आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

निजामती सेवाका धरोहरहरूले दिएको सन्देश

प्रशासनविद् एवम् २८ औँ अमेरिकी राष्ट्रपति वुड्रो विल्सनले भनेका थिए, ‘त्यस्तो व्यक्ति मात्र निजामती कर्मचारी बन्‍न सक्छ, जो सार्वजनिक जिम्मेवारी वहन गर्न सापेक्षिक रूपमा उम्दा छ ।’ जो कुनै व्यक्ति जुन कुनै जिम्मेवारी वहन गर्न योग्य हुँदैन । रुचि, योग्यता, अनुभव र त्यसभन्दा पनि महत्वपूर्ण कामप्रतिको आन्तरिक लगावका कारण नै पेसागत विशिष्टता प्राप्त हुने हो । निजामती सेवा यसबाट अपवाद रहँदैन ।

राज्य इच्छा निर्माणमा समेत महत्वपूर्ण स्थान राख्‍ने राज्यको संस्थागत संरचना, राज्य र सर्वधारणको सम्बन्ध सूत्र, राज्यका नीति एवम् मूल्यको क्रियाशील संयन्त्र भएकाले राज्यको प्रभावकारिता निजामती सेवाको व्यावसायिक क्षमतामा भर पर्छ । आत्मअनुशासन र पेसागत सदचारमा भर पर्छ । कामप्रतिको स्वयं प्रेरणा र क्रियाशीलतमा भर पर्दछ । त्यसैले भन्‍ने गरिन्छ कुनै पनि मुलुकको शासन व्यवस्था प्रशासनले अनुमति दिए भन्दा राम्रो हुन सक्दैन, कुनै पनि मुलकको प्रगति त्यहाँको प्रशासनले अनुमति दिएभन्दा बढी हुन सक्दैन ।

योग्यताले छानिएका, अनुभवले खारिएका र प्रणालीले पत्याएका व्यक्तिहरू नै राष्ट्रसेवाका लागि निजामती सेवामा रहन्छन् । निजामती कर्मचारीमा राष्ट्रिय जिम्मेवारी ऐतिहासिक घटनाक्रमको परिणाम हो । सार्वजनिक प्रशासनलाई छुटै विषयविधा र वृत्ति अनुशासनका रूपमा लिन थालिएको दुई शताब्दी पनि भएको छैन । यसबीच राज्य प्रणालीबाट माग भएको भूमिका र निजामती सेवाको आफ्नै आर्जित क्षमताका कारण राष्ट्र निर्माण गर्ने राजनैतिक कार्यकारीको निर्देशक सिद्धान्त कार्यान्वयन गर्ने विवेकशील संयन्त्रका रूपमा यसको महत्व बढ्दो छ ।

राज्यको उदेश्‍य संस्थागत गर्ने, जनअपेक्षा कार्यान्वयन गर्ने र प्रणाली परिस्कृत गर्ने निजामति प्रशासनको निर्विकल्प साधन बन्यो । यसमा उसले उच्चताबोध गर्नु हुँदैन, न नामरहित प्रणाली बन्‍नु परेकोमा आत्मश्लाघा नै राख्नुहुन्छ । साथै के पनि भुल्नुहुन्‍न भने कामबाहेक निजामती कर्मचारीको न नाम छ, न पहिचान । कसैको माया वा आलोचना कामप्रतिको प्रतिक्रिया हो । त्यसैले ऊ कर्मचारी हो, कर्म उसको आचरण हो ।

नेपालमा निजामती सेवाको इतिहास झनै छोटो छ । थर घर, तालुकी, पजनी हुँदै योग्यता प्रणालीको चरणमा प्रवेश गरेपछि निजामती सेवाको स्वरूप विकास भएको मान्दा जम्माजम्मी छ दशकको इतिहास छ । जनरल चन्द शमशेर थापा, कुलशेखर शर्मा, दामोदर गौतम जस्ता निडर, निष्ठावान् र कुशल नेतृत्वले निजामती सेवा विकास यहासम्म आइपुगेको हो ।

कृष्णप्रसाद घिमिरे, थीरबहादुर रायमाझी, भुवनेश्वर खत्री, देवेन्द्रराज पाण्डे, वीरबहादुर शाही जस्ता अग्रजले प्रशासकीय परिपाटीमा थुप्रै उदाहरणीय इट्टा थपेर निजामती सेवा यस रूपमा आइपुगेको छ । यदुनाथ खनाल, नरकान्त अधिकारी, गोरक्षबहादुर न्हुछे प्रधान, भुवनमान सिंहलगायतले देखाएको उच्च इमानदारी नेपालको निजामती सेवाको प्रेरणास्रोत हो ।

परिवर्तनको संक्रमणमा थिलथिलएको र अस्तित्वको संकटका समय उमेश मैनाली, विमल कोइराला, रामेश्वर खनालको विज्ञता, नीति अडान र उदाहरणीयताले पनि सेवाको साख बचाउन कसरी बचाउनुपर्छ भन्‍ने शिक्षा दिएको छ । उहाहरूको निष्ठा, कर्म र पेसागत सदाचारिताले निजामती सेवाको महत्वबोध हुनसकेको हो, सेवाले संस्थागत स्वरूप लिएको हो ।

यसबीच निजामती सेवाले थुप्रै आरोह-अवरोह पार गरेको छ, घुम्टी र जंघारहरू तरेको छ । परिणामतः युग र परिवेशले मागेको जिम्मेवारी लिने सामर्थ्य र साहस भित्र्याउँदै आएको छ । राज्य व्यवस्थाको परिवर्तन, सामाजिक मूल्यवृत्तिको चाहना, शासन-प्रशासनमा आएका अवधारणा, विश्व परिवेश एवम् नागरिक भावनाको विस्तृतीकरणसंग अनुकूलित हुँदै निजामती सेवाले जीवन्त गतिशीलता आफूभित्र भित्र्याएको छ । 

प्रोफेसर जेराल्ड काइडेनले भने झै अहिले इतिहासमा कहिल्यै महसुस नगरिएको उच्च गुणस्तर, नेतृत्व क्षमता र सदाचारसहितको प्रभावकारी सरकारको माग भइरहेको छ । आन्तरिक माग मात्र होइन, बाह्य प्रणालीको दवाव पनि छ । सेवाभित्रको सनातनी सोच, शैली, संस्कार र सामर्थ्य यी माग तथा दवाव पूरा गर्न निकै अपर्याप्त छन् ।

हिजो निजामती प्रशासन इमान्दार मात्र भएपुग्थ्यो, अव इमानदारी, उपलब्धि र प्रवत्र्तन एकसाथ चाहिएको छ । महशूस गर्नसक्ने उपलव्धिका लागि सेवाग्राही अधीर छन् । परिवर्तनका स्वाद लिन अभ्यस्त छन् । हिजो ‘प्रशासन’ मात्र भएपुग्थ्यो, अव संयोजन, उत्पादन, सहउत्पादन, न्याय र परिवर्तनसँग खेल्न सक्ने सीप, स्वाभाव र क्रियाशीलता आवश्यक भएको छ । हिजो विधि बुझे पुग्थ्यो, अव प्रविधिसँग भिज्‍न नसक्ने प्रशासन काम लाग्दैन ।

हिजो राजनैतिक प्रणालीको विश्वास जितेपुग्थ्यो, अव सामाजिक सङ्केत तत्काल टिप्नसक्ने बहुसीपयुक्त निजामती सेवा चाहिएको छ । ‘अथोरिटी पावर’लाई ‘एक्सपर्ट पावर’ले विस्थापन गर्नुपरेको छ । विश्वासले जित्नु छ, सेवा र समर्पणले जित्‍नुछ । राजनीतिक प्रणालीले संकेत गरेभन्दा एककदम अघि बढेर कामप्रति आक्रामक बन्‍ने तत्परता भित्र्याउनु छ । राष्ट्रपति केनेडी वैज्ञानिकहरूलाई भनेथे रे, ‘के गर्नुपर्छ म जान्दिनँ, ‘मुन रेस’ अमेरिकाले जित्‍नुपर्छ, चन्द्रमामा पहिलो मानव पाइला अमेरिकीले टेकेको हुनुपर्छ’ । हाम्रो मुन रेस हाम्रै समृद्धिको यात्रा हो र यो युगीन अपेक्षा पूरा गर्न सामर्थ्य, साहस र प्रत्युत्पन्‍नमति चाहिएको छ । राज्य प्रणालीको आत्मा भनेकै निजामती प्रशासनको सामर्थ्य, साहस र निरन्तरको समपर्ण हो ।

निजामती कर्मचारीको न नाम छ, न पहिचान । कसैको माया वा आलोचना कामप्रतिको प्रतिक्रिया हो । त्यसैले ऊ कर्मचारी हो, कर्म उसको आचरण हो । 

नेपालको निजामती सेवाका एक आदर्श पात्र पूर्व मुख्यसचिव दामोदर गौतमले प्रशासनिक नवप्रपत्र्तनका सम्बन्धमा सचिव गाष्ठिमा भने थिए- ‘प्रशासनिक सास्तीबाट सेवग्राहीलाई उन्मुक्ति दिनु प्रशासनिक परिवर्तन हो ।’ नागरिक सेवा वितरणमा रहेका झञ्झट र ढिलासुस्तीबाट प्रशासनका सेवाग्राही, पनि सन्तुष्ट छैनन्, निर्देशक मगजका रूपमा रहेको राजनैतिक कार्यकारी पनि सन्तुष्ट छैन । भनिँदै छ, ‘प्रशासन माखेसाङ्लो’मा जकडिएको छ । 

सौदाबाजी संस्कारमा पनि देखिन थाल्यो । अनिस चोपराको सुझाव अनुसार वाराक ओवामाले गर्न खोजेको राज्यको पुनःआविष्कार हाम्रा सन्दर्भमा मिल्दैनन्, न जापान, युरोप र अस्ट्रेलियाका प्रयोगहरू हुबहु रूपमा अपनाउन सकिन्छ । हाम्रा सेवाग्राहीका समस्या र आकांक्षाको आयतन पनि सानो छ । सेवा प्रदाताले आफूलाई सेवाग्राहीसामू प्रस्तुत गर्दा परिवर्तनका अग्रणीका रूपमा प्रस्तुत गरे पुग्छ ।

सेवा वितरणका अग्रपङ्क्तिमा रहने व्यक्तिले असल सोच, असल बुझाइ र असल कार्य गरे पुग्छ । हाम्रा सन्दर्भमा प्रशासनिक सेवा भावना भावनाको जाहेरी हो, सेवाग्राहीलाई ईश्वर ठाने पुग्छ । मन, बचन र कर्मले सेवा गरे पुग्छ, जुन उसको दायित्व हो । यस्तै ससाना परिवर्तनले निजामती सेवाको गरिमा र विश्वासको पुनःस्थापना अहिलेको माग हो । यसैबाट निजामती सेवाको महत्व र अर्थवत्ता सिद्ध हुन्छ । जीवन्त प्रणाली हुनुको अर्थ यसो गर्नु निजामती कर्मचारीको व्यावसायिक कर्म र नैतिक धर्म दुवै हो । 

नेपाल अहिले युगान्तकारी परिवर्तनको क्रममा छ । अभाव, आवश्यकता र निराशाबीच सर्वसाधारणमा आशा र उत्साहको जगाउनु परेको छ । संविधान निर्माणपछि समृद्धि र रूपान्तरणको अभियान अहिलेको माग हो । समृद्धिको यात्रा निश्चित नभए युवा पुस्ताले आफ्नो भविष्यको सुनिश्चितता आफ्नो गाउँठाऊँमा देख्दैन ।

विगतका दशकहरूमा पटकपटक गुमेको अवसरका कारण समाजमा वितृष्णा, कुण्ठा र नकारात्मक भावना पनि विकास भएको छ । असीपछि जन्मिएको मिलेनिएल जेनेरेससन विकास र वृत्तिमा धैर्य सक्दैन, हुर्किंदै गरेको जिलेनिएल्सहरूको चित्त झन् कसरी बुझाउने ? स्थानीय स्रोत, सम्भावना उपयोगिता सिर्जनामा प्रयोग भएको नदेखेसम्म उनीहरूको धैर्य रहने देखिँदैन ।

निजामती प्रशासन समृद्धिको केन्द्रीय पात्र हो । यस पात्रले समृद्धिमा खरो उत्रिन केही आधारभूत पक्षमा नै सुधारको खाँचो देखिएको छ । कर्मचारीतन्त्र आत्मकेन्द्रित बन्दै छ । सेवकीय भावनाबाट विषयान्तर हुने पथमा छ । सुविधामा रमाउने कामममा लजाउने प्रवृत्ति पनि छ । गर्नभन्दा गरेको जस्तो देखाउने (लुकिङ गुड इज मोर द्यान डुइङ गुड) स्वभाव पनि हुर्किंदै छ । सेवास्थलमा विनयशीलता देखिएको छैन । विचार, आग्रह र राजनीतिप्रति प्रतिबद्ध र कामप्रति तटस्थ देखिँदै छ ।

कर्मचारीभित्र अतिवृत्तिवादी प्रवृत्ति पनि देखिएको छ । काम नै प्रेरणा हो (वर्क इज वर्सिप) भन्‍ने भावना हराउँदै छ । शक्ति र स्वार्थमा रमाउने रोग पनि देखिन थालेको छ । अनपेक्षित दबाब र प्रभाव पर्दा हुन्‍न भन्‍न सक्ने, भद्र अवज्ञा गर्नसक्ने नैतिक शक्ति पनि गुमेको छ । बारम्बारको आलोचना र अतिक्रमणबाट निराश पनि छ । आस्थाको विभाजनले समूह भावना जस्तो निजामती सेवाको भुल्नै नसकिने मूल्यमा ह्रास आएको छ ।

सीमित अवसरहरूमा अस्वस्थ प्रतिस्पर्धा पनि छ । कर्मचारीले आर्जन गरेको ज्ञान, सीप र क्षमता संस्थागत तहमा नभई वैयक्तिक प्रयोजनमा उपयोग छ । प्रणालीभित्रका सीमित इमानदार प्रतिभाहरू कि डिमोरलाइज छन्, वा पलायन हुन खोज्दैछन् । आफ्‍नै सेवाग्राहीबाट निजामती सेवाले माया र ममत्व पनि पाएको छैन । अहिले देखिएका समस्या र भएका आलोचना यिनै विषयका परिणाम हुन् । 

आउँदा दिनका लागि हिजोभन्दा उम्दा प्रणाली हस्तान्तरण गर्न नसके भावी पुस्ताले धिक्कार्ने मात्र होइन, निजामती सेवाको जीवन्ततामा पनि प्रश्न देखिने छ । यसर्थ निजामती सेवाको धरोहरहरूले दिएको शिक्षा र देखाएको बाटोमा निरन्तर अग्रसर रही आफैँलाई परिवर्तनको द्योतक बनाउन स्वयं उत्साहित हुनु अहिलेको निजामती सेवाको दायित्व हो । [email protected]