आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने

विश्‍वासको मतको विपक्षमा मतदान गर्न अन्य दललाई पनि आह्‍वान

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने पहल गर्ने निर्णय गरेको छ । गत चैतमा कांग्रेसको केन्द्रीय समितिले गरेको निर्णयलाई आधार मानेर संसदीय दलले पार्टी नेतृत्वमा सरकार निर्माण गर्ने पहल गर्ने निर्णय लिएको हो । 

ओली सरकारको विकल्प खोज्‍ने अत्यावश्यक भएकाले नेपाली कांग्रेस अब नयाँ सरकार गठनको पहलमा उत्रेको जानकारी दिइएको छ । त्यसका लागि कांग्रेस आफैँले पहल गर्ने पनि जनाएको छ । कांग्रेस दलको शनिबार बसेको बैठकले काँग्रेसले वैकल्पिक सरकार बनाउने निर्णय लिएको प्रमुख सचेतक बालकृष्ण खाँणले बताए । 

उनका अनुसार बैठकले आशन्‍न  प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्‍वासको मतमाथि हुने मतदानमा विपक्षमा मतदान गर्ने र ओलीलाई असफल पार्ने निर्णय लिएको छ । त्यसपछि आफ्नो नेतृत्वमा सरकार बनाउनको लागि पहल गर्ने निर्णय  गरेको पनि उनले बताए । पहिलो कदमको रूपमा ओलीको प्रस्तावको विपक्षमा मतदान गर्न अन्य दललाई पनि आग्रह गर्ने र ओलीको असफलतापछि तत्काल आफ्नो नेतृत्वमा सरकार गठनमा जाने निर्णय पनि संसदीय दलले गरेको उनले बताए । 

उनले अन्य दलहरूलाई पनि प्रस्तावको विपक्षमा मतदान गर्न आव्हान गर्ने निर्णय भएको जानकारी दिए। काँग्रेसले प्रधानमन्त्री ओलीले आफैले राखेको प्रस्ताव असफल हुने निश्‍चित भएको भन्दै अविश्‍वासको प्रस्ताव ल्याउन आवश्यक नरहेको बताए । 

केन्द्रीय समितिको बैठकमा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जटिल परिस्थितिमा पार्टी सभापति शेरबहादुर देउवाले भूमिका खेल्नुपर्ने धारणा राखेका थिए । कार्कीले भने, ‘मुलुक अन्यौल, अस्थिरता हुँदै दुर्घटनातिर जाँदैछ, त्यसमा कांग्रेस र सभापति देउवाले त्यो परिस्थिति जान नदिन भूमिका खेल्नुपर्छ ।’

त्यसअतिरिक्त कार्कीले लोकतन्त्र र संविधानकै धज्जी उडाउने गरी अध्यादेश जारी गर्ने र संवैधानिक अंगलाई ध्वस्त पार्ने ओली खेलको पनि प्रतिवाद गर्नुपर्ने धारणा राखेका थिए । कार्कीको भनाइ थियो, ‘सरकार संसद निर्मित कानुनद्वारा होइन कि अध्यादेशद्वारा स्वेच्छाचारी शासन गर्न तल्लिन छ । यसले राज्यका सबै अंगलाई ध्वस्त पार्ने हुँदा यस्ता असंवैधानिक खेल र त्यसमा संलग्‍न पात्रहरूका क्रियाकलापलाई प्रतिवाद गर्नुपर्छ ।

उनले विश्‍वासको मतको प्रस्ताव असफल भएपछि प्रधानमन्त्री ओलीले कुनै असंवैधानिक काम गरे त्यसको विरोधमा आन्दोलन गरिने चेतावन दिए। उनले राष्ट्रपति विद्यादेवी भण्डारी पनि मर्यादामा बस्‍ने विश्‍वास व्यक्त गरे। काँग्रेस संसदीय दलको बैठकले आइतबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा सहभागी नहुन सदस्यहरूसँग आग्रह गरेको छ।