पोखराको मुख्य सडकमा पार्किङ खुला गर्दै सशुल्क पार्किङ उद्घाटन

पोखरा- माघ १६ गते बसेको पोखरा महानगरपालिका यातायात व्यवस्थापन समितिको बैठकले मुख्य बजार र सडकमा पार्किङ गर्न नपाउने निर्णय गर्यो । पृथ्वीचोक–सभागृहचोक–न्युरोड–विपिचोक–चिप्लेढुंगा–महेन्द्रपुल–नयाँबजार–पृथ्वीचोक सडक खण्डमा सवारीको चाप वृद्धि भई आवागमनमा समेत प्रत्यक्ष असर परेको भन्दै माघ २३ गतेदेखि पूर्ण रूपमा निषेध गर्ने निर्णय गरिएको थियो । सहरी सौन्दर्यीकरणमा पनि असर पर्न गएको भन्दै सवारी पार्किङलाई हटाउने महानगरले योजना बनाएको हो ।
तर, कुनै तयारी भने थिएन । सूचना जारी गरेको भोलि पल्टदेखि नै पोखरा महानगरपालिका यातायात व्यवस्थापन समिति तयारीमा जुट्यो । समितिले अण्डरग्राउण्ड खाली गर्नदेखि व्यक्तिगत र सार्वजनिक जग्गामा पार्किङका लागि स्थान खोज्न थाल्यो । समितिले करिब ४ दिनसम्म निरीक्षण गर्यो । २३ गतेदेखि पार्किङ निषेध गर्नका लागि अण्डरग्राउण्ड, सार्वजनिक र खाली रहेका व्यक्तिका जग्गामा पर्याप्त स्थान पुग्छ भन्ने निचोडमा पुगेको थियो ।
त्यही बीचमा बिनाअध्ययन र सल्लाह महानगरले सूचना जारी गरेको भन्दै विभिन्न संघसंस्थाले दबाब सिर्जना गर्न थाले । पोखरा उद्योग वाणिज्य संघ, यातायात क्षेत्रमा क्रियाशील संघ संस्था तथा सरोकारवालाहरूको व्यापक दबाब आएपछि महानगर सोच्न बाध्य भयो ।
सोही अनुसार माघ २३ को अघिल्लो दिन आइतबार एक सूचना जारी गर्दै महानगर आफ्नै निर्णयबाट पछि हट्यो । पार्किङ निषेधको निर्णयलाई सरोकारवालाहरूसँग व्यापक छलफल गरी आगामी योजना तय गरिने सूचना मार्फत महानगरले जानकारी दियो ।
तर, सोही सूचना जारी गरेको भोलि पल्ट सोमबार बिहानै महानगरले पार्किङ निषेधको सुरुवात स्वरूप सशुल्क पार्किङको उद्घाटन गरेको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले न्यूरोडस्थित पुरानो पूर्णिमा हल भत्काएर बनाइएको स्थानमा सशुल्क पार्किङ स्थलका उद्घाटन गरेका हुन् ।
पार्किङ स्थलकाे उद्घाटन गर्दै मेयर आचार्यले सुन्दर र व्यवस्थित पोखरा निर्माणमा जुटेको भन्दै स्थानीयलाई पार्किङ नियमको पालना गर्न अनुरोध गरेका छन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सडकमा सवारी साधनहरू राख्ने दिनहरू अब सकिँदै गएको बताए । पोखरा ९ न्युरोड स्थित पूर्णिमा सिनेमा हल विस्थापन गरी खाली रहेको जग्गामा सशुल्क पार्किङको शुभारम्भ गर्दै उनले सडक पार्किङका लागि अब टेन्डर नगर्ने र सडकमा पार्किङ गर्ने परम्पराको अन्त्य गरिने बताएका हुन् ।
महानगरपालिकाले पार्किङका लागि व्यवस्थापन गरेका स्थानहरूमा ५ सय बढी साना सवारीहरू र ४ सय बढी मोटरसाइकल तथा स्कुटरहरू पार्किङ गर्न सक्ने क्षमता रहेको प्रमुख आचार्यले जानकारी दिए । विवरण अनुसार पोखराको मुख्य बजार क्षेत्र पृथ्वी चोक–सभागृह चोक–न्युरोड–विपीचोक–महेन्द्र पुल–नयाँ बजार हुँदै पृथ्वी चोकसम्मको सडकमा २५० गाडी र ३५० मोटरसाइकलहरू पार्किङ गरेको पाइएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिका नेकपा एमाले दलकी नेता एवं वडा नं.१७ की वडा अध्यक्ष राधिकाकुमारी शाही योगीले सडकमा हुने पार्किङ व्यवस्थापन गर्ने महानगरको अभियानमा साथ दिन सम्बन्धित सबै सरोकारवालाहरूलाई आग्रह गरिन् । पोखरा महानगरपालिका वडा नं ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले सुन्दर पोखरा निर्माणको अभियान पोखरा ९ बाटै शुभारम्भ गरिएको बताए ।
महानगरले खाली रहेका सार्वजनिक तथा व्यक्तिका जग्गा र अण्डर ग्राउण्डमा पार्किङ गर्ने बताएको हो । ती स्थानहरूमा सशुल्क पार्किङ गर्ने र त्यसका लागि महानगर आफैँले शुल्क निर्धारण गरेको छ । जस अनुसार २ पांग्रे सवारीका लागि प्रतिघण्टा पार्किङ शुल्क १० रुपैयाँ तोकेको हो । त्यस्तै, चार पांग्रेको हलुका सवारीको प्रतिघण्टा ५० र मझौलाको ७० रुपैयाँ तोकेको थियो ।
महानगरले पार्किङ व्यवस्था गर्ने बताए पनि उसले शुल्कमात्रै निर्धारण गरेर सञ्चालनको जिम्मा निजी क्षेत्रलाई छाडिदिएको हो । तर, पोखरा महानगरले तोकेको शुल्कको भने आलोचना हुन थालेको छ । सो शुल्क अनुसार अफिसियल कामका लागि पार्किङ गर्दा दैनिक ६ घण्टाको ६० रुपैयाँ बुझाउनुपर्ने हुन्छ ।

घाँस काट्ने क्रममा लडेर दुई जनाको मृत्यु

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

माझफाँट–लेकफाँट सडक कालोपत्र

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

प्रतिक्रिया