फर्मबाट साना ठूला गरी ९३ वटा बंगुर मरेको तथ्यांक छ ।
‘जिल्लाबाट अनुगमनमा आउनुभएकाहरूलाई विवरण बुझायौं । त्यही बेला हामीलाई केही सहयोग होला नि भनेर सोधेका थियौं,’ उनले भनिन्, ‘उहाँहरूले पनि मन्त्रालयमा पठाउने हो । उताबाट के हुन्छ पछि नै थाहा हुन्छ भन्ने कुरा गर्नुभयो ।’
साना ठूला मरेका सबै बंगुर र पालेको लागतसहित १५ लाखभन्दा बढि घाटा लागेको उनले बताइन् । अहिले के गर्ने के नगर्ने दुविधामा रहेको उनको गुनासो छ । ‘अहिले केही गर्ने मेसो पाएको छैन् । बंगुर नै पाल्ने कि अरु खेती गर्ने भन्ने दोधारमा छु,’ उनले भनिन्, ‘त्यत्रो क्षति भएको छ । सरकारले केही राहत दिएनि हुने हो । खै अहिलेसम्म केही खबर भएको छैन ।’
‘अफ्रिकन स्वाइन फिभर’को उपचार नभए पनि फैलिन नदिनका लागि जनचेतना फैलाउने र सतर्क बनाउने काम गरेको निर्देशनालयका पशु चिकित्सक डा. राजेशकुमार चौधरीले जानकारी दिए । रोग गण्डकीमा पनि देखिएपछि बंगुरको संख्या नबढाउन आग्रह गरिएको थियो । सावधानी अपनाउँदा अपनाउँदै धेरै बंगुर मरेकाले गण्डकी प्रदेशलाई नै असर गरेको उनले सुनाए । ‘हामी बंगुरमा आत्मनिर्भर हुँदै थियौं । बंगुरमा हामी कोशी र लुम्बिनी प्रदेशपछि तेस्रो नम्बरमा थियौं,’ उनले भने, ‘यसले ठूलो असर पारेको छ ।’
डा. चौधरीले राहतका लागि सरकारसँग पहल भइरहेको बताए । ‘तुरुन्त राहत दिनका लागि हामी सँगै स्रोत छैन । त्यसका लागि छुट्टै बजेट छुट्याउनुपर्छ । यसमा पहल भइरहेको छ,’ उनले भने, ‘सबैलाई राहत दिन अर्ब पैसाले पनि नपुग्ने जस्तो अवस्था छ तर हामीले पुनःस्थापनाका लागि केही सोचिरहेका छौं ।’

जैमिनीमा बढ्दो बसाइँसराइ : दुई वर्षमा १७०९ जनाले गाउँ छाडे

घाँस काट्ने क्रममा लडेर दुई जनाको मृत्यु

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

माझफाँट–लेकफाँट सडक कालोपत्र

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

प्रतिक्रिया