सूर्यविनायक-धुलिखेल सडक चार लेनको बन्दै

काठमाडौँ- सूर्यविनायक-धुलिखेल सडक चार लेनमा विस्तार हुने भएको छ ।
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक ३ वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको हो । सडक निर्माण भएको २५ वर्षपछि काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको पहिलो चरण र भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको साँगासम्मको सडकखण्ड दोस्रो चरणमा सक्ने गरी छुट्टाछुट्टै दुई चरणमा सम्झौता भइसकेको छ ।
कूल १५.५ किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल ८.४ किलोमिटर सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँ सक्ने गरी पाएको छ । उक्त खण्डको २०७९ मंसिर २७ गते ३ वर्षभित्र सक्ने ठेक्का सम्झौता भएको हो । दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक-साँगा सडकखण्ड ७.५ किलोमिटर रहेको छ । उक्त खण्डको ठेक्का आशिषकुमार श्रेष्ठ बन्धन भगवती जेभीसँग ३ अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भइसकेको विभागले जनाएको छ ।
सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजना कार्यालयले सडकको बीचबाट दायाँबायाँ २५/२५ मिटरको मापदण्ड अनुसार राजमार्ग अन्तर्गत पर्ने चार नगरलाई पत्राचार गरी लगत सङ्कलन कार्यमा सहयोग गर्न अपिलसमेत गरेको छ । सूर्यविनायक-धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गर्ने योजना अनुरूप मापदण्डभित्रका भवन तथा संरचना हटाउन लगत सङ्कलन कार्य थालिएको छ ।
विसं २०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५/२५ गज अर्थात् २२.८६ मिटर कायम गरिएको थियो । सरकारले २०३१ सालमा सडक ऐन परिवर्तन गरी लोकमार्ग फराकिलो बनाउन चाहेमा क्षतिपूर्ति दिएर मात्रै अधिग्रहण गर्ने निर्णय गरेको थियो । अब उक्त सडकखण्डमध्ये काभ्रेपलाञ्चोकको बनेपा नगरको साँगादेखि बनेपा बजार नजिकको चण्डेश्वरी खोलासम्म ४.६ किलोमिटर सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ २५ गज अर्थात २२ दशमलव ८६ मिटर कायम हुने भएको छ ।
पुल निर्माणका लागि भने छुटै ठेक्का आह्वान गरिने आयोजनाले जनाएको छ । यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) मा केही परिवर्तन हुँदा पुलहरू थप निर्माण गर्न आवश्यक पर्ने भएकाले १ अर्ब लागत लाग्ने आयोजनाको अनुमान छ ।
अध्ययन प्रतिवेदन अनुसार यस आयोजनामा २०/२० मिटरका तीन पुल, जगाति र महादेवखोला पेट्रोल पम्प नजिक निर्माण गरिने आयोजनाले जनाएको छ । प्रतिमिटर १५ लाख लागत अनुमान गरिएको छ । यसको अनुमानित लागत ९० करोड रुपैयाँ छ ।
संघीय राजधानीबाट बागमती प्रदेश अन्तर्गत मध्यपहाडी राजमार्गका बिपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग अरनीको राजमार्ग जोडिएको छ ।

लहानको मुख्य बजार क्षेत्रमा तत्काल सडक निर्माण गर्न माग

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

प्रतिक्रिया