भारतले खोप निर्यात बन्द गरेपछि अफ्रिकी मुलुक समस्यामा

काठमाडौँ: कोभिड–१९ ले विश्व नै आक्रान्त बनेका बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभ्याक्स कार्यक्रम अघि सार्यो । जसको लक्ष्य गरिब मुलुकलाई निशुल्क खोप उपलब्ध गराउने थियो। धेरै जसो अफ्रिकी मुलुकको खोप कार्यक्रम पनि कोभ्याक्समाथि निर्भर छ ।
तर पछिल्लो समय अफ्रिकी मुलुक समस्यामा परेका छन् । कारण? कोभ्याक्सले ती अफ्रिकी मुलुकलाई खोप उपलब्ध गरउन नसक्ने स्थिति पैदा भएको छ । किनभने, कोभ्याक्सलाई खोप उपलब्ध गराउने भारतको सेरुम इन्स्टिच्युटले हाल निर्यात बन्द गरेको छ । भारतमै कोभिड–१९ संक्रमणमा पर्नेको संख्यामा व्यापक वृध्दि भएपछि नरेन्द्र मोदी सरकारले खोप निर्यातमा प्रतिबन्ध लगाएको छ । जसका कारण सेरुममा उत्पादित खोप भारतमै प्रयोग भइरहेको छ ।
सेरुमले उत्पादन गरी कोभ्याक्समार्फत निर्यात गरिरहेको अस्ट्राजेनेका खोप अफ्रिकामा फैलिदै गएको संक्रमणविरुद्ध बलियो हतियार साबित भएको थियो । अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का अहमद ओगवेल भारतबाट खोप आउन छाडेपछि अफ्रिका अफठ्यारोमा परिरहेको बताउँछन् । ‘धेरैजसो अफ्रिकी मुलुकमा खोप कार्यक्रम सुरु भएकै कोभ्याक्सको सहायतामा हो । करिब २० मुलुकले कोभ्याक्सको सहयोगमा पहिलो डोजको खोप वितरण गरेका थिए । अब दोस्रो डोजका लागि ढोका बन्द भएको छ,’ ओगवेल भन्छन् ।
उसै पनि सेरुमबाट उत्पादित खोपको अधिकांश हिस्सा विकसित मुलुकतर्फ गइरहेको थियो । थोरै मात्रामा भए पनि कोभ्याक्समार्फत आइरहेको खोप नआउने भएपछि अब खोप कार्यक्रमले कठिन बाटो तय गर्नुपर्ने देखिएको छ । ‘भारतमा खोपको माग ह्वात्तै बढ्नु भनेको, विश्वकै लागि खराब खबर हो,’ कयाम्ब्रिज विश्विद्यालयमा क्लिनिकल माइक्रोबाइओलोजी पढाउने रवी गुप्ता भन्छन् ।
कोभ्याक्सलाई जुनको अन्त्य सम्ममा करिब २ करोड डोज खोप आवश्यक रहेको बताइएको छ । सेरुमले खोप निर्यात बन्द गरेपछि कोभ्याक्सले केही सम्पन्न मुलुकहरुसँग गुहार मागेको छ । त्यसो त कोभ्याक्सले मोडेर्नाले विकास गरेको खोप खरिद गर्ने सम्झौँता गरेको छ । सोमबार मात्रै कोभ्याक्स र मोडेर्नाबीच ५० करोड डोज खोपका लागि सम्झौँता भएको छ । यद्यपि मोडेर्नाले सन् २०२१ को अन्त्यबाट मात्रै कोभ्याक्सलाई खोप उपलब्ध गराउन सुरु गर्नेछ ।
अफ्रिकाको अभाव
कोभ्याक्सले अफ्रिकाका लागि अप्रिलसम्ममा करिब ११ करोड डोज खोप प्राप्त गरिसक्नुपर्ने थियो । तर हालसम्म कोभ्याक्स अन्तर्गत २ करोड ४० लाख डोज मात्रै प्राप्त गरेको छ । कोभ्याक्सकै भरमा पहिलो डोज वितरण गरेका अफ्रिकी मुलुक अहिले तनावमा छन् । बजारमा अस्ट्रजेनेका बाहेक अन्य खोपको उत्पादन नभइरहेको होइन । तर अधिकांश अफ्रिकी मुलुक ती खोपको पहुँचभन्दा बाहिर छन् ।
घानामा रहेकी सरुवा रोग विशेषज्ञ बेर्था आयी पहिलो डोजले ५० प्रतिशत मात्रै इम्युनिटी प्रदान गर्ने बताउँछिन् । कोभिड–१९ महामारीविरुद्धको अफ्रिकी लडाईमा पहिलो डोज खोप पर्याप्त नभएको आयीको भनाइ छ । ‘अफ्रिकी मुलुकहले कोभ्याक्सबाट खोप आउन बन्द भए, आफैँ अर्को स्रोतको खोजी गर्नुको विकल्प छैन । त्यसमा जोनसन एण्ड जोनसनको खोप एउटा बलियो विकल्प हुनसक्छ,’ आयी भन्छिन् ।
ओगवेल आफ्नो संस्था र भारत सरकारबीच कुराकानी भइरहेको बताउँछन् । वाचा गरेको भन्दा कम भए पनि खोप उपलब्ध गराउन भारत राजी हुनसक्ने विश्वास ओगवेलले लिएका छन् । उता अफ्रिकी युनियनले जोनसन एण्ड जोनसनलगायतका खोप उत्पादकहरुसँग कुरा गरिरहेको बताएको छ । जोनसन एण्ड जोनसन आफैँले पनि अफ्रिकालाई ४० करोड डोज सम्म खोप उपलब्ध गराउने वाचा गरेको छ । तर जोनसन एण्ड जोनसनले जुलाई भन्दा अगाडि अफ्रिकातर्फ खोप निर्यात गर्ने सम्भावना देखिदैन ।
हालसम्म विश्वभर एक अर्ब भन्दा धेरै डोज खोप लगाइसकिएको छ । अत्यन्तै गरिब मानिने २९ मुलुकले कुल खोपको ०.२ प्रतिशत प्राप्त गरेका छन् । जब की ती २९ मुलुकमा विश्वको ९ प्रतिशत जनसंख्याको बसोबास रहेको छ । (डीडब्लुबाट)

भारतमा हवाइ उडानमा रोक, शनिबारसम्म २९ विमानस्थल बन्द

इजरायली सेनाले विद्यार्थी निकालेर बन्द गरिदियो प्यालेस्टाइनका तीन विद्यालय

'गाजामा सहायता रोकिनु अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीत'

उत्तर कोरियाले पूर्वी जलक्षेत्रमा केही क्षेप्यास्त्र प्रक्षेपण गर्यो : दक्षिण कोरिया

एउटा यस्तो देश : जहाँ मान्छेभन्दा बढी छन् भेडा

चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प

इरानलाई हमासको अवस्थामा पुर्याउने इजरायलको चेतावनी

प्रतिक्रिया