बिनालाइसेन्स स्कुटर चलाउँदा वडासदस्य जेल चलान

पोखरा- पोखरा महानगरपालिका वडा नं ३३ की वडासदस्य लीलादेवी नेपाली बिनालाइसेन्स स्कुटर चलाउँदा जेल चलान भएकी छिन् । उनले हाँकेको स्कुटर पुस १३ गते तनहुँको शुक्लगण्डकी नगरपालिका २ हलेदीमा दुर्घटनामा परेको थियो ।
तनहुँबाट आफ्नी आमालाई लिएर पोखरा ल्याउँदै गर्दा उक्त स्थानमा ट्रिपरले लिलाको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएकी उनकी आमाको उपचारका क्रममा पुस १७ गते मृत्यु भयो । लीलाकी आमाको मृत्युपछि प्रहरीले अनुसन्धान थाल्यो । अनुसन्धानबाट स्कुटर चलाएकी वडासदस्य लीलासँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको पाइएपछि माघ ८ गते उनलाई पक्राउ गरी थप प्रक्रिया अघि बढाइएको थियो ।
सवारी चालक अनुमतिपत्र नभएका कारण ट्रिपर चालकसँगै लीलाविरुद्ध पनि मुद्दा चल्यो । अन्ततः माघ १२ गते वडासदस्य लीला र दुर्घटना गराउने ट्रिपर चालक तिलक श्रेष्ठलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दियो ।
यसरी बिनालाइसेन्स सवारी चलाउँदा साउन १ गते यता गण्डकी प्रदेशभर २४ वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । ती दुर्घटनामा बिनालाइसेन्स चलाउने चालक र सवारी धनी बढी कारबाहीको भागीदार हुने गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडा कास्कीका सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
‘सबैभन्दा ठूलो गल्ती सवारी चालक अनुमतिपत्र नलिई सवारी चलाउनेको हुन्छ,’ उनले भने । त्यो भन्दा पनि ठूलो गल्ती भनेको लाइसेन्स नभएकालाई सवारी चलाउन दिनेको हुने उनले बताए ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ सवारी ज्यान अनुसार दुर्घटनामा जरिवाना र सजायको व्यवस्था रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख प्रकाश शाहले बताए । उक्त दफामा ३ किसिमका जरिवाना वा सजाय भए पनि लाइसेन्स नभएका हकमा थप कारबाही हुने उनको भनाइ छ ।
‘मनसाय प्रेरित, लापरबाहीयुक्त र भवितव्य गरी ३ किसिमको सवारी ज्यान हुन्छ । घाइतेको हकमा दफा १६२ मा अंगभंगसम्बन्धी उल्लेख छ । सोही अनुसार सजाय हुन्छ,’ उनले भने, ‘यसमा जन्मकैददेखि १ लाखसम्म जरिवाना हुन्छ । यदि लाइसेन्स नभएकाले चलाएमा जन्मकैद र तोकिएको जरिवानामा थप २ हजारसम्म तिर्नुपर्छ ।’
कतिपय अवस्थामा ठक्कर खाएको सवारीका चालक र ठक्कर दिने सवारीको चालक प्रतिवादी बनाएर अदालतले गर्ने निर्णयमा पनि सजाय र जरिवाना भर पर्ने उनको भनाइ थियो ।
गण्डकी प्रदेशमा यो आर्थिक वर्षको माघ तेस्रो सातासम्म २ सय १७ सवारी दुर्घटना परी ९३ जनाको मृत्यु भएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडा कास्कीले जनाएको छ । जसमा ६६ पुरुष, २१ महिला र ६ जना बालबालिका छन् ।

घाँस काट्ने क्रममा लडेर दुई जनाको मृत्यु

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

माझफाँट–लेकफाँट सडक कालोपत्र

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

प्रतिक्रिया