शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

नागरिक उन्मुक्तिले सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने, सरकारमा सहभागी नहुने

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने भएको छ । उन्मुक्ति पार्टीका नेता लालवीर चौधरीले आफूहरूले मुख्यमन्त्री शाहलाई समर्थन गर्ने जानकारी दिएका हुन् । 

तर, आफूहरू सरकारमा भने सहभागी नहुने उनले बताए । ‘हामी उहाँलाई विश्वासको मत दिन्छौँ, तर हाम्रा मागहरू पूरा नहुँदासम्म सरकारमा सहभागी हुँदैनौँ,’ चौधरीले इकागजलाई भने । 

बर्दिया–२ का प्रतिनिधिसभा सांसदसमेत रहेका चौधरीले आफ्नो पार्टीका माग पूरा गर्न कांग्रेस ​सकारात्मक रहेको उल्लेख गरे । उन्मुक्ति पार्टीले टीकापुर घटनामा दोषी ठहर भइ जेल जीवन बिताइरहेका रेशमलाल चौधरीसहित अन्य राजबन्दीको रिहाइको माग राखिरहेको छ । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आइतबार विश्वासको मतको प्रस्ताव पेस गर्दैछन् । 

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा चाैथाे ठूलो दल नागरिक उन्मुक्ति पार्टीसँग ७ सिट छ भने पहिलाे दल कांग्रेससँग १९ सिट छ । शाहले विश्वासको मत पाउन कम्तीमा २७ सांसदको समर्थन हुनुपर्छ । १० सिट रहेको माओवादी केन्द्रले यसअघि नै मुख्यमन्त्रीमा कांग्रेसका शाहलाई समर्थन गर्ने निर्णय गरिसकेको छ । 

माओवादी केन्द्र र उन्मुक्तिको साथ पाउने भएसँगै आइतबार शाहले विश्वासको मत पाउने पक्का भएको छ ।