आइतबार १५ असार, २०८२
Sunday, June 29, 2025

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढे बारले आन्दोलन गर्ने

काठमाडौं– नेपाल बार एशोसिएसनले अबको दश दिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

बारले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रधानन्यायाधीश नियुक्तिका विषयमा बिहीबार प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने र दशदिनभित्र नियुक्ति प्रक्रिया अघि नबढे आन्दोलन गर्ने जनाएको हो । पत्रकार सम्मेलनमा नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपालिका नेतृत्वविहीन भएको एक वर्षसम्म पनि प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि नबढेको भन्दै अब बार चुप लागेर नबस्ने बताए ।

उनले व्यवस्थापिका र कार्यपालिकाले सर्वोच्च लगायतका न्यायपालिकालाई हेपेको बारको ठहर रहेको जिकिर गरे । उनले सात देखि १० दिन सम्म प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढे आन्दोलनका कार्यक्रम सार्वजनिक गरेर अघि बढ्ने स्पष्ट पारे ।

त्यस्तै घिमिरेले लामो समयदेखि सर्वोच्चमा प्रधानन्यायाधीश र न्यायाधीश रिक्त रहेको, उच्च अदालत र जिल्लामा समेत न्यायाधीश खाली रहेकाले संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बताए । उनले अदालतको पेशी पूर्ण रुपमा स्वचालित प्रणालीबाट हुनुपर्ने, प्रधानन्यायाधीशमाथिको महाभियोगलाई किनारा लगाउनुपर्ने लगायतका विषयलाई सम्बन्धित निकायले गम्भीर रुपमा लिनुपर्ने बताए ।