मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्छु : उपाध्यक्ष अर्याल

काठमाडौँ- राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताएकी छन् ।

सोमबार राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताएकी हुन् । उनले राष्ट्रिय सभाको भूमिकालाई प्रभावकारी बनाउनका लागि सहजीकरण गर्ने जिकिर गरिन् ।

उपाध्यक्ष अर्यालले राष्ट्रिय सभामा महिला सांसदहरूबीचको सहकार्यलाई विकास गर्दै जाने पनि बताइन् । आफू जिम्मेवारीमा रहँदासम्म कुनै पार्टी विशेषको पक्षमा नलागी समान व्यवहार गर्ने उनकाे भनाइ छ । त्यस्तै महिलाहरूका लागि नयाँ नियम, कानुन बनाउने सन्दर्भमा पहलकदमी लिने उनले बताइन् ।

उपाध्यक्ष अर्यालले आफूले विगतमा महिलाहरूका निम्ति गरेको कामका कारण सबै पार्टीका महिलाहरूले आफूलाई सर्वसम्मत रूपमा निर्वाचित गराउन भूमिका खेलेका बताइन् । आफूलाई सर्वसम्मत बनाउने कुरामा महिला सांसदहरूले आफ्नो पार्टीलाई पनि प्रभावमा पार्न सकेकाले आफू निर्विरोध हुन सकेको उनको भनाइ छ ।

उनले आफूले कसैको पक्ष नलिई काम गर्ने कुरामा सबैको विश्वास रहेको बताइन् ।