आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

बाँकेमा थप चार सङ्क्रमितको मृत्यु

बाँके :  शिक्षण अस्पताल कोहलपुरमा उपचाररत थप चार काेभिड सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका-१० निवासी ७० वर्षीय पुरुष, बैजनाथ गाउँपालिका-५ निवासी ५२ वर्षीया महिला, धनगढी उपमहानगरपालिका-१८ निवासी ५५ वर्षीय पुरुष र बर्दगोरिया गाउँपालिका-६ कैलाली निवासी ८० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । 

उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका-१० निवासी ७० वर्षीय पुरुषको गए राति ११ः४० र बर्दगोरिया गाउँपालिका-६ कैलाली निवासी ८० वर्षीय पुरुषको ११ः५० बजे १० मिनेटको अन्तरमा मृत्यु भएको हो । 

यसैगरी धनगढी उपमहानगरपालिका-१८ निवासी ५५ वर्षीय पुरुषको आज बिहान ४ः३० बजे र बैजनाथ गाउँपालिका-५ निवासी ५२ वर्षीया महिलाको बिहान ६ः३० बजे मृत्यु भएको हो । योसँगै भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बाँकेमा १४१ पुगेको । बाहिरी जिल्लाबाट उपचारका क्रममा आएर यहाँ मृत्यु हुनेको सङ्ख्या १२५ पुगेको छ । रासस