१५ महिनाको काम ६ वर्षमा पनि नगरेपछि शंकरमालीको ठेक्का तोडियो

काठमाडौँ- पुर्वाधार विकास कार्यालय भरतपुरले मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको सामरी खोला आमभन्ज्याङ र गढी जोड्ने पुल निर्माणको ठेक्का तोडेको छ । निमार्ण कार्यको ठेक्का लिएको नागार्जुन शंकरमाली जे.भीले समयमै काम नगरेको भन्दै पुर्वाधार विकास कार्यालयले चैत २ गते ठेक्का तोडेको हो ।
तत्कालिन जिल्ला विकास समितिसँग मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ र वडा नम्बर ३ जोड्नका लागि नागार्जुन शंकरमालीले २०७३ साल पुस ११ गते ५ करोड ३७ लाख ९२ हजार ३०५ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । उक्त सम्झौतामा २०७४ साल चैत १० गते निर्माण कार्य सक्ने उल्लेख छ ।
तर समयमै ठेक्का नसकिएपछि २०७५ चैत २६ गतेदेखि २०७६ असार ३० गतेसम्मका लागि ठेक्का म्याद थपियो । उक्त समयमा पनि ठेकेदार काम नगरेपछि दोस्रो पटक २०७६ फागुन ८ गतेदेखि २०७७ फागुन १९ गतेसम्म अर्को म्याद थप गरियो ।
ठेक्का तोडेको टिप्पणी आदेश ।
तर दुई पटक म्याद थप गरेपनि भौतिक रुपमा प्रगति भए पनि कुनै उल्लेख्य थप काम भने भएन । उक्त ठेक्काको काम ३२ प्रतिशत मात्रै सकिएको छ । ३२ प्रतिशत काम सकिँदा १ करोड ६७ लाख ७९ हजार ९२१ रुपैयाँ १० पैसा भ्याटसहित नागार्जुन शंकरमालीले भुक्तानी लिएको छ । पुर्वाधार कार्यालयकानुसार ठेकेदारले भुक्तानी लिएपछि हाल निर्माण कार्य बन्द रहेको छ ।
निर्माण व्यवसायीलाई कार्य प्रगति तथा ठेक्का व्यवस्थापन बैठक सम्बन्धमा पुर्वाधार कार्यालयले सम्पर्कका लागि पत्रसमेत पठाएको थियो । त्यसपछि पनि कम्पनीलाई काम सक्नका लागि २०७६ मंसिर २४ गते एक राष्ट्रिय दैनिक सूचनासमेत प्रकाशित गरेको थियो ।
नागार्जुन शंकरमालीले हालसम्म गरेको काम ।
पुर्वाधार विकास कार्यालय भरतपुरका निमित्त कार्यालय प्रमुख ई. वीरेन्द्र चौधरीले पटक पटक म्याद थप गर्दा पनि कम्पनीले काम नगरेपछि ठेक्का तोडेको इकागजलाई जानकारी दिए । हालसम्म चार वटा पिल्लर उठेको प्रमुख चौधरीले बताए । करिब दुई वर्षअघि पुलको काम गर्न खोज्दा जेठमा पानी परेर केही क्षति पुगेको चौधरीले बताए । 'त्यतिबेला ठेकेदार कम्पनीले काम गर्ने प्रयास गरेको थियो । तर पानीको कारण काम गर्न सकेन' चौधरीले इकागजसँग भने 'पछि उहाँहरूले काम नै गर्नु भएन ।'
ठेक्का तोड्नुभन्दा अघि ठेकेदारसँग कुरा गर्दा काम गर्छौँ मात्रै भनेको तर काम गर्ने कुनै संकेत नपाएपछि ठेक्का तोडेको चौधरीले बताए ।
ठेक्का तोड्नुभन्दा अघि बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलाल शरद नेतृत्वमा प्रदेश सचिव शंकर प्रसाद पण्डित, सम्बन्धित कार्यालयका प्रमुखसहितको टोलीले पुलको अवस्थाबारे स्थलगत निरिक्षण गरेका थिए ।
उक्त कम्पनीलाई प्रदेश सरकारले पनि म्याद थप्दा काम नगरेको मन्त्री दुलालले इकागजलाई बताए । ठेकेदारलाई वर्क सेड्युल दिएर काम गर्न आग्रह गर्दा नदिएपछि ठेक्का तोडेको मन्त्री दुलालले बताए । 'तपाईं काम गर्ने भए वर्क सेड्युल दिनुस् भन्यौँ । यो वर्क सेड्युल अनुसार काम गरेर हस्तान्तरण गर्छु भनेर दिनुस् भन्यौँ । वर्क सेड्युल अनुसार काम गर्नुभयो भने ठेक्का तोडे्ने हाम्रो रहर होइन् । कालो सूचीमा राख्ने हाम्रो उदेश्य होइन् भन्यौँ' मन्त्री दुलालले इकागजसँग भने 'यदी ठेक्का हातमा लिएर काम नगरी बस्ने हो भने मन्त्रालय टुलुटुलु हेरेर बस्दैन् । हामी नयाँ ठेक्कामा गएर विकास गर्नुपर्छ । कम्पनीले मौखिक रुपमा गर्छु त भन्नुभयो तर वर्क सेड्युल दिन सक्नु भएन् । काम गर्ने संकेत कुनै देखिएन् । काम गर्ने संकेत नदेखिएपछि हामीले ठेक्का तोडेका हौँ ।'
अनुगमन गर्दै बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलाल शरदलगायत ।
बागमती प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालय ढिलासुस्ती काम भएका आयोजनाहरूको निरिक्षण गरिरहेको छ । काममा ढिलाई गर्ने कम्पनीसँग छलफल गर्ने र निरिक्षण गरेर मन्त्रालय एक्सनमा उत्रिएको छ ।

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया