दुई दशकपछि सुरु भएकाे धोबीखोला करिडोरकाे निर्माण झन्डै ९६ प्रतिशत

काठमाडौँ- निर्माण सुरु भएको दुई दशकपछि धोबीखोला करिडोर निर्माण झन्डै ९६ प्रतिशत सकिएको छ ।
पछिल्लो समयमा कार्यक्षेत्र केही बढाइएको भए पनि पहिलेको अनुसार करिडोर निर्माणको प्रगति ९६ प्रतिशत पुगेको काठमाडौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ । मर्मतका केही काम बाँकी रहेकामा अहिले भइरहेको प्राधिकरणका इञ्जिनियर सज्जन कुँवरले जानकारी दिए ।
सङ्खमूलबाट कपनसम्मको करिडोरमा हाल निलो पुल नजिकै पाँच/छ घर अधिग्रहण गर्न बाँकी रहेको इञ्जिनियर कुँवरले बताए । सो क्षेत्रमा जग्गा अधिग्रहण गरेर सडक खोल्न बाँकी रहेको छ भने बूढानीलकण्ठ नगरपालिका–२ मा पहिरो जाने खण्डमा पनि निर्माणको काम थोरै बाँकी रहेको छ । उनले भने, 'झन्डै पाँच सय मिटर सडक खोल्न बाँकी छ ।'
करिडोरमा पर्ने पुल निर्माणको काम कुनै प्रदेश सरकार त कुनै सङ्घीय सरकारको डिभिजन सडक कार्यालयले गरिरहेका छन् । करिडोरमा प्राधिकरणले पैदलयात्रु मार्ग बनाएको थियो । विभिन्न संरचना निर्माणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र नेपाल विद्युत् प्राधिकरणले पैदलयात्रु मार्ग भत्काएको छ । उनले भने, 'जुन–जुन निकायले बिगार्ने र भत्काउने गरेको छ उसले नै बनाइरहेको छ । कतै भइसकेको छ र कतै भइरहेको छ ।'
करिडोरमा नै पुलमुनिको सडक (अन्डरपास)ले गर्दा मुख्य सडकको सवारी चाप व्यवस्थापनमा सहयोग पुगेको छ । यी अन्डरपासमा वर्षाको समयमा भने सडकमा पानी जम्ने समस्या छ । पुलमुनि पानी जाने ठाउँ नभएकाले वर्षाले सडक डुब्नु स्वाभाविक भएको इञ्जिनियर कुँवरले बताए । उनका अनुसार आधा/एक घण्टा पानी पर्दा सडक तत्काल डुबे पनि केही समयपछि पुनः पानी खोलामा गएर सडक चालु हुने गरी मिलाइएको छ ।
उनले भने, 'सकेसम्म सडकमा पानी धेरै नजमोस् भनेर तर खोलाको सतह घटेपछि पानी हट्ने गरेर मिलाइएको छ ।'
पहिले झन्डै २४ किमी सडक निर्माण गर्ने गरी योजना सुरु भए पनि पछिल्लो समयमा कार्यक्षेत्र विस्तार गरिएको छ । पहिले करिडोर योजनामात्रै रहेकामा हाल धोबीखोला करिडोर तथा कपन बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना बनाइएको छ ।
उपत्यकाको मुख्य सडकको सवारी चाप व्यवस्थापन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले विसं २०५९ वैशाखमा सो करिडोरको निर्माण सुरु गरेको थियो । विसं २०६४ पुसदेखि प्राधिकरण (तत्कालीन काठमाडौँ उपत्यका नगर विकास समिति)ले निर्माण गर्दै आइरहेको छ । करिडोरको निर्माण सम्पन्न हुन लागे पनि सडक अरु निकायको संरचनाका कारण यात्रुले सजिलो रूपमा हिँड्न पाइरहेका छैनन् ।
विगतमा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीहरूले सो करिडोरका विषयमा चासो देखाएर स्थलगत निरीक्षण गरेका थिए ।
सहरी विकास मन्त्रालयले धोबीखोलासँगै बागमती, मनोहरा, हनुमन्तेलगायतका नदीमा समेत करिडोर निर्माण अघि बढाइरहेको छ । नदीको दुवैतर्फ निर्माण हुने करिडोरले मुख्य सडकको जाम कम गर्न सहयोग गरेका छन् । रासस

लहानको मुख्य बजार क्षेत्रमा तत्काल सडक निर्माण गर्न माग

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

प्रतिक्रिया