संक्रमितकाे शव बढेपछि छिटो मर्मत गर्नुपर्ने अवस्थामा विद्युतीय शवदाह यन्त्र

काठमाडाैँ : पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृह निरन्तर चलाउनुपर्दा छिटो तातेर मर्मतसम्भार गरिरहनुपर्ने भएको छ । कोरोना सङ्क्रमण भई मृत्यु भएकालाई नेपाली सेनाको सुरक्षामा विद्युतीय शवदाह गृहमै जलाइने गरिएको छ । विद्युतीय शवदाह गृहमा हाल कोरोनाबाट मृत्यु भएका बाहेकको शवदाह गरिँदैन ।
दैनिक कोरोनाबाट मृत्यु भएका ३० भन्दा बढी शव आउन थालेपछि यन्त्र चलिरहँदा तातेका कारण मर्मत गरिरहनु परेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिए । कोरोनाबाट प्रभावित भई दैनिक मर्नेको सङ्ख्या बढेपछि पशुपति क्षेत्रमा पनि शवदाह गराउन ल्याउने क्रम बढेको हो । केही दिनअघि विद्युतीय शवदाहको एक नं यन्त्र मर्मत गरिएको थियो ।
धेरै तातेका कारण आज विद्युतीय शवदाहको दुई नं यन्त्र पनि मर्मत गर्न लागिएको उनले बताए । तीन दिनमा मर्मत सकिने जनाइएको छ । सामान्य अवस्थामा विद्युतीय शवदाह गृह तीन महिनामा मर्मत गरे हुने गरेकामा कोरोनाबाट मृत्यु भएका शव धेरै आएर छिटो मर्मत गर्नुपरेको हो । काठमाडौँ महानगरपालिकाको सहयोगमा दुई यन्त्र राख्न बस्तीले रोक्यो । महानगरपालिकाले दुई विद्युतीय शवदाह यन्त्र राख्न रु १५ करोड आर्थिक सहयोग गर्ने सम्झौता गत वर्ष भएको थियो ।
हाल शवदाह गृह रहेको पारिपट्टि तिलगङ्गा क्षेत्रमा निर्माण गर्न लागिएको अर्को विद्युतीय शवदाह गृह बस्ती हटाउन नसकिएका कारण काम अघि बढ्न नसकेको सदस्यसचिव ढकालले बताउनुभयो । अधिग्रहणमा परेको सो बस्ती हटाउन मुआब्जा वितरण भइसकेको छ । यहाँबाट बस्ती हटाएकालाई गोठाटारमा रहेको कोषको जग्गामा जग्गा एकीकरण (ल्यान्ड पुलिङ) गरी बस्ती बसाउने कार्यक्रम छ ।
भवनसहित विद्युतीय शवदाह गृहसहित दुई नयाँ यन्त्र राख्न बोलपत्र आब्हान भइसकेर पनि स्थान खाली नभएकै कारण रोकिएको छ । थप दुई यन्त्रसहित नयाँ विद्युतीय शवदाह गृह समयमै बनाउन सकिएको भए महामारीको यो घडीमा शवदाह गर्न समस्या नपर्ने कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताए । रासस

शिकारीबासमा फोन गर्न रुख चढ्नुपर्ने !

निकुञ्जको अतिक्रमित क्षेत्रमा सेनाको पोष्ट स्थापना

वातावरण संरक्षण पुरस्कार महानिर्देशक कँडेललाई

'६०० मिलियन वर्ष पहिले एक दिन २४ घण्टा होइन, २१ घण्टाको हुन्थ्यो'

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

प्रतिक्रिया