पोखरा-मुग्लिन सडकमा धुलोको सास्ती, यात्रु भन्छन् : यो बाटो हिँड्दा फेर्ने कपडा नै बोकेर जानुपर्छ
गण्डकीका सांसदको चासो

पोखरा- पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन–पोखरा सडकखण्ड विस्तारको काम चलिरहेको छ । यहाँ आँबुखैरेनीदेखि पोखरासम्म २ खण्ड बनाएर काम भइरहेको छ । पहिलो खण्ड आँबुखैरेनीदेखि जामुनेसम्म छ भने दोस्रो जामुनेदेखि पोखरासम्म हो । तर, यी दुवै स्थानमा काम ढिला भएको छ । जसले गर्दा यात्रुहरूले धुलो र जामको सास्ती भोग्न बाध्य छन् ।
अहिले यो सडकखण्डमा यात्रा गर्ने साना तथा ठूला सवारीसाधनका यात्रुले सास्ती खेप्नुपरेको छ । मंगलबार मुग्लिन हुँदै पोखरा आएका मनबहादुर गुरुङले धुलोका कारण यात्रा गर्न साह्रै गाह्रो भएको बताए । ‘घाम लागेका समयमा धुलाम्मे भएर साह्रै गाह्रो । झ्याल नलगाउ धुलो हुने लगाउँदा गर्मी उस्तै,’ उनले भने, ‘यो बाटो हिँड्दा फेर्ने कपडा नै बोकेर जानुपर्ने अवस्था छ ।’
यहाँको पहिलो खण्ड आँबुखैरेनीदेखि जामुनेसम्म १५.५ प्रतिशत र दोस्रो जामुनेदेखि पोखरासम्म खण्डमा ४.१ प्रतिशत गरी समग्रमा १० प्रतिशत भौतिक प्रगति भएको देखिन्छ । पहिलो खण्डको ठेक्का सम्झौता विसं २०७८ वैशाख २ गते भएको थियो । यो खण्डको कूल ४१ दशमलव ४५ किमीमध्ये एक दशमलव ५२ किमी सहरी क्षेत्र र गैर सहरी क्षेत्रमा ३९ दशमलव ९३ किमी छ ।
दोस्रो खण्डको २०७८ जेठ ३ गते सम्झौता भएको थियो । जम्मा ३८ दशमलव ८८ किमीमध्ये १८ दशमलव ५९ किमी सहरी क्षेत्र र २० दशमलव २९ किमी गैर सहरी क्षेत्र छ ।
यहाँ भएको ढिला सुस्ती र यात्रुको समस्या गण्डकी प्रदेश सभासम्म पुगेको छ । गण्डकी प्रदेश सभामा बुधबार शून्य समयमा बोल्ने सांसदले प्रदेशका विभिन्न पूर्वाधार निर्माण र ठेकेदारका ढिलासुस्तीबारे आवाज उठाएका थिए । तनहुँका अशोक श्रेष्ठले पोखरा मुग्लिन सडकखण्डको सास्ती र निर्माणको सुस्तताबारे संसद्को ध्यानाकर्षण गराए ।
मुग्लिन पोखरा चार लेन बनाउने आयोजनाको ठेक्का सम्झौताअनुसार काम गर्ने म्याद १४ महिनामात्रै बाँकी छ । पहिलो खण्डको काम आगामी २०८१ वैशाख र अर्को खण्ड २०८१ भदौसम्म सक्ने गरी सम्झौता भएको थियो । तर, प्रगति निकै सुस्त भएको भन्दै सांसद श्रेष्ठले सरकारको ध्यान नपुगेको बताए । ‘काम निकै सुस्त भएको छ । यो अवस्था हेर्दा समयमा काम सकिने छाँटकाँट छैन,’ उनले भने, ‘सरकारले तुरुन्त अनुगमन गरोस् । नागरिकले सास्ती पाएका छन् । छिटो काम सक्ने वातावरण बनाओस् ।’

जैमिनीमा बढ्दो बसाइँसराइ : दुई वर्षमा १७०९ जनाले गाउँ छाडे

घाँस काट्ने क्रममा लडेर दुई जनाको मृत्यु

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

माझफाँट–लेकफाँट सडक कालोपत्र

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

प्रतिक्रिया