बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

खप्तड क्षेत्रमा एक फिट हिउँ

कैलाली । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा हिमपात भएको छ। हिमपातसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ।

आइतबार रातिदेखि खप्तड क्षेत्रमा हिमपात भएको हो। यो वर्ष खप्तडमा हिउँ परेको यो तेस्रो पटक हो । हिउँले राति र बिहानको समयमा खप्तडलगायत अन्य आसपासका क्षेत्रमा चिसो बढेको हो। हिउँले खप्तडमा डाँडाकाँडा रमणीय भएका छन्।

हिउँ करिब एक फिट जति परेको खप्तड झिग्राना घरबासका सञ्चालक दीपकबहादुर खड्काले बताए। उनले खप्तडलगायतका क्षेत्रमा एक फिट हिउँ परेको बताउँदै हिमपातका कारण चिसो निकै बढेको बताए । हिमपातले खप्तड क्षेत्रको दृश्य निकै मनोरम भएका कारण यहाँ घुम्न आउने पर्यटकका लागि निकै रमाइलो हुने खड्काले बताए ।

हिमपातका कारण यहाँको टेलिफोन सम्पर्क समेत विच्छेद भएको खप्तड राष्ट्रिय निकुञ्जका वार्डेन गोपाल घिमिरेले बताए । उनले खप्तड घुम्न गएका पर्यटकहरु फर्किसकेको बताउँदै अहिले खप्तड क्षेत्रमा हिमपात जारी नै रहेको बताए ।