साइबर अपराधविरुद्ध मुद्दा दर्ता गराउन काठमाडौं आउनुपर्ने व्यवस्था अन्त्य हुनुपर्छ : उपाध्यक्ष अर्याल

काठमाडौं– राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले साइबर अपराधविरुद्धकाे मुद्दा दर्ता गराउन काठमाडौं नै आउनुपर्ने प्रावधान गलत भएको बताएकी छन् ।
मंगलबार महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले ११३ औँ अन्तर्राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा साइबार अपराधसम्बन्धी आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष अर्यालले यस्ताे टिप्पणी गरेकी हुन् ।
उनले साइबर अपराधविरुद्धको मुद्दा काठमाडौंमा मात्र दर्ता हुने व्यवस्थाले साइबर पीडितलाई थप पीडा दिएको बताइन् । राज्य डिजिटल प्रविधिबाट गरिने अपराधविरुद्ध संवेदनशील हुन आवश्यक रहेको उनको भनाइ थियो ।
‘डिजिटल प्रविधिको पहुँचमा विस्तार हुनुपर्छ भन्ने कुरा एक ठाउँमा छ । तर, यसले कतिलाई आक्रान्त पारिरहेको छ,’ उनले भनिन्, ‘साइबर अपराधविरुद्धको मुद्दा काठमाडौंमा मात्र हुन्छ, बाहिर हुँदैन भन्ने कुराप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।'
पीडितले आफ्नै ठाउँबाट पनि साइबरविरुद्ध जाहेरी दिन पाउने प्रावधान ल्याउन आफूले सकेको पहल गर्ने बताउँदै उनले भनिन्, ‘यसका लागि मैले आफ्नो ठाउँबाट कति सक्छु पहल गर्ने छु । उस्तै परे आइजीपी साहेब, गृहमन्त्रालयलगायत विभिन्न निकायसँग भेटेर यसको कार्यान्वयनका लागि ध्यानाकर्षण गराउने छु ।’
त्यस्तै, उनले आमाको नामबाट सहजै नागरिकता नपाइने संवेदनशीलतालाई आफूले गम्भीर रूपमा लिएको बताइन् । नागरिकता पीडितहरूको दुःख देख्दा आफूलाई पनि रुँरुँ लाग्ने गरेको सुनाइन् । जिम्मेवार पदमा आसिन व्यक्तिहरू संवेदनशील नभइदिँदा पीडितहरूले नागरिकता नपाएको उनको ठम्याइ थियो ।
‘कहिलेकाहीँ के हुँदोरहेछ भने महिला अधिकारको कुरा गरिरहँदा संवेदनशील पदमा बस्ने व्यक्तिले आफ्नो पदको मर्यादाअनुसार काम गर्न नसक्दा अत्यन्त पीडा हुन्छ,’ उनले भनिन् ।
निर्णायक पदमा हुने व्यक्तिहरू गम्भीर नभइदिँदा एकदमै सरल ठाउँमा पुगिसकेको उपलब्धि देशले गुमाउनु परेको उनकाे ठहर छ । नयाँ संसद्ले नागरिकता विधेयकलाई छिट्टै पारित गरेर कानुन बनाउनेमा आफू आशावादी मात्र नभइ विश्वस्त गरेको उनकाे भनाइ छ ।
‘त्यो विधेयक संसद्मा लैजानुपर्छ भन्ने विषयमा जुन जुन दलहरूबीच समझदारी थियो, अहिले त्यो शक्ति फेरि एकजुट भएको छ,’ उनले भनिन्, ‘त्यसैले नागरिकता विधेयक छिट्टै पारित भएर कानुन बन्छ भन्नेमा म आशावादी र विश्वस्त दुवै छु ।’
‘मबाट महिलावाद’ मुल नारा रहेको उक्त कार्यक्रममा काठमाडौंका विभिन्न कलेजमा कानुन पढ्ने विद्यार्थीले साइबर अपराधसम्बन्धी कविता, नाटकलगायतका सामग्री प्रस्तुत गरेका थिए ।
त्यस्तै, मुल नारामा रहेर स्ट्यान्डअप कमेडियन सीता न्यौपाने र गायिका समृद्धी राईले पनि आफ्नो प्रस्तुति दिएका थिए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया