गण्डकी प्रदेश ट्रायथोलन संघ गठन, अध्यक्षमा देवकोटा

कास्की- राष्ट्रिय खेलकुद परिषद्मा खेल सङ्घका रुपमा रहेको नेपाल ट्रायथोलन सङ्घले प्रादेशिक तहमा सङ्घलाई विस्तार गरेको छ । ट्रायथोलन खेलको प्रचुर सम्भावना रहेको गण्डकी प्रदेशमा खेलको विकास, विस्तार र देशका लागि आवश्यक राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्यसहित पहिलो पटक नेपाल ट्रायथोलन सङ्घ गण्डकी प्रदेश समिति गठन गरिएको हो ।
जिल्ला खेलकुद विकास समिति कास्कीका पूर्वअध्यक्ष समुन देवकोटाको अध्यक्षतामा गठन गरिएको समितिको उपाध्यक्षमा डिल्लीराज सुवेदी, सचिव विरेन शेरचन, सहसचिव अनिता रानाभाट र कोषाध्यक्षमा डिमबहादुर(देवेन्द्र) केसी चयन भएका छन् ।
यसैगरी समितिको सदस्यमा कृष्ण दवाडी, प्रमिश ताम्राकार, धनन्जय वाग्ले, सविना महर्जन र उज्वल शर्मा रहेका छन् । नवगठित समितिका अध्यक्ष देवकोटाले गण्डकीमा ट्रायथोलन खेलको विकास, विस्तार र नयाँ खेलाडी उत्पादनसहित प्राविधिक जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता जनाए ।
उनले भने 'पोखरामा हरेक वर्ष ट्रायथोलनको अन्तर्राष्ट्रिय प्रतियोगिता हुने गर्दछ तर प्राविधिक जनशक्ति, साधनन स्रोत सबै केन्द्रबाट ल्याउनुपर्ने अवस्था छ । अब पोखरामै हरेक कुराले सम्पन्न हुने गरी काम गर्नेछौँ । खेलको विस्तारमा लाग्नेछौँ ।'
नेपाल ट्रायथोलन सङ्घका केन्द्रीय अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले देशको सङ्घीय संरचना र पछिल्लो पटक जारी गरिएको खेलकुद विकास ऐनअनुसार गठन गरिएको पहिलो प्रादेशिक समितिले आफ्नो काम प्रभावकारीरुपमा कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे ।
सुन्दर ताल तलैया र खेलका लागि आवश्यक पूर्वाधारका कारण पोखरा ट्रायथोलन खेलको हब बन्न सक्ने प्रचुर सम्भावना रहेको उनले औँल्याए । उनले भने, 'ट्रायथोलन विदेशमा समुद्रमा खेलिने गरिन्छ तर नेपालमा समुद्र नभए पनि फेवाताल, बेगनासजस्ता तालहरु भएकै कारण यहाँ प्रकृतिले समेत साथ दिएको छ । पोखरा ट्रायथोलनको अन्तर्राष्ट्रिय गन्तव्य बन्न सक्ने धेरै सम्भावना देखिसकेका छन् ।'
सङ्घले पोखरामा बर्सेनि एशिया ट्रायथोलन कप र साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप आयोजना गर्दै आएको छ । आगामी दिनमा यसको व्यवस्थापनका लागि गण्डकी सङ्घसक्षम हुने विश्वास व्यक्त गर्दै श्रेष्ठले केन्द्रबाट आवश्यक सम्पूर्ण सहयोग उपलव्ध गराउने विश्वास व्यक्त गरे ।
नेपाल ट्रायथोलन सङ्घका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेशका निर्वतमान प्रदेशसभा सदस्य दीपक कोइरालाले ओलम्पिक खेलका रुपमा रहेको ट्रायथोलनको खेल विकासका लागि नियमित प्रतियोगिताको आवश्यकता औँल्याए । प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङले नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गरे । जिल्ला खेलकुदमा सुमन देवकोटाले नेतृत्व लिँदा खेल क्षेत्रले कोल्टे फेरेको स्मरण गर्दै गण्डकी प्रदेशमा ट्रायथोलन खेल विस्तारमा नवगठित समिति सक्षम हुने भनाइ राखे ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले पोखरा ट्रायथोलनका लागि देशकै हब बन्न सक्ने बताए । नवनिर्वाचित सङ्घलाई जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख डिबी नेपाली, गण्डकी प्रदेश भलिबल सङ्घका कार्यबाहक अध्यक्ष हरिकुमार श्रेष्ठलगायतले शुभकामना व्यक्त गरेका थिए ।
नेपाल ट्रायथोलन सङ्घले पोखरामा बर्सेनि एशिया ट्रायथोलन कप र साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप आयोजना गर्दै आएको छ । यही चैत १८ र १९ गते यी दुवै प्रतियोगिताको तेस्रो संस्करण यहाँ सम्पन्न भए । सन् २०१९ मा सुरु भएको ट्रायथोलन एशिया कप सन् २०२० र २०२१ मा विश्वभर फैलिएको कोभिड महामारीका कारण हुन सकेन । सन् २०२२ देखी हुन यसलाई निरन्तरता दिइएको छ ।
प्रतियोगिताले पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ । प्रतियोगितामा बर्सेनि विदेशी खेलाडीको सहभागिता बढ्दै जाँदा यसले खेल पर्यटनमा सहयोग गरेको खेलकुदकर्मीको भनाइ छ । रासस

जैमिनीमा बढ्दो बसाइँसराइ : दुई वर्षमा १७०९ जनाले गाउँ छाडे

घाँस काट्ने क्रममा लडेर दुई जनाको मृत्यु

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

माझफाँट–लेकफाँट सडक कालोपत्र

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

प्रतिक्रिया