सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

सीताको टोर्नाडोजविरुद्ध रुविनाको बर्मी आर्मीको शानदार जित

काठमाडौँ- हङकङमा जारी फेयर ब्रेक इन्भिटेसनल टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा रुविना क्षेत्रीसम्मिलित बर्मी आर्मीले सीता राना मगरको टोर्नाडोजविरुद्ध शानदार जित हात पारेको छ ।

आज भएको खेलमा बर्मी आर्मीले टोर्नाडोजलाई १० विकेटले पराजित गर्‍यो । १ सय ६१ रनको लक्ष्य बर्मी आर्मीले १५ ओभर ४ बलमा पूरा गर्‍यो । बर्मी आर्मीलाई जित दिलाउन कप्तान लौरेन विनफिल्ड-हिलले ६४ बलमा अविजित रहँदै १७ चौका र ५ छक्काको मदतमा १ सय २० रन जोडिन् । लाउरा उलभार्ट ४० रनमा नटआउट रहिन् ।

टोर्नाडोजका लागि २ ओभर बलिङ गरेकी सीताले २६ रन खर्चिइन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टोर्नाडोजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६० रन जोड्यो । टोर्नाडोजका लागि सुने लसले ४३ बलमा सर्वाधिक ६५ रन तथा नतासा मिल्सले ४० रन बनाए । बर्मी आर्मीका लागि तारा नोरिस र फतिमा सानाले समान १-१ विकेट लिए ।

रुविनाले भने ३ ओभर बलिङ गर्दै २० रन खर्चिइन् ।