विराटनगरमा संक्रामक रोग अस्पताल बन्यो, तर बनेन सञ्चालन कार्यविधि

विराटनगर । तीन वर्षअघि कोभिड–१९ महामारी सुरु हुँदा कोशी प्रदेश सरकारले निर्माण गरेको कोभिड–१९ उपचार केन्द्र अहिले संक्रामक रोग तथा सघन उपचार केन्द्रमा रुपान्तरित भएको छ । तर त्यसको सञ्चालनको मोडल भने अहिले पनि टुंगिन सकेको छैन ।
खण्डहर बनेको नेशनल ट्रेडिङ लिमिटेडको भवन र अन्य संरचनालाई मर्मत सम्भार गरी तत्कालीन मुख्यमन्त्री शेरधन राईले २०७६ चैत २१ गते प्रदेश सरकारको स्वामित्वको कोभिड–१९ उपचार केन्द्र सञ्चालनमा आएको घोषणा गरेका थिए । त्यसपछि त्यहाँ कोभिड–१९ बाट संक्रमण भएका गम्भीर प्रकृतिका बिरामीहरूको उपचार गरिएको थियो ।
करोडौंको लगानी भएको उक्त स्वास्थ्य संरचनालाई कोभिड संक्रमण शून्यमा झरेपछि संक्रामक रोग तथा सघन उपचार केन्द्रमा रुपान्तरण गर्ने निर्णय गरिएको थियो । तर सरकारले संक्रामक रोग उपचार केन्द्रको पूर्णकालीन सेवा सञ्चालन गर्न आवश्यक पर्ने कार्यविधि भने अझै बनाउन सकेको छैन ।
तत्कालीन स्वास्थ्यमन्त्री जयराम यादवले कोभिड–१९ महामारीको जोखिम रोकिएको भन्दै २०७९ वैशाख ६ गते कोभिड–१९ उपचार केन्द्रलाई संक्रामक रोग तथा सघन उपचार केन्द्रमा परिणत गरिएको घोषणा गरी सेवा शुभारम्भ गरेका थिए ।
विराटनगर–१४ स्थित उपचार केन्द्रमा भेन्टिलेटरसहितको एचडियू सेवा र अन्य स्वास्थ्य संरचनाहरू सञ्चालनकै अवस्थामा रहेका छन् । हाल एक जना मेडिकल अधिकृत, ७ जना स्टाफ नर्स र कार्यालय सहयोगी १५ जना कार्यरत छन् । त्यसका साथै प्रशासनतर्फ थप तीन जना कर्मचारी पनि सोही उपचार केन्द्रमा कार्यरत रहेको जनाइएको छ । प्रशासनबाहेकका सबै स्वास्थ्य जनशक्ति करार सेवाका हुन् ।
सघन उपचार केन्द्रलाई पूर्णरुपमा सञ्चालन गर्न र जनशक्ति व्यवस्थापनका लागि कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले कार्यविधि बनाउन नसक्दा कार्यरत जनशक्ति पनि अन्तैतिर खटाइएका छन् । अस्पतालको दरबन्दी संख्या पनि अन्याेल हुँदा विभाग अनुसारको सेवाप्रवाह हुन सकेको छैन ।
कोभिडजन्य केसहरूको समेत पहिचान गर्न भन्दै हाल स्वास्थ्य सेवा केन्द्र अन्तर्गत ज्वरो जाँच गर्ने क्लिनिक र अन्य बिरामीहरूका लागि चेकजाँच र सरकारले उपलब्ध गराउने नि:शुल्क औषधि वितरणको काम मात्रै भइरहेको संक्रामक रोग तथा सघन उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए । ‘बिरामीहरूलाई नि:शुल्क जाँच, एक्स–रे, इसीजी र प्रयोगशालाका अन्य परीक्षणपनि नि:शुल्क गर्दै आएका छौं’ उनले भने, ‘हामीसँग भएका चिकित्सक कर्मचारी र उपकरणहरूबाटै फिभर क्लिनिक सञ्चालन गरिएको छ, सघन उपचार केन्द्रका रुपमा सञ्चालनका लागि आवश्यक पूर्वाधार संरचना पनि तयार नै छ, तर पनि अस्थायी संरचनाका रुपमा सञ्चालन गरिरहनु परेको छ ।’
छिमेकी मुलुक भारतमा फेरी कोभिड–१९ को ओमिक्रोन भेरियन्टको संक्रमण बढ्न थालेको छ । तर प्रदेश सरकारको स्तरबाट सञ्चालित यो उपचार केन्द्रमा कोभिड संक्रमितको उपचारका लागि आवश्यक तयारी पनि अघि बढ्न सकेको छैन ।
आइसीयु र एचडियूमा कार्यरत चारजना अनुभवी नर्सहरू र चिकित्सकलाई पनि स्वास्थ्य मन्त्रालयले मन्त्रालय अन्तर्गतका अन्य जिल्ला अस्पतालहरूमा खटाएको पाइएको छ । कोभिडको थप संक्रमण बढ्न थालेका कारण संक्रामक रोग तथा सघन उपचार केन्द्र सञ्चालनका लागि आवश्यक कार्यविधि र निर्देशिकाहरू छिटो बनेर जनशक्ति व्यवस्थापन गर्नुपर्ने राजवंशीले बताए । कोभिड–१९ को महामारीलाई ध्यान दिएर जनशक्ति र उनीहरूको सेवा सुविधाको व्यवस्थापन गर्दै लैजानुपर्ने उनले बताए ।
यता कोशी प्रदेश सरकारकी स्वास्थ्यमन्त्री निर्मला लिम्बुले कार्यविधिलाई अन्तिम रुप दिएर मन्त्रिपरिषद्मा लैजानेबारे छलफल भइरहेको बताएकी छन् । उनले कोभिड–१९ को संक्रमण जोखिमलाई समेत ध्यान दिएर मन्त्रालय अन्तरगतका सबै जिल्लाका स्वास्थ्य सेवा प्रदान गर्ने कार्यालयहरूका कार्यालय प्रमुखहरूको बैठक बोलाइएको जानकारी दिइन् ।
‘प्रदेशभरको स्वास्थ्य क्षेत्रको सम्पूर्ण रिपोर्टिङका लागि सम्बन्धित कार्यालयहरूसँग बैठक बोलाइसकेको छु’ मन्त्री लिम्बुले भनिन्, ‘सघन उपचार केन्द्रको सञ्चालनमा देखिएका कठिनाईबारे पनि छलफल गर्दैछु, कार्यविधिलाई चाँडो क्याबिनेटमा लैजाने तयारी भइरहेको छ ।’
सघन उपचार केन्द्रमा आवश्यक पहुँच सडक र पूर्वाधारहरू पनि निर्माण भइसकेका छन् । हाल ९६ बेड चालु अवस्थामा छन् । जसमा आइसीयू २१ बेड, एचडीयू ४७ बेड र जनरल बेड २८ वटा तयारी अवस्थामा रहेको राजवंशीले बताए । त्यसका साथै दैनिक झण्डै तीन सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमताको अक्सिजन प्लान्ट चालु अवस्थामा रहेको जनाइएको छ ।

विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’

बाढीले बेलिब्रिज बगायो

झापाको बिजनेस टावरमा सर्वसाधरणको आकर्षण

एक वर्षमा एक हजार ७९ घरेलु तथा साना उद्योग थपिए

पुस्तक बिक्रीबाट संकलित रु १२ करोड आविष्कार केन्द्रलाई

करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

हल्दिबारीका चिया बगानमा ‘लुपर’को प्रकोप

प्रतिक्रिया