दूध बेचेरै घरखर्च चलाउँछन् बर्दिबासका किसान

महोत्तरी। ‘दूध बेचेर नै मासिक १२ हजार रुपैयाँसम्म कमाउने गरेको छु । यदि दूध बेच्न पाइएन भने त घरायसी खर्चमा समस्या बनिहाल्थ्यो नि,’ यो भनाइ महोत्तरी बर्दिबासका किसान द्रोणबहादुर खड्काको हो ।
बिहान सबेरै उठेर खड्का गौरीडाँडा र बर्दिबास सहरमा पुगेर दूध बेच्ने गर्दछन् । बिहान दूध बेच्न जाने उनीमात्र एक्ला किसान होइनन् । उनीजस्तै गाउँका अन्य धेरै किसानहरु हुन्छन । जसले दूध बेचेर नै आफ्नो जीविकोपार्जन गर्दै आएका छन् ।
किसानका घर–घरमा नै पुगेर दुध लिने व्यक्ति पनि छन् । तर, धेरैजसो किसानहरु भने दुध आफैँ बजारसम्म पुर्याउने गर्छन् । जो आफैँले दूध बजारसम्म पुर्याउँछन्, उनीहरुले घरमै आएका दूध संकलकले दिनेभन्दा प्रतिलिटरमा ३० रुपैयाँ बढी पाउँछन् । ‘आफैँ जाँदा विचौलियामा परिँदैन, पैसा पनि बढी पाइन्छ,’ खड्काले भने ।
महोत्तरी ८० प्रतिशत भू–भाग ग्रामीण क्षेत्रले ओगटेको छ । दिनहूँ बढ्दै गएको सहरीकरणले किसानहरुको बजार थप सुनिश्चित बन्दै गएको छ । एउटा भैंसी पाल्ने किसानले मासिक १४ हजारसम्म कमाउँछन् । जसकारण खेतीपातीमा भन्दा बढी किसानको आकर्षण भैंसीपालनमा देखिने डेरी व्यवसायी विजय यादव बताउँछन्। ‘म दूध लिन किसानको घर–घरमा नै पुग्ने गरेको छु । किसानहरुको घरमा कमसेकम दुईवटा भैंसी पालेको देखिन्छ,’ उनले भने ।
बर्दिबास नगरपालिकाका पूर्वप्रमुख बिदुरकुमार कार्की पनि भैंसीपालनमा नै लागेका छन् । ‘बजारमा दूधको माग बढ्दै गएपछि भैसीपालन गर्न थालेँ,’ उनले भने, ‘उन्नत जातको भैसी पालेर दूध बेच्ने गरेको छु ।’
यहाँका किसानले एक वर्षमा २ करोड १९ लाख लिटर दूध उत्पादन गर्छन् । तर, बजारको माग धान्न सकेका छैनन् ।
जिल्ला कृषि कार्यालय महोत्तरीका अनुसार दूधमा आत्मनिर्भर बन्न एक जना किसानले दैनिक ९० लिटर दूध उत्पादन गर्नुपर्छ । तर, किसानहरुले ७० लिटर मात्र दूध उत्पादन गर्दै आएका छन् ।

बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती

आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सकियो

आलु बिक्री गर्न कोसेली घर संचालन

पानी अभावले रोपाइँ हुन सकेन

गण्डक नहरबाट पर्याप्त पानी उपलब्ध नहुँदा रोपाइँ गर्न समस्या

जुम्लामा चट्याङबाट १९७ भेडा मरे

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

प्रतिक्रिया