मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

सन्दीपलाई विदेश पठाउने तयारी, अझै आईसीसीको निर्णय कुर्दै क्यान

काठमाडौँ- युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई टिममा समावेश गर्नेबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को निर्णय कुरिरहेको छ ।

सर्वोच्च अदातलले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीपलाई विदेशमा गएर क्रिकेट खेल्न पाउने अनुमति दिएपछि क्यानले उनलाई टिममा राख्न आईसीसीसँग औपचारिक छलफल गरिरहेको छ ।

युएईमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले बिहीबार घरेलु टोली युएईसँग खेल्ने तालिका रहेको छ । त्यससँगै नेपालले थप दुई खेल खेल्ने तालिका पनि छ ।

तर आईसीसीले टिममा सन्दीपलाई समावेश गर्न सकिने वा नसकिनेबारे अहिलेसम्म प्रस्ट नपारेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले बताए ।

‘अहिले पनि हामी आईसीसीको पदाधिकारीसँग निरन्तर छलफलमा छौँ । आईसीसीले स्विकृति दिए सन्दीपलाई आजै युएई पठाइनेछ,’ पाठकले इकागजलाई बताए ।

सन्दीपको भिषा भने आइसकेको छ । 

सन्दीपमाथि एक नाबालिगलाई बलात्कार गरेको आरोप लागेको छ । उक्त मुद्दा अहिले जिल्ला अदातल काठमाडौँमा विचाराधीन छ ।