शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

झन् झन् तन्नम अर्थतन्त्र

चालू आर्थिक वर्षको बजेट कति हावादारी थियो भन्ने कुरा गत माघ २९ गते सरकारले मध्यावधि समीक्षा गरी घटाइएको यसको आकारले पुष्टि गर्‍यो । दुई खर्ब रुपैयाँ बजेट घटाउँदा पनि राजस्वको लक्ष्य भेट्न मुश्किल भएको भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । प्रथमतः उठेको राजस्वले नेता, कर्मचारीका तलब भत्ता खुवाउन पुग्दैन । दोस्रो, तलब भत्ता खुवाउनसमेत आन्तरिक ऋण लिनुपर्ने अवस्था रह्यो । चुनाव जित्न, लोकप्रिय हुन र आफू ठूलो भएको देखाउन हरेक अर्थमन्त्रीले बजेटको आकार बढाउने गर्छन् । राजस्वको दर बढाउँछन्, नागरिकको ढाड सेकिने गरी । राजस्वको दायरा भने खुम्चिँदै गइरहेको छ, दर भने बढ्दै जान्छ । चाहिनेभन्दा नचाहिने क्षेत्रमा बढी सार्वजनिक लगानी हुने गर्छ । अझ प्रदेश र स्थानीय तहले भ्यू टावर आतंक नै मच्चाए । यसले गर्दा नागरिकले तिरेको तिरोको सदुपयोग हुन सकेन र मुलुकको अर्थतन्त्र जहिले पनि तन्नमका तन्नम रह्यो ।

अर्थतन्त्र साँघुरिएको बेला, अझ बाह्य चाप परेको बेला यथार्थपरक बजेट अपेक्षित हुन्छ । तर, हामीकहाँ त्यसको ठीक विपरीत हुँदै आएको छ । अर्थमन्त्रीलाई मुलुकको अर्थतन्त्र भाँडमा जाओस् मतलब हुँदैन । व्यापारीलाई मध्यरात अर्थ मन्त्रालयमा राखेर बनाइएको बजेटले राजस्व बढ्नेभन्दा पनि व्यापारी मोटाउने काम भए । जसको असर चालू आर्थिक वर्षको माघ मसान्त सकिँदा निस्केका तथ्यांकले झस्काएको छ ।

आयात बढ्दा विदेशी मुद्रा सकिने अनि मुलुक पाकिस्तान र श्रीलंकाको पथमा जाने । आयात घट्दा भन्सार महसुल नउठ्ने, अनि सरकारका कर्मचारीलाई तलब भत्ता खुवाउन हम्मे पर्ने । ३०-३० वर्षसम्म यिनीहरूले यही तवरले अर्थतन्त्र चलाउँदै आए । तर, कहिले उभो लागेन । सरकारका कलकारखाना कथित निजीकरण, उदारीकरणका नाममा बेचबिखन गरी कमीसन खाए । उद्योगलाई कौडीको भाउमा बेचे । जग्गा जति व्यापारीले हडपे । त्यसको असर अर्थतन्त्रमा पनि पर्‍यो । रोजगारी घट्यो, उत्पादन घट्यो अनि राजस्व पनि घट्यो ।

वैदेशिक मुद्रा सञ्चिति घटेकै कारणले गत पुससम्म केही वस्तु आयातमा प्रतिबन्ध लगाइयो । प्रतिबन्ध खुले पनि आयात बढेन । यसको असर गत वर्षको तुलनामा राजस्व संकलनमा ३६ अर्ब रुपैयाँले कमी आयो । चालू आर्थिक वर्षको बाँकी अवधिमा पनि राजस्व संकलनको उद्देश्य पूरा नहुने प्रष्ट छ । यिनलाई उठेको राजस्वबाट तलब भत्ता खुवाउनसमेत पुग्दैन भने विकास निर्माण गर्न कुन आर्थिक स्रोत जुटाउने भन्ने सबाल झन् प्रबल हुँदै गएको छ ।

धान, चामल, कनिका, पीठो, कोदो आयात हुने । नेपाली किसानले उब्जाएका अन्न र फलाएका तरकारी फाल्नुपर्ने अवस्था छ । आयात प्रतिस्थापन गरी कृषिमा आत्मनिर्भर हुने ठाउँ प्रशस्त छ । तर, सरकारले रासायनिक मलधरि उपलब्ध गराउन सक्दैन । अनि चलेका उद्योगहरूमध्ये अधिकांशले कच्चा पदार्थ आयात गर्छन् । स्वदेशमा उपलब्ध हुने कच्चा पदार्थ उपयोग हुने उद्योगहरू नगण्य छन् । निर्वाहमुखीबाट व्यावसायिक कृषि प्रणालीमा आमूल परिवर्तन नगरेसम्म यस्ता आयात बढ्दै जानेछन् । अनि मुलुकको अर्थतन्त्र झन् झन् खराब हुँदै जानेछ । १७ अर्ब ७६ करोड रुपैयाँको कच्चा पाम आयल आयात हुन्छ अनि निर्यात भने १२ अर्ब रुपैयाँको हुन्छ । यसले आयातित कच्चा पदार्थ उपयोग हुने अर्थतन्त्रले अर्थतन्त्रमा मूल्य अभिवृद्धि गर्दैन भन्ने देखाएको छ । तसर्थ समग्र अर्थतन्त्र ठीक पार्न सर्वप्रथम राजनीतिक नियत सफा हुन जरुरी छ । हरेक क्षेत्रमा सुधारको आवश्यकता छ ।