राष्ट्रपतिले जोगाउलिन् त ओलीको प्रधानमन्त्री पद ?
नेपाल समूहको निष्कर्ष : यसपालि 'ओली जाल'मा परिँदैन

काठमाडौँ : कोभिड-१९ को महामारीबीच सत्तारुढ एमालेभित्रको विभाजनले उत्कर्ष रुप लिएको छ । त्यो विभाजन रोक्न राष्ट्रपति विद्यादेवी भण्डारी लागेकी छन् । उनले समग्र पार्टी हितभन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको जोगाउन राष्ट्रपतिकै पद दुरुपयोग गरेको आरोप एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षधरको छ ।
नेपाललाई बिहीबार साँझ भेट्न बोलाएर उनले प्रधानमन्त्रीको पक्षबाट वकालत गरेपछि अन्य नेताहरू सशंकित भएका छन् । उनले सिँधै कारबाही फिर्ता गर्ने पार्टी अध्यक्षले भनिसकेपछि नमिल्ने कुरो के छ र मिल्न सुझाएकी थिइन । उता राष्ट्रपति-नेपालबीच वार्ता भइरहँदा यता प्रधानमन्त्री ओलीसँग दोस्रो तहका नेताहरु पनि भेट वार्तामा थिए ।
नेपालले आफूहरूले विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले चाहेको बताउँदै उनले भण्डारीसँग भने, ‘नमिल्ने कसले भनेको छ ? उहाँले आफ्नो सीमित स्वार्थका लागि हामीलाई पाखा लगाउनु भएको छ ।’ नेपालले वार्ता र लचकता दुवै अपनाउने उनले सामाजिक सञ्जालमा समेत लेखेका छन् ।
‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले चाहन्छौँ किनकि यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउँछौं, तर कुनै सहमति भएको छैन,’ नेपालले लेखेका छन् ।
राष्ट्रपतिसँग भेट, त्यहाँ भएका वार्तालापबारे नेपालले निकटस्थ छलफल गरेका थिए । २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व ‘बटम-लाइन’ भएको समेत उनले राष्ट्रपपतिलाई भनेका थिए । त्यसपछिका कथित बैठक र निर्णयलाई अस्वीकार गर्ने अडान पनि व्यक्त गरेका थिए । उनको यो धारणापछि नेपाललाई राष्ट्रपतिले भनेकी थिइन्, ‘अध्यक्षको रुपमा लिइएको निर्णयलाई पूर्ण बदर कसरी गर्ने र ? त्यसमा नपरी सँगै बसेर मिलाउँदै जान आवशयक छ ।’
नेपाल निकट अर्का नेताका अनुसार, यतिबेला ओलीले जसरी भए पनि फकाएर राष्ट्रिय सभामा गृहमन्त्री रामबहादुर थापालाई जिताउने र संसद्मा विश्वासको मत लिने तयारी गरेका हुन् । त्यो रणनीतिमा राष्ट्रपतिले साथ दिएकी हुन् । नेकपा माओवादी केन्द्र छाड्दै एमाले प्रवेश गरेपछि गृहमन्त्री थापालाई प्रधानमन्त्री ओलीले पार्टीमा महत्वपूर्ण पदका अतिरिक्त बागमती प्रदेशको राष्ट्रिय सभा उम्मेद्वार बनाएका छन् ।
राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षसँग मिलेर साझा उम्मेद्वार बनाएका छन् । सँगै रामबहादुर थापा हार्ने स्थितिमा पुगेका छन् । रातारात वार्ता गर्न दौडिएका ओली पछिल्लो समय आफैँ ‘डिफेन्सिभ’ बनेका छन् । ‘ओलीलाई पार्टीको माया थियो भने त उनले आफ्नो आलोचना गर्ने सबैलाई तह लगाउने शैलीमा किन अघि बढ्थे’ भन्दै नेपालले राष्ट्रपतिलाई सुनाएका थिए ।
राष्ट्रपतिसँग लामो कुरा गरेका नेपालले आफ्नो अडानमा राष्ट्रपतिलाई सहमत गराउन सकेनन् । राष्ट्रपति भण्डारीले पनि ओलीको पक्षमा नेपाललाई सहमत गराउन सकिनन् । यो जनाकारी दिएका उनले सामाजिक सञ्जालमा पनि लेखेका छन्, ‘यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन सबैलाई आह्वान गर्दछौं ।’
यही विषयमा घनश्याम भुषालसँग जिज्ञासा राख्दा इकागजसँग उनले भने, ‘वार्ता चलिरहेका छन् । तर हाम्रो मागमा कुनै सुनुवाई भएको छैन । हामी कुनै हालतमा पनि उनले २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरूलाई स्वीकार गर्दैनौँ ।’ भुषालले भने, ‘त्यसयता भएका सबै निर्णयहरू फिर्ता लिनुपर्छ । हाम्रो माग या अडान त्यही हो ।’
ओलीले गलत काम नसच्चाएमा नेपाल-खनाल समूह विद्रोहकै पक्षमा छ । भुषालले भने, ‘हामी सबै सांसदले राजीनामा दिने तयारी छ । हामीले राजीनामा दिँदा सहज हुन्छ कि फ्लोर क्रस भन्नेमा छलफल भइरहेको हो । अब, राजीनामा नै दिने सोचमा छौँ ।’ पार्टी भनेको अध्यक्षको मात्र हो र ?’ भुषालले भने, ‘उहाँले मात्र निर्वाचन जितेर आउनु भएको अरु चाहिँ उहाँले नियुक्त गरेको झैँ कुरा गरेर हुन्छ ? हामीले समानान्तर संरचना होइन एमालेलाई चलाएमान बनाएका हौँ । समानान्तर संरचना हाम्रो चाहना पनि होइन । उहाँकै गतिविधिले दल यो अवस्थामा आएको भन्दै त्यसमा सच्याइनुपर्छ ।’
पार्टीमा समानान्तर संरचना बनाएको ओली इतर समूहले विपक्षी दलको बहुमत पुर्याउने अवस्था आएपछि राष्ट्रपति भण्डारी र ओली नयाँ खाले दाउपेचमा हुन । २७ वैशाखमा प्रधानमन्त्रीले विश्वासको मत लिनु अगाडि त्यो गठबन्धन बन्ने देखिन्छ । विपक्षी दलहरुको बहुमत पुग्ने गरी सांसदहरुको राजीनामा दिने भएपछि ओली अत्तालिएको पनि उनीहरुको बुझाई छ ।
ओली इतर समूहका नेताहरु भन्छन्, ‘संकटमा परेको बेला फकाउँदै सत्ता टिकाउने र फेरि घोक्राउने ओलीको रकमी दाउ हामीले नबुझेको होइन । हामी उनको रकमी खेलेमा पर्नेवाला छैनौँ । उनीसँग उधारोमा केही पनि हुँदैन, जे हुन्छन् लिखित रुपमा र लागू गर्ने मितिसहित सम्झौता हुनुपर्छ । ओलीले हरेक पटक असहज पर्दा फकाएका हुन् र शक्तिमा आएपछि हामीलाई निचोर्न कुनै कसर बाँकी राखेनन् ।’ उनीहरुको निस्कर्ष छ, ‘यसपल्ट ओली जालमा परिँदैन । पार्टीमा एउटा समूहका हितमा एकलौटी निर्णय लिने अनि संकट पर्दा वार्ता गर्दै हिँड्नुको कुनै तुक छैन ।’

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया