प्रदेश १ मा राप्रपाको 'यु-टर्न' : तत्काल सरकार नछाड्ने
संसदीय दलको नेता भन्छन्- परिस्थितिमा बदलाव आएको छ, हाम्रो कारणले अस्थिरता नआओस्

विराटनगर - राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल प्रदेश १ सरकारबाट नबाहिरिने भएको छ । तत्कालै सरकार छाड्दा राजनीतिक रूपमा अस्थिरता निम्तिने सम्भावना रहेको भन्दै सरकारमा रहने/नरहनेबारे राप्रपाले थप छलफल गर्ने भएको हो । राप्रपा शनिबार नेकपा (माओवादी केन्द्र) नेतृत्वको संघीय सरकारबाट फिर्ता भएको थियो ।
पार्टीले प्रदेशहरू पनि सोही निर्णय कार्यान्वयन हुने घोषित निर्णय गरेको थियो । पार्टी केन्द्रको निर्णयलगत्तै शनिबार नै प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई राजीनामा बुझाउने तयारीमा लागेका राप्रपा संसदीय दलको नेता तथा प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्ति प्रसाद सिटौलाले परिस्थितिमा केही बदलाव आएको बताए । उनले प्रदेश १ को अवस्था केही भिन्न देखिएको बताए ।
सत्ता समीकरणमा रहेको नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णयमा पुगेपछि राप्रपाले शनिबार नै सरकार छाडिसकेको छ । पुस १० को सहमतिअनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री भएपछि सातै प्रदेशमा एमालेसहित माओवादी, राप्रपा र जसपा लगायतका अन्य दलको समिकरणबाट सरकार गठन भएका थिए । राष्ट्रपति निर्वाचनले फेरिएको राजनीतिक परिदृष्यका कारण प्रदेश १ को सरकार समेत अस्थिर बन्ने सम्भावना बढाएको थियो ।
प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्की एमालेका हुन् । राप्रपाले तत्कालै सरकार छाडे उनले प्रदेश सभाबाट ३० दिनभित्रै विश्वासको मत लिनुपर्ने अवस्था बन्छ । राप्रपाको प्रदेश १ मा ६ सिट रहेको छ ।
राप्रपा संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाले शनिबार नै मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाउने तयारी गरेको बताएका थिए । तर उनले अहिले राजनीतिक अवस्था बदलिएको बताउन थालेका छन् । ‘पार्टीभित्र थप छलफलको आवश्यकता देखिएको छ, प्रदेश १ मा राप्रपाको भूमिका विशिष्ट खालेको भएकोले तत्कालै सरकार छाड्ने कि नछाड्ने भन्ने विषयमा परामर्श भइरहेको छ’ सिटौलाले भने, ‘राप्रपाले सरकार छाड्दा प्रदेश १ मा थप अस्थिरता नहोस् भन्नेमा पार्टी सचेत बनेको छ, हामी अझै छलफलमा बस्नुपर्ने भएको छ ।’
राप्रपाले माओवादी केन्द्रका मुख्यमन्त्री रहेको बागमतीमा भने सरकार छाडिसकेको छ । प्रदेश १ भने दलहरूको सिट संख्याका आधारमा राप्रपा निर्णायक बन्ने अवस्था छ । राप्रपाले सरकारबाट बाहिरिए मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिनैपर्छ । फागुन २५ को राष्ट्रपति निर्वाचनपछि माओवादी र एमालेको सत्ता समीकरण पारपाचुकेमा पुगे माओवादीले पनि प्रदेश १ को सरकारबाट बाहिरिएर एमालेलाई दबाब सिर्जना गर्नेछ ।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम ०७९ पुस २४ मा मुख्यमन्त्री नियुक्त भएका कार्की त्यसपछि झन अप्ठेरोमा पर्नेछन् । पुस २५ मा राप्रपा र जसपालाई साथमा राखेर मुख्यमन्त्रीको सपथ लिएका उनले राप्रपा सरकारबाट नबाहिरिएसम्म र माओवादीले समर्थन फिर्ता नलिएसम्म सरकारको नेतृत्व गर्नेछन् । सरकारलाई समर्थन गरेर मन्त्रिपरिषद्मै हिस्सेदारी लिएको माओवादी, राप्रपा र जसपामध्ये कसैले पनि समर्थन फिर्ता लिएको खण्डमा मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था पालना गर्नुपर्ने छ ।
कार्की नेतृत्वको प्रदेश १ को सरकारमा राप्रपाबाट संसदीय दलका नेता भक्ति प्रसाद सिटौला उद्योग, कृषि तथा सहकारीमन्त्री रहेका छन् । उनी कार्की नेतृत्वको सरकारका प्रवक्ता समेत हुन् ।
राप्रपाले सरकार छाडे विश्वासको मत लिनु पर्ने बाध्यात्मक अवस्थामा पुग्ने मुख्यमन्त्री कार्कीले माओवादीको समेत समर्थन नपाउने अवस्थामा झन जोखिममा पर्नेछन् । त्यसपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिमको सरकार गठनको प्रक्रिया अघि बढ्ने छ । जसमा प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री चयन गर्ने प्रक्रिया अघि बढाउने छन् ।
प्रदेश १ को सवैभन्दा ठूलो दलको नेताको नाताले कार्की पुनः मुख्यमन्त्री बन्नेछन् तर फेरि उनले उपधारा (४) बमोजिम विश्वासको मत लिनैपर्छ, जुन कुरा उनलाई निकै कठिन हुनेछ ।
प्रदेश १ को प्रदेश सभाको सबैभन्दा ठूलो दल एमालेसँग ४० सिट छ । त्यसपछि कांग्रेससँग २९, माओवादी केन्द्रसँग १३, राप्रपासँग ६, नेकपा एससँग ४ र जसपाको एक सिट रहेको छ ।
मुख्यमन्त्री कार्कीले माओवादी र राप्रपाको समर्थन नपाउँदा सरकार गुमाउनु पर्ने र बाँकी अवधि प्रतिपक्षी दलको नेतामा सीमित बन्नुपर्ने छ । तर अर्को सरकारलाई पनि टिकिराख्न सभामुखको सहारा लिनुपर्ने गणितीय बाध्यता बनेको हो ।

करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

हल्दिबारीका चिया बगानमा ‘लुपर’को प्रकोप

कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किएपछि...

यस वर्षको 'तरहरा कोरा' भोलि हुँदै

बिपी प्रतिष्ठानमा बिमा सेवाले निरन्तर पाउने : मुख्यमन्त्री कार्की

एक वर्षमा ५३४ फरार प्रतिवादी पक्राउ
सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

प्रतिक्रिया