भैरवकुण्डमा बाह्रै महिना पर्यटक

सिन्धुपाल्चाेक । यहाँको प्रख्यात धार्मिक तथा पर्यटकीयस्थल भैरवकुण्ड अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । समुन्द्र सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको भैरवकुण्डमा जनैपूर्णिमाका दिन मेला लाग्ने भए पनि अहिले बाह्रै महिना पर्यटक पुग्ने गरेका छन् । त्यसले गर्दा यहाँको चहलपहल बढेको छ ।
भोटेकोसी गाउँपालिका–३ मा अवस्थित भैरवकुण्डको दर्शन गरेका मनले चिताएका पूरा हुने जनविश्वास रहेको छ । भैरवकुण्ड पर्यटक पदमार्गका लागि निकै आकर्षक ठाउँ हो । कुण्डबाट देखिने हिमशृङ्खलाको मनमोहक दृश्यले जो कोहीलाई रोमाञ्चित बनाउँछ । अहिले स्वदेशी तथा विदेशी पर्यटक भैरवकुण्ड पुग्ने गरेका स्थानीय देवबहादुर खड्काले बताए । सातामा सयौँको सङ्ख्यामा पर्यटक पुग्ने गरेको उनले बताए ।
बिदाको समयमा हिँउ खेल्नलगायत मनोरञ्जनका लागि यहाँ अहिले पर्यटक पुग्ने गरेका छन् । ‘आइस’ बनेको ताल, त्यहाँबाट देखिने विभिन्न हिमशृङ्खलाको मनोमोहक दृष्य अवलोकन गर्न पाइने भएकाले भैरवकुण्ड पर्यटकको रोजाइमा परेको काठमाडौँ हाइकिङ ग्रुपका संयोजक अनिरुद्र आचार्य बताउँछन् ।
अहिले हिउँदको समयमा सवारीसाधनमा डाक्लाङ, लिस्ती हुँदै चोकरमोकरसम्म पुग्न सकिन्छ । भैरवकुण्ड जाने बाटैमा पर्ने प्रसिद्ध लिस्तीमाइको दर्शन गर्दै जाने पर्यटकको सङ्ख्या बढेपछि अहिले यहाँका होटल व्यवसायी, यातायात व्यवसायीदेखि स्थानीय खुसी छन् ।
सवारी चालक विशाल माझी पर्यटक बढेपछि आफ्नोलगायत होटलको आम्दानी बढेको बताउँछन् । सडक सुधार गर्नसके अझै पर्यटक बढ्ने उनको विश्वास छ । सिन्धुपाल्चोकमा एक सयभन्दा धेरै कुण्ड तथा ताल रहेका छन् । काठमाडौँबाट नजिकै भएकाले पनि यहाँ रहेका धार्मिक तथा पर्यटकीयस्थलमा पर्यटक पुग्ने गरेका हुन्छन् । धार्मिक, आध्यात्मिक र प्राकृतिक हिसाबले रमणीय तथा सुन्दर भैरवकुण्ड पर्यटकको मनोकाङ्क्षा पूरा गर्ने उत्कृष्ट गन्तव्य बनेको सगरमाथा आरोही माया गुरुङको भनाइ छ ।
सिन्धुपाल्चोक पर्यटनको प्रशस्तै सम्भावना बोकेको जिल्ला हो । यहाँका अधिकांश स्थानीय तहले पर्यटन, कृषि, उद्योग र जलाधारलाई मूल नारा बनाएर काम गरिरहेका पाइन्छ । पर्यटन प्रवर्द्धनमार्फत स्थानीयको आयस्तर उकास्नका लागि टेवा पुग्ने सरोकारवालाको भनाइ छ ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया